close

नेपाल टेलिकमको अन्तर्राष्ट्रिय रोमिङ सेवाबारे जान्नुपर्ने १६ कुरा

टेकपाना टेकपाना

माघ २३, २०७९ १७:२

नेपाल टेलिकमको अन्तर्राष्ट्रिय रोमिङ सेवाबारे जान्नुपर्ने १६ कुरा

काठमाडौँ । नेपाल टेलिकमका ग्राहकले देशभित्र रहँदा मात्र नभएर विदेशमा समेत नेपालमा रहेसरह जीएसएम मोबाइल सेवा प्रयोग गर्न सक्छन् । यसका लागि कम्पनीले 'अन्तर्राष्ट्रिय रोमिङ' सञ्चालन गर्दै आएको छ ।

टेलिकमका अनुसार रोमिङ सेवा एक्टिभेट गरेको खण्डमा विश्वका विभिन्न देशबाट भ्वाइस, एसएमएस र डेटा सेवा चलाउन सकिन्छ । आज हामी नेपाल टेलिकमकाे अन्तर्राष्ट्रिय रोमिङसम्बन्धी जान्नुपर्ने १६ कुराबारे चर्चा गर्दै छाैँ ।

१. अन्तर्राष्ट्रिय रोमिङ सेवा भनेको के हो ?

नेपालबाहेक अन्य देशमा समेत नेपाल टेलिकमकै मोबाइल नम्बर (सिम) प्रयोग गरी कल गर्न वा उठाउन, इन्टरनेट चलाउन तथा एसएमएस पठाउन र पाउने सुविधा नै अन्तर्राष्ट्रिय रोमिङ सेवा हो । 

२. रोमिङ सेवाका फाइदा के-के हुन् ?

यो सुविधा लिएपछि अरु कुनै देशको सिम लिनुपर्ने झन्झट हुँदैन । र, विदेश भ्रमण गर्दा पनि नेपाल टेलिकमकै नम्बर प्रयोग गरी दूरसञ्चार सेवालाई निरन्तर दिन सकिन्छ ।

३. टेलिकमका मोबाइल ग्राहकले रोमिङ सेवा कसरी एक्टिभेट गर्न सक्छन् ?

यो सेवा पोस्पेड तथा प्रिपेड जीएसएम मोबाइल ग्राहकका लागि उपलब्ध छ ।

४. मोबाइल ग्राहकले रोमिङ सेवा कसरी एक्टिभेट गर्न सक्छन् ?

ग्राहकले सबैभन्दा पहिले आफ्नो सिम पोस्टपेड हो वा प्रिपेड हो छुट्याउनुपर्ने हुन्छ । त्यसपछि तलकाे प्रक्रिया अपनाउनुहोस्:

पोस्टपेड सिमको हकमा

स्वदेशमै रहेका ग्राहकले नजिकैको नेपाल टेलिकमको काउन्टरमा गई रोमिङ सुविधा उपलब्ध गराउन अनुरोध गरिएको फारम भरी न्यूनतम १० हजार रुपैयाँ डिपाेजिट राखी रोमिङ सुविधा थप गर्न सम्झौता गर्नुपर्छ ।

यदि विदेशबाट रोमिङ सेवा लिन खोजिएको हो भने स्वदेशमा रहेका आफ्ना आफन्तमार्फत नेपाल टेलिकमको कार्यालयमा  १० हजार रुपैयाँ आफ्नो पोस्टपेड नम्बरमा डिपोजिट गर्न लगाउनुपर्ने हुन्छ ।

साथै आफ्ना सबै विवरण भरी पोस्टपेड रोमिङ एक्टिभेसन फर्म (Postpaid Roaming Activation form) र नेपाल सरकारबाट जारी आफ्नो पहिचान खुल्ने परिचयपत्रको कपी रोमिङ [email protected] मा मेल गर्नुपर्ने हुन्छ ।

प्रिपेड सिमको हकमा

स्वदेशमै भएका ग्राहकले यो सेवा सुरु गर्न नेपाल टेलिकमको काउन्टरमा पुग्नुपर्दैन । आफ्नो प्रिपेड मोबाइलबाट *1415*7# डायल गरेर त्यहाँ उपलब्ध रोमिङ सेवा एक्टिभेट गर्ने विकल्प छनोट गर्नुपर्छ ।

त्यसैगरी नेपाल टेलिकमको एप प्रयोग गरेर पनि यो सेवा लिन सकिन्छ । विदेश भ्रमण गर्नुअगावै नेपालमै भएको समयमा 'नेपाल टेलिकम' एप डाउनलोड गरी रजिस्टर गर्नुपर्छ ।

यदि विदेशमा रोमिङ सेवा सुरु गर्न लागेको हो भने, आफ्ना सबै विवरण भरी प्रिपेड रोमिङ एक्टिभेसन फर्म (Prepaid Roaming Activation form) र नेपाल सरकारबाट जारी आफ्नो पहिचान खुल्ने परिचयपत्रको कपी [email protected]  मेल गर्नुपर्ने हुन्छ ।

५. प्रिपेड मोबाइल रोमिङ सेवा कुन-कुन देशमा उपलब्ध छ ?

हाल यो सेवा भारत, चीन, थाइल्यान्ड, यूएई, मलेसिया, अष्ट्रेलिया, कतार, अष्ट्रिया, इटाली लगायतका देशमा उपलब्ध छ । चाँडै नै अन्य देशमा पनि यो सेवा विस्तार गर्न आवश्यक परीक्षण गरिरहेकाे कम्पनीले जनाएकाे छ ।

६. यसका लागि कति शुल्क लाग्छ र कुन-कुन देशमा रोमिङ सेवा प्रयोग गर्न सकिन्छ ?

रोमिङ सेवाको शुल्क र यो सेवा प्रयोग गर्न सकिने देशहरूको सूचीसहितको विस्तृत जानकारी थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।  

७.  रोमिङमा रहेका बेला मोबाइलमा भएको रकमको जानकारी कसरी थाहा पाउन सकिन्छ ?

जुन ठाउँमा भए पनि अरु बेलामा जस्तै सामान्य प्रक्रियाबाटै *400# डायल गरी साथै नेपाल टेलिकमको एपबाट पनि सञ्चित रकम अर्थात् ब्यालेन्सका बारेमा थाहा पाउन सकिन्छ ।

८. रोमिङमा भएका बेला मोबाइलको सञ्चित रकम सकियो भने कसरी रिचार्ज वा टप अप गर्न सकिन्छ ?

रोमिङ सेवा प्रयोग गरिरहेकै समयमा सञ्चित रकम सकिएमा विभिन्न तरिकाबाट रिचार्ज गर्न सकिन्छ ।

क. तपाईँसँग कम्पनीको रिचार्ज कार्ड भने वा नेपालबाटै रिचार्ज पिन नम्बर मगाएर नेपालमा यूएसएसडी (USSD) कोड वा नेपाल टेलिकमको एपमार्फत सजिलै रिचार्ज गर्न सकिन्छ । उदाहरणका लागि 412*PIN code# यसरी रिचार्ज गर्न सक्नुहुन्छ ।

ख. अनलाइन सेवाहरू जस्तैः ई-सेवा खल्ती तथा विभिन्न अनलाइन बैंकिङ सेवामार्फत पनि आफू रहेकै मुलुकबाट रिचार्ज गर्न सकिन्छ ।

ग. तपाईँका आफन्तले नेपालबाटै विभिन्न तरिका जस्तै; नेपाल टेलिकमको एप, एमपीओएस, बैङ्क डिपोजिट, ब्यालेन्स ट्रान्सफर (प्रिपेड हकमा मात्र तपाईंको मोबाइलमा रकम राखिदिन सक्नुहुन्छ ।)

९. रोमिङमा रहेका बेला कसरी कल गर्न सकिन्छ ?

तपाईँले भ्रमण गरिरहनु भएको मुलुकभित्र कल गर्न चाहनुभएको छ भने सोही मुलुकको फोन नम्बरमा सोझै वा अन्य मुलुकको हकमा अन्तर्राष्ट्रिय एक्सेस कोड (जस्तै ०० वा ‌+) सहित कन्ट्री कोड र नम्बर डायल गर्न सक्नुहुन्छ ।

१०. रोमिङमा भएको समयमा सन्देश अर्थात् एसएमएस (SMS) कसरी पठाउन सकिन्छ ?

रोमिङमा भएको समयमा एसएमएस पठाउनका मेसेज लेखी कन्ट्री कोडसहित मोबाइल नम्बर राख्नुपर्छ । उदाहरणका लागि भारतमा पठाउनुपर्‍यो भने +91 mobile number राख्नुपर्छ । 

११. रोमिङ सेवा लिएर विदेशमा जाँदा तपाईंको मोबाइलले सो देशको नेटवर्क आफै समाएन भने के गर्नुपर्छ ?

यदि रोमिङ सेवा लिएर विदेश जानुभएको छ भने सामान्यतः तपाईँको मोबाइलले आफैं विदेशी नेटवर्क समात्छ । यदि त्यसो भएन भने यसलाई म्यानुअल रूपमा मिलाउनुपर्छ ।

विभिन्न प्रकारका मोबाइल सेटका लागि म्यानुअल तरिका पनि फरक-फरक हुन्छ । सामान्य रूपमा मोबाइल सेटको 'सेटिङ'मा गई त्यसपछि "मोबाइल नेटवर्क"मा गएर 'नेटवर्क' रोज्नुपर्छ । त्यसपछि आफूले प्रयोग गर्ने मोबाइल अपरेटरको नेटवर्क छान्नुपर्छ ।

१२. अन्तर्राष्ट्रिय डेटा रोमिङ सेवा भनेको के हो ?

नेपाल बाहेक अन्य देशमा रोमिङ सेवा लिएर गएको समयमा नेपाल टेलिकमकै सिम प्रयोग गरी इन्टरनेट चलाउन सकिने सुविधा अन्तर्राष्ट्रिय डेटा रोमिङ सेवा हो । 

१३. डेटा रोमिङ सेवा कसरी सकिन्छ ?

आफ्नो मोबाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा एक्टिभेट गरेकै समयमा स्वतः डेटा रोमिङ सेवा पनि एक्टिभेट हुन्छ । डेटा रोमिङ प्रयोग गर्ने समयमा आफ्नो मोबाइल फोनबाट डेटा रोमिङ सेवा इनेबल गरी मात्र प्रयोग गर्न सकिन्छ ।

१४. रोमिङ हुँदा प्रयोग गर्नका लागि कुनै प्याक वा अफर पनि उपलब्ध छ कि ?

हाल भारत र चीनका लागि नेपाल टेलिकमले डेटा रोमिङ प्याक उपलब्ध गराएको छ । डेटा रोमिङ प्याकको प्रयोग गरी सेवाग्राहीले सुलभ दरमै डेटा प्रयोग गर्न सक्ने टेलिकमको भनाइ छ ।

१५. रोमिङ डेटा प्याक वा अफर लिन के गर्नुपर्छ ?

*1415*7#  डायल गरेर वा टेलिकम मोबाइल एप मार्फत डेटा रोमिङ प्याक खरिद गर्न सकिन्छ यी प्याकहरूको बारेमा विस्तृत जानकारी यहाँ क्लिक गरेर हेर्न सकिन्छ ।

 

१६. रोमिङ सेवाको बारेमा बुझ्न वा गुनासो तथा सुझावका लागि कहाँ सम्पर्क गर्न सकिन्छ ?

यसका लागि नेपालमा रहँदा १४९८ मा कल गर्न तथा रोमिङमा भएका बेला [email protected] मा ईमेल पठाउन सकिन्छ ।

यसबारे थप जान्न यहाँ क्लिक गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: माघ २३, २०७९ १७:५४