काठमाडौं । भ्यालेनटाइन्स डे नजिकिएसँगै आफूले माया गरेको मान्छेलाई के गिफ्ट दिन उपयुक्त हुन्छ भन्ने विषयमा सोच्नु स्वभाविक नै हो । कतिपयले कार्ड, फोटो प्रेम, चकलेट जस्ता सामाग्री उपहार दिने गर्छन् भने केहीले नयाँ र युनिक उपहार दिन खोजेका हुन्छन् ।
यदि तपाईँ प्रविधिसँग जोडिएको उपयोगी उपहार दिने सोचमा हुनुहुन्छ भने यहाँ तपाईँका लागि उपयुक्त उपाहरको विषयमा उल्लेख गरिएको छ ।
१) स्मार्टफोन
भ्यालेन्टाइन्स डेको अवसरमा सबैभन्दा उपयुक्त हुने र बजेटमा आउने उपहार ‘स्मार्टफोन’ पनि हो । हालै बजारमा विभिन्न नयाँ मोडेलका स्मार्टफोन सार्वजनिक भएका छन् । स्मार्टफोन सबैभन्दा काम लाग्ने उपहार हुनसक्छ ।
यसको लागि आफ्नो बजेट अनुसार सबैभन्दा महँगो अथवा बजेट फोन पनि दिन सकिन्छ । हालै सामसङले फेब्रुअरी १ मा सार्वजनिक गरेको सामसङ एस२३ सिरिज नेपालमा पनि सार्वजनिक भइसकेको छ ।
त्यस्तै आईफोन १४ सिरिज, आईकू ११, ओप्पो रेनो एटटी, अनर एक्स ९ ए पनि नेपाली बजारमा हालसालै भित्र्याएको फोन पनि छन् साथै यही वर्ष सार्वजनिक भएका २५ हजार रुपैयाँ भन्दा मुनिका सामसङ ग्यालेक्सी एजीरो फोर ई, भिभोको वाई सिरिजका स्मार्टफोन, रेडमी ए वनप्लस, अनर एक्स ७ ए लगायतका स्मार्टफोनहरू पनि दिन सकिन्छ ।
यही दिनको लागि भनेर विभिन् ई-कमर्स साइट तथा मोबाइल पसलहरूले पनि छुटमा स्मार्टफोनहरू दिइरहेको छ ।
२) इयरबड
इयरबड अहिलेको फेसन ट्रेन्ड नै बनिसकेको छ । प्रयोगकर्ताहरू वायर्ड इयरफोन भन्दा वायरलेस इयरबड प्रयोग गर्न रुचाउँछन् । अहिले त विभिन्न ब्रान्डले जोडीका लागि भनेर नै हेडफोन पनि तयार पारेको हुन्छ । अथवा आफूले माया गर्ने मान्छेलाई मनपर्ने रंग र कभरसहितको इयरबड पनि दिन सकिन्छ ।
नेपालमा हाल २००० रुपैयाँदेखि ३० हजार माथिका इयरबडहरू उपलब्ध छन् । भ्यालेन्टाइन्स'डेमा पछिल्लो समय बजारमा आएका हेडफोन गिफ्ट दिँदा त्यो दिन झनै विशेष हुनसक्छ ।
पछिल्लो समय नेपाली बजारमा आएका एप्पल एयरपडका साथै डिजो, बोट, फ्यानटेक जस्ता ब्रान्डका हेडफोन, एयपड वा एयरफोन गिफ्ट दिन सक्नुहुन्छ ।
३) स्मार्टवाच
अहिलेको स्मार्ट समयमा स्मार्टवाच निकै नै प्रभावकारी र उपयोगी उपहार हुनसक्छ । आफूले माया गर्ने मान्छेलाई सुरक्षित राख्न सघाउने वेयरेबल उपहार दिनु उपयुक्त हुन्छ । त्यसका लागि एप्पल वाच सिरिज ८, एप्पल वाच एसई, सामसङ ग्यालेक्सी वाच ५ जस्ता स्मार्टवाच गिफ्ट दिन सक्नुहुन्छ । यसैगरी नेपाली बजारमा उपलब्ध साओमीका स्मार्टवाच, बोट लगायतका सस्तो र टिकाउ स्मार्टवाच पनि गिफ्टको रुपमा दिन सकिन्छ ।
४) स्मार्ट स्पिकर
यदि तपाईँको प्रेमी/प्रेमिका फिल्म हेर्न, गीत सुन्न मन पराउनुहुन्छ भने स्मार्ट स्पिकर गिफ्ट दिन सक्नुहुन्छ । विशेषगरी फोनबाटै व्यवस्थापन गर्न सकिने, मुभी थियटरको अनुभव दिने स्मार्ट स्पिकर गिफ्ट दिन उपयुक्त हुन्छ ।
५) फिटनेस ट्रयाकर
शारीरिक स्वास्थ्य निकै संवेदनशील विषय हो । यदि तपाईँ आफ्नो प्रेमी वा प्रेमिकाको स्वास्थ्य राम्रो होस्, स्वास्थ्यमा आएका समस्या चाँडो पहिचान होस् भन्ने चाहनुहुन्छ अथवा तपाईँले माया गर्ने मान्छे स्वास्थ्यको निकै ख्याल राख्नुहुन्छ भने फिटनेस ट्रयाकर गिफ्ट दिनु उपयुक्त हुन्छ ।