काठमाडौं । नेपाल टेलिकमले भोलिदेखि फाइभजी सेवाको आन्तरिक परीक्षण थाल्ने भएको छ । आफ्नो १९औँ वार्षिकोत्सव पारी कम्पनीले मोबाइल सेवाको पछिल्लो पुस्ता फाइभजीको आन्तरिक परीक्षण गर्न लागेको हो ।
यसका लागि बबरमहल र सुन्धारामा आवश्यक सिस्टम स्थापना र त्यसको परीक्षण सम्पन्न भइसकेको छ । अब कम्पनीले आन्तरिक रुपमा फाइभजी परीक्षण गर्न लागेको कम्पनीका सहप्रवक्ता रञ्जित लोहियाले बताए ।
यसअघि नै परीक्षण थाल्ने तयारी भएपनि फाइभजी सेट सीमित रुपमा उपलब्ध भएकाले केही ढिला भएको उनले जनाए ।
नेपाल दूरसञ्चार प्राधिकरणले परीक्षणका लागि २६०० मेगाहर्ज ब्याण्ड अन्तर्गत ६० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराएको छ । परीक्षणबाट पत्ता लागेका कुरालाई अघि बढाउँदै त्यसबाट व्यावसायिक प्रयोजनबाट सुरु गर्ने कम्पनीको योजना छ ।