close

के रातभर मोबाइल चार्ज गर्नु गलत हो ?

टेकपाना टेकपाना

माघ २०, २०७९ १४:३३

के रातभर मोबाइल चार्ज गर्नु गलत हो ?

काठमाडौँ । फोन, ट्याब्लेट, ल्यापटपजस्ता उपकरण हाम्रो जीवनको अभिन्न हिस्सा बनेका छन् । हामीमध्ये अधिकांशको काम त यी डिभाइस नभई सम्भव नै हुँदैन ।

दिनभर काम हुने भएकाले हामी फुर्सदको समय अर्थात् रातभर यस्ता डिभाइस चार्जमा छोड्ने गर्छौँ । रातभर फोन, ल्यापटप वा ट्याब्लेट जस्ता डिभाइस चार्जमा राख्यो भने के त्यसले ब्याट्रीमा नकारात्मक असर गर्छ ? आज हामी यसै विषयमा जानकारी दिँदैछौँ ।

परिवर्तित समय

मोबाइल फोनको प्रयोगसँगै फोन रातभर चार्ज गर्दा त्यसले ब्याट्रीलाई असर गर्छ भन्ने भ्रम फैलियो । त्यो समयमा यो सही पनि थियो । किनभने अत्याधुनिक चार्जरको विकास नभइसकेको अवस्थामा फोन लामो समयसम्म चार्ज गर्दा फोनको ब्याट्रीलाई असर परेका धेरै घटना बाहिरिए । 

तर, समयसँगै ब्याट्रीमा प्रयोग हुने तत्त्व र चार्जिङ प्रविधिको पनि विकास भएको छ, जसले गर्दा 'रातभर फोन चार्जमा राख्दा ब्याट्री' बिग्रिन्छ भन्ने भनाइलाई गलत सावित गरेको छ । तर, सबै अवस्थामा यो भनाइ ठीक हुन्छ भन्ने चाहिँ हुँदैन । 

चार्जिङले कसरी काम गर्छ ? 

हामीले फोन वा त्यस्तै अन्य डिभाइसलाई कसरी प्रयोग गरिरहेका छौँ भन्ने कुराले डिभाइस बिग्रिने वा नबिग्रिने कुरा निर्धारण गरेको हुन्छ । चार्ज गर्ने सवालमा पनि यो विषय जोडिएको छ । तर, यसो भन्दैमा रातभर चार्ज गर्दा त्यसले फोनको ब्याट्रीलाई असर गर्छ भन्ने चाहिँ होइन ।

हामीले प्रयोग गरिरहेका स्मार्टफोनलाई त्यसरी तयार पारिएको हुन्छ, जसले ब्याट्री लगायत त्यसभित्र रहेका अन्य भागलाई सुरक्षित राख्न सक्छ । त्यसमा ब्याट्रीलाई असर गर्ने केही अवस्थाहरू छन् । यदि ब्याट्री धेरै तातियो भने त्यसले ब्याट्रीको क्षमता घटाउँछ । यही तापको विषयसँग जोडिन्छ ब्याट्रीको क्षमता ह्रास हुने कुरा । 

यदि तपाईँको फोनमा चार्ज कम छ र तपाईँले फोन चार्जमा राख्नुभयो भने फोन छिटो चार्ज हुन्छ । यसलाई कसरी पनि बुझ्न सकिन्छ भने हामी भोकाएको बेला छिटो खाना छिटो खान्छौँ । तर, अघाइसकेपछि पनि खाना छ भने विस्तारै कम खान थाल्छौँ ।

यही कुरा फोनको ब्याट्रीमा पनि लागू हुन्छ । जब फोनको ब्याट्री शतप्रतिशत चार्ज हुन्छ । त्यसपछि थप चार्ज हुन बन्द हुन्छ । तर, फोनको आन्तरिक प्रणालीले काम गरिरहँदा र ब्याट्री आफैं पनि डिस्चार्ज हुने हुँदा चार्ज घटेर ९९ प्रतिशतमा आउँछ ।

यति भएपछि फोनमा अझ एक प्रतिशत चार्ज अट्छ । त्यसपछि पुनः ब्याट्री चार्ज हुन थाल्छ । फुल चार्ज भएपछि चार्ज बन्द हुन्छ । र पुनः ब्याट्रीको चार्ज प्रतिशत घट्छ । यही प्रक्रियालाई 'चार्जिङ साइकल' भनिन्छ ।  

अत्याधुनिक सुरक्षा 

ब्याट्रीलाई २० देखि ८० प्रतिशतसम्म राख्नु उपयुक्त हुन्छ भनिएको छ । एप्पल तथा अन्य एन्ड्रोइड फोन निर्माता कम्पनीले ब्याट्रीलाई यही रेन्जमा सन्तुलन राख्ने फिचर पनि सार्वजनिक गरेका छन् ।

सन् २०१९ मा सार्वजनिक भएको आईओएस १३ मा 'अप्टिमाइज ब्याट्री चार्जिङ'भन्ने फिचर छ, जसलाई इनेबल गरेको खण्डमा रातभर चार्ज गर्दा पनि ब्याट्री ८० प्रतिशतभन्दा बढी चार्ज हुँदैन ।

त्यस्तै केही एन्ड्रोइड डिभाइसमा पनि यस्तो फिचर प्रयोगमा आइरहेको छ । वनप्लसले यो फिचरलाई 'अप्टिमाइज्ड चार्जिङ' भनेको छ भने गुगल पिक्सेल फोनमा यो फिचर 'एडाप्टिभ चार्जिङ'ले परिचित छ । सामसङ ग्यालेक्सी डिभाइसमा पनि ८५ प्रतिशतभन्दा बढी चार्ज हुन नदिने फिचर  छ ।

यदि फोन रातभरि चार्ज गर्नुभयो भने यस्ता फिचर अन गरेर चार्ज गर्दा राम्रो हुन्छ । जसले गर्दा तपाईँको फोनमा आउन सक्ने सम्भावित समस्याको जोखिम पनि कम गर्छ । 

त्यसो भए यहाँ 'खराब' केलाई भनिएको हो त ?

फोनमा हुने अत्याधुनिक सुरक्षाका कारण ब्याट्रीलाई कुनै असर गर्दैन । तर, समय बढ्दै जाँदा ब्याट्रीको क्षमता घट्दै गइरहेको हुन्छ । विशेषगरी उच्च ताप, ओभर चार्जिङ, थर्ड पार्टी चार्जिङ डिभाइसको प्रयोग र ब्याट्रीको आयुका कारण ब्याट्रीको क्षमता घट्दै जान्छ ।

ब्याट्री चार्ज र डिस्चार्ज हुने प्रक्रिया लामो समयसम्म चलिरहँदा ब्याट्रीको क्षमता पनि ह्रास हुँदै गइरहेको हुन्छ । यसलाई चार्जिङ साइकल पनि भनिन्छ । त्यसैले ब्याट्रीलाई २० देखि ८० प्रतिशतसम्म चार्ज गर्न उपयुक्त मानिन्छ । 

ब्याट्री लामो समयसम्म चार्जमा राख्दा चार्जिङ साइकल बढी हुन्छ । अर्थात् चार्ज डिस्चार्ज हुने प्रक्रिया धेरै चल्छ, जसले गर्दा ब्याट्रीको क्षमतामा ह्रास आउँछ । यदि चार्जिङ साइकल कम होस् भन्ने चाहनुहुन्छ भने फोन‍ रातभर चार्जमा नछोड्नु नै उपयुक्त हुन्छ । 

ब्याट्री खराब नबनाई रातभर चार्ज गर्ने तरिका

यदि ब्याट्रीलाई रातभर चार्जमा छोड्नु छ भने तपाईँले केही तरिका अपनाएर फोन चार्जमा राख्न सक्नुहुन्छ । विशेषगरी फोन चार्ज गर्दा खुल्ला ठाउँमा केही कुराले नढाकी चार्ज गर्दा ओभर हिटिङको समस्या हुँदैन ।

त्यस्तै फोन चार्ज गर्न आधिकारिक चार्जर नै प्रयोग गर्नुहोस् । तपाईँले फोन खरिद गर्दा बक्समा जुन चार्जर पाउनु हुन्छ, त्यो नै तपाईँको फोनका लागि उपयुक्त हुने चार्जर हो ।

त्यस्तै रातभर फोन चार्ज गर्नु छ भने 'फास्ट चार्जर' प्रयोग नगर्नुहोस् । किनभने फास्ट चार्जर प्रयोग गर्दा चार्जिङ साइकल धेरै दोहोरिन्छ । भरसक फोन रातभर चार्जमा नछोड्दा नै उपयुक्त हुन्छ ।

पछिल्लो अध्यावधिक: माघ २०, २०७९ १४:३३