close

आज सुरक्षित इन्टरनेट दिवस: इन्टरनेटमा सुरक्षित रहन के गर्ने, के नगर्ने ?

टेकपाना टेकपाना

माघ २४, २०७९ १६:५१

आज सुरक्षित इन्टरनेट दिवस: इन्टरनेटमा सुरक्षित रहन के गर्ने, के नगर्ने ?

काठमाडौँ । इन्टरनेटका माध्यमबाट भर्चुअल रूपमा दुनियाँसँग अन्तर्क्रिया गर्न सहज भएको छ । २१औँ शताब्दीमा त इन्टरनेटबिना हामी हाम्रो दिन कल्पना गर्न नै सक्दैनौँ ।

असुरक्षित इन्टरनेट प्रयोग गर्दा डिभाइसमा भाइरस छिर्नुका साथै हाम्रा महत्त्वपूर्ण डेटा लिक हुन सक्छन् । त्यसैले हरबखत हामीले सुरक्षित इन्टरनेट प्रयोग गर्न आवश्यक छ ।

यही जनचेतना फैलाउन हरेक वर्ष फेब्रुअरी ७ का दिन 'सेफर इन्टरनेट डे' (सुरक्षित इन्टरनेट दिवस) मनाउने गरिन्छ ।

सुरक्षित इन्टरनेट दिवस: इतिहास

सन् १९९० मा पहिलो पटक कम्प्युटर वैज्ञानिक टिम बर्नर्स (Tim Berners-Lee)ले विश्वमा वर्ल्ड वाइड वेब (www) परिचित गराएका थिए । त्यसपछि विभिन्न स्वरूपमा इन्टरनेटको विकास हुँदै गयो ।

इन्टरनेटमार्फत विश्वव्यापी सञ्चारले हजारौं व्यक्तिलाई एकसाथ जोडेको छ । इन्टरनेको विकाससँगै यसबाट हुने दुरुपयोग पनि बढ्न थाल्यो । त्यसलाई मध्यनजर गर्दै सन् २००४ मा फेब्रुअरी ७ लाई युरोपेली संघले सुरक्षित इन्टरनेट दिवस घोषणा गर्‍यो ।

पछि सन् २००९ मा सुरक्षित इन्टरनेट दिवस, विभिन्न देशहरूसँग सम्बन्ध बलियो बनाउन विश्वव्यापी बनाइएको थियो । हाल युरोपेली संघको यो परियोजनामा विश्वका १०० बढी देश जोडिएका छन् ।

यसको मुख्य उद्देश्य भनेको युवा तथा बालबालिकामा इन्टरनेटबाट हुने सम्भावित जोखिम न्यूनीकरण गर्नु हो ।

सुरक्षित इन्टरनेट दिवसकाे महत्व

कयौँ प्रयोगकर्तालाई इन्टरनेट प्रयोग गरिरहँदा के कस्ता उपाय अपनाउने , इन्टरनेटमा कसरी सुरक्षित हुन सकिन्छ भन्ने जानकारी हुँदैन । सुरक्षित इन्टरनेट दिवसले यही कुरालाई प्राथमिकता दिन्छ ।

प्रयोगकर्तालाई इन्टरनेटबाट हुने जोखिमबारे जनचेतना दिन यो दिवस विश्वव्यापी रूपमा मनाउने गरिन्छ ।

याे दिवसमा के कस्ता विषयमा मानिसहरूलाई सचेत गराइन्छ ?

सुरक्षित इन्टरनेट दिवसमा विभिन्न विषयहरू समेटिन्छन् । विशेषगरी अनलाइन गोपनियता, साइबर बुल्लिङ, इन्टरनेटको लत, अनलाइन प्रतिष्ठा, डिजिटल नागरिकता जस्ता विषयमा मानिसहरूलाई सचेत बनाइन्छ ।

इन्टरनेटमा सुरक्षित हुन के गर्ने ?

हामीले सामान्य कुराहरू ख्याल नगर्दा इन्टरनेटमा हाम्रा डेटा लिक भइरहेका हुन्छन् । इन्टरनेटमा सुरक्षित रहन तलका प्रक्रिया अपनाउनुहोस्:

बलियाे पासवर्ड राख्ने

आफ्ना हरेक अनलाइन अकाउन्टका लागि युनिक तथा कडा पासवर्ड राख्नुहोस् । विशेषगरी १२ क्यारेक्टरमा विभिन्न अक्षर, संकेत भएको पासवर्ड बनाउनुहोस् ।

उदाहरणका लागि (jK@3$5&m#) यस्तो किसिमको पासवर्ड राख्नुहोस् ।

ईमेल तथा मेसेन्जरमा आएका लिङ्कलाई नबुझी क्लिक नगर्नुहोस्

ईमेल तथा विभिन्न मेसेजिङ एपमा स्क्याम लिङ्क फैलिरहेका हुन्छन् । यदि तपाईँलाई अपरिचित व्यक्तिबाट ईमेल वा मेसेजमा लिङ्क आएका छन् भने बुझेर मात्र ती लिङ्क खोल्नुहोस् ।

कतिपय घटनामा चिनेकै व्यक्तिबाट पनि उसको अकाउन्ट ह्याक भएर त्यस्ता स्क्याम लिङ्क फैलिएका हुन्छन् । त्यसैले ईमेल तथा मेसेजिङ एपमा आएका लिङ्क बुझेर मात्र खोल्नुहोस् ।

आफूले प्रयोग गर्ने एप तथा सफ्टवेयर अपडेट गर्नुहोस्

आफ्नो फोन, एप, सफ्टवेयर तथा अपरेटिङ सिस्टम सधैँ अपडेट गर्नुहोस् । यसो गर्दा फोन, एप, सफ्टवेयर तथा अपरेटिङ सिस्टममा सुरक्षा अपडेट तथा प्याच उपलब्ध हुन्छ । जसले तपाईँको डेटाहरू सुरक्षित राख्छ ।

एन्टिभाइरस प्रयोग गर्नहोस्

आफूले प्रयोग गरिरहेका डिभाइस सुरक्षित राख्न डिभाइसमा एन्टिभाइरस सफ्टवेयर प्रयाेग गर्नुहोस् । यस्ता एन्टिभाइरसले कम्प्युटरलाई साइबर आक्रमण तथा सुरक्षा खतराबाट बचाउँछ ।

व्यक्तिगत जानकारी शेयर गर्दा ख्याल गर्नुहोस्

इन्टरनेटमा व्यक्तिगत विवरण, कागजात शेयर गर्दा धेरै सावधानी अपनाउनुपर्ने हुन्छ । इन्टरनेटमा अपरिचित व्यक्तिलाई भरसक आफ्ना व्यक्तिगत कागजातहरू पठाउनु हुँदैन ।

चिनेका व्यक्तिलाई पनि त्यस्ता कागजात दिनुपर्‍यो भने पुस्टि गरेर मात्र दिनुपर्ने हुन्छ । आफ्नो ठेगाना, फोन नम्बर, जन्ममिति अनलाइनमा नराख्दा साइबर अपराधको जोखिम कम हुन्छ ।

सुरक्षित वाई-फाई नेटवर्कको प्रयोग

अहिले वाई-फाई नभएका ठाउँ विरलै भेटिन्छन् । निःशुल्क उपलब्ध गराइएका इन्टरनेटमा बढी जोखिम हुन्छ । त्यसैले डिभाइसमा सुरक्षित वाई-फाई प्रयोग गर्नुहोस् ।

अनलाइन प्रतिष्ठा कायम गर्नुहोस्

तपाईँले सामाजिक सञ्जालमा राखेका पोस्ट, लाइक वा कमेन्ट गरेका पोस्टले पनि तपाईँको सामाजिक प्रतिष्ठामा आँच आउँछ ।

यदि तपाईँले आफूले मात्र देखेको छु भन्ने हिसाबले सामाजिक सञ्जालका पोस्टमा प्रतिक्रिया वा लाइक गर्नुभएको छ भने तपाईँसँग जोडिएका व्यक्तिले पनि तपाईँले गरेका लाइक, केमन्ट वा पोस्ट देख्छन् ।

त्यसैले सामाजिक सञ्जाल प्रयोग गर्दा आफ्नो प्रतिष्ठाको पनि ख्याल गर्नुहोस् ।

फिशिङ स्क्यामबाट सुरक्षित रहनुहाेस्

तपाईँका संवेदनशील डेटाहरू चोरी गर्नुपर्‍यो भने स्क्यामरले फिसिङ लिङ्क प्रयोग गर्ने गर्छन् । विशेषगरी बैंक तथा वित्तीय विवरण, विभिन्न अकाउन्टका पासवर्ड चोरी गर्नका लागि तपाईँलाई लोभ्याउने विज्ञापन देखाउँछन्, जसले गर्दा तपाईँ त्यस्ता लिङ्कमा सहजै क्लिक गर्नुहुन्छ र तपाईँका डेटा चोरी हुन्छन् ।

प्राइभेसी सेटिङ प्रयोग गर्नुहोस्

सामाजिक सञ्जाल तथा वेबसाइटमा प्राइभेसी सेटिङ निकै महत्त्वपूर्ण हुन्छ । तपाईँले पोस्ट गरेका सामाग्री कसले देख्ने भन्ने कुरा प्राइभेसी सेटिङबाट सेट गर्न सकिन्छ ।

बालबालिकालाई अनलाइन सुरक्षाबारे सचेत गराउनुहोस्

इन्टरनेटमा हुने विभिन्न सुरक्षा जोखिममा बालबालिकाहरू पर्छन् । त्यसैले इन्टरनेट तथा कम्प्युटर प्रयोग गर्न दिँदा साइबर सुरक्षाबारे जानकारी दिनुहोस् । साथै उनीहरूलाई इन्टरनेटबाट गर्न नहुने कामका बारेमा राम्रोसँग बुझाउनुपर्छ ।

पछिल्लो अध्यावधिक: माघ २४, २०७९ १६:५८