close

गोल्डेन चेकमार्क लिनेसँग मासिक १ लाख ३० हजार असुल्ने योजना बनाउँदै ट्वीटर

टेकपाना टेकपाना

माघ २२, २०७९ १५:४

गोल्डेन चेकमार्क लिनेसँग मासिक १ लाख ३० हजार असुल्ने योजना बनाउँदै ट्वीटर

काठमाडौँ । एलन मस्कले कम्पनीको स्वामित्व लिएसँगै ट्वीटरले आम्दानीका स्रोतलाई विस्तारै गर्दै लगिरहेको छ ।    हालै मात्र ट्वीटरले आधिकारिक कम्पनीहरूलाई गोल्डेन चेकमार्क उपलब्ध गराएको थियो । सो चेकमार्क कायम राख्न अब भने कम्पनीले मासिक १००० डलर (करिब एक लाख ३० हजार रुपैयाँ) तिर्नुपर्ने भएको छ ।   

ट्वीटरले त्यस्तो गोल्डेन चेकमार्क पाउने कम्पनीहरूलाई इमेल पठाउँदै चेकमार्क कायम राख्न मासिक १००० डलर र एफिलियट मार्क राख्न मासिक ५० डलर तिर्नुपर्ने व्यवस्था लागू गर्न तयारी भइरहेको जानकारी दिएको छ । 

सामाजिक सञ्जाल विश्लेषक म्याट नभर्राले एक स्क्रिनशट पोस्ट गर्दै कम्पनीले गोल्डेन चेकमार्क उपलब्ध गराए वापत उक्त शुल्क लिने योजना बनाएको खुलासा गरेका छन् । 

यो नीति कहिले लागू हुन्छ वा १००० डलर नतिर्नेहरूको गोल्डेन चेक कहिलेबाट हट्छ भन्ने कुरा भने स्पष्ट भइसकेको छैन ।

ट्वीटरले अहिलेसम्म आधिकारिक कम्पनीहरूलाई मात्र गोल्डेन चेकमार्क उपलब्ध गराउँदै आएको छ । यससँगै कम्पनीले त्यस्ता गोल्डेन चेकमार्क पाउने ग्राहकलाई चेकमार्क पछाडि थप लिङ्क राख्न सक्ने व्यवस्था ल्याएको छ । त्यसको उदाहरणका लागि यो ट्वीटर ह्यान्डल हेर्न सक्नुहुन्छ ।

गोल्डेन चेकमार्कका लागि मासिक १००० डलर र थप ट्वीटर ह्यान्डल समावेश गर्न मासिक ५० डलर तिर्नुपर्ने हुन्छ ।

नभर्राले शेयर गरेको स्क्रिनशटमा कम्पनीले उक्त परियोजनालाई 'भेरिफाइड अर्गनाइजेसन' नाम दिएको छ । ट्वीटर ब्लु सब्स्क्रिप्सन ल्याएसँगै कम्पनीले पहिलो पटक यस्तो परियोजना ल्याउन लागेको हो ।

ट्वीटरले ब्लु टिक खरिद गर्न मिल्ने व्यवस्था ल्याएसँगै धेरै विवादको सामना गर्नुपरेको थियो । त्यसपछि परिमार्जित गर्दै कम्पनीले गत डिसेम्बरमा सो फिचर पुनः सार्वजनिक गरेको हो । 

यससँगै कम्पनीले ग्रे टिक र गोल्डेन टिक उपलब्ध गराउन थालेको थियो । सरकारी व्यक्ति वा कार्यलयले ग्रे (खैरो) टिक पाएका छन् भने कर्पोरेट कम्पनीले गोल्डेन चेकमार्क पाएका छन् । 

आफ्नो कम्पनीको ट्वीटर ह्यान्डलमा गोल्डेन चेकमार्क ल्याउन चाहने व्यक्तिले मासिक १००० डलर तिर्नुपर्ने हुन्छ ।

 

 

पछिल्लो अध्यावधिक: माघ २२, २०७९ १५:४