close

मोबाइल हराएको भन्दै एक वर्षमै १० हजार बढी निवेदन

टेकपाना टेकपाना

माघ १७, २०७९ १८:१९

मोबाइल हराएको भन्दै एक वर्षमै १० हजार बढी निवेदन

काठमाडौं । एक वर्षमा नेपाल दूरसञ्चार प्राधिकरणमा मोबाइल हराएको/चोरी भएको सम्बन्धी १० हजार बढी निवेदन दर्ता भएको पाइएको छ । हालै एक प्रतिवेदन सार्वजनिक गर्दै प्राधिकरणले आर्थिक वर्ष २०७८-७९ मा यस्तो निवेदन १० हजार २१ ओटा परेको जानकारी दिएको छ ।

यसअन्तर्गत ६ हजार ११ ओटा हराएकाे फोन दूरसञ्चार सेवा प्रदायकको नेटवर्कबाट पहिचान गरी लक अर्थात् ल्याच भएका छन् । ल्याच भएका माेबाइलमध्ये दुई हजार ५३५ ओटा डिभाइस ट्रेस गरी खोजीका लागि प्राधिकरणबाट प्रहरीमा पत्राचार गरिएको प्रतिवेदनमा उल्लेख छ ।

दूरसञ्चारण प्राधिकरणले मोबाइल ट्र्याकिङ कार्यमा हराएको तथा चोरी भएका मोबाइल सेटको आईएमईआईका आधारमा मोबाइल सेवाप्रदायकसँगको समन्वयमा उक्त मोवाइल सेटमा सिमको प्रयोगपछि 'ल्याच' भएका फोन नम्बर ट्र्रयाक गरी मोबाइल सेटको खोजी कार्यलाई सहजीकरण गर्दै आएको छ ।

त्यसरी हराएको तथा चोरी भएका मोबाइल सेटमा सिम प्रयोग भएमा अपरेटरको नेटवर्कमा 'ल्याच' हुन्छ र सो सिमसँग सम्बन्धित नम्बर र र उक्त मोबाइलको आईएमईआई नम्बर सेवा प्रदायकको 'भीएलआर'मा रेकर्ड हुन्छ ।

यसरी हराएका मोबाइल सेटमध्ये सेवाप्रदायकको नेटवर्कमा 'ल्याच' भएका मोवाइल सेटमा प्रयोग भएको सिमसँग सम्बन्धित नम्बरसहितको विवरण सेवा प्रदायकबाट प्रधिकरणमा प्राप्त हुने व्यवस्था मिलाइएको प्राधिकरणले उल्लेख गरेको छ । 

अनलाइनबाट कसरी निवेदन ?

फोन हराएपछि भेटिने सम्भावना धेरै हुन्छ । तर, त्यसका लागि तपाईँसँग उक्त फोको आईएमईआई, ईएसन वा एमईआईडी नम्बर (*#०६# डायल गर्दा यी नम्बर देख्न सकिन्छ) सुरक्षितसँग राख्नुपर्ने हुन्छ । हराएको फोन रिपोर्ट गर्नुपर्‍यो भने यहाँ क्लिक गरेर गरेर दूरसञ्चार प्राधिकरणको हराएको फोन रिपोर्ट गर्ने पेजमा जानुहोस् ।

-त्यसपछि सबैभन्दा माथि लस्ट डेट (Lost Date) भएको ठाउँमा फोन हराएको मिति राख्नुहोस् ।

-त्यसपछि तल लस्ट लोकेसन (Lost Location) भएको अप्सनमा हराएको ठाउँ उल्लेख गर्नुहोस् ।

-त्यसपछि आईएईआई, ईएसएन, एमईआईडी (IMEI,ESN, MEID) नम्बर उल्लेख गर्नुपर्ने हुन्छ । (याद गर्नुहोस् विभिन्न नम्बर उल्लेख गर्दा (;) चिन्ह प्रयोग गर्नुहोस् ।)

-त्यसपछि त्यसभन्दा तल रहेको अप्सनमा हराएको फोनमा प्रयोग भएको मोबाइल नम्बर टाइप गर्नुहोस् । (यदि उक्त फोनमा सिम छैन भने त्यसको तल रहेको चेक्ड हियर, यिफ लस्ट डिभाइस ह्याज नो सिम (Checked Here, If lost phone has no sim) मा टिक लगाउनुहोस् ।)

-त्यसपछि एप्लिकेन्ट नेम (Applicant Name) भएको ठाउँमा निवेदकको नाम उल्लेख गर्नुहोस् ।

-त्यसको तल आईडी नम्बरको अप्सन रहेको हुन्छ । त्यहाँ गएर आफू (निवेदक) सँग भएको कुनै पनि परिचय पत्र जस्तै नागरिकता नम्बर वा अन्य परिचय पत्रको नम्बर उल्लेख गर्नुहोस् ।

-त्यसपछि कन्ट्याक्ट नम्बर (Contact Number) भएको ठाउँमा आफूसँग भएको सम्पर्क नम्बर राख्नुहोस् ।

-त्यसपछि अट्याचमेन्ट अफ सिटिजनशिप अर अदर आईडी कार्ड वा पासपोर्ट वा भिजा (Attachment of citizenship of Other ID card or Passport or Visa) भन्ने अप्सनमा उल्लेख गरिएका कुनै पनि एक परिचयपत्रको पीडिएफ फाइल उल्लेख गर्नुहोस् । (याद गर्नुहोस् उक्त परिचय पत्रको साइज ५०० केबीभन्दा कमको हुनुपर्छ ।)

-त्यसपछि अन्तिममा रहेको इमेल सेक्सनमा गएर आफ्नो ईमेल कन्ट्याक्ट राख्नुहोस् ।

आफूले अन्य डिभाइसमा प्रयोग गरेको वा भनौँ सक्रिय ईमेल एड्रेस प्रयोग गर्नुपर्ने हुन्छ । प्राधिकरणबाट उक्त फोनबारे कुनै पनि जानकारी उक्त ईमेल र फोन नम्बरमा पठाइने भएकाले भरसक आफूले नयाँ डिभाइसमा प्रयोग गरिरहेको ईमेल वा फोन नम्बर उपलब्ध गराउनुपर्ने हुन्छ । 

पछिल्लो अध्यावधिक: माघ १७, २०७९ १८:२९