close

के हो एडटेक ? शैक्षिक स्तर सुधारका लागि कसरी प्रयोग गर्न सकिन्छ ?

टेकपाना टेकपाना

फागुन १, २०७९ १०:२२

के हो एडटेक ? शैक्षिक स्तर सुधारका लागि कसरी प्रयोग गर्न सकिन्छ ?

काठमाडौं । एडटेक दुईओटा अंग्रेजी शब्दको मिलेर बनेको छोटो रुप हो । एजुकेसन टेक्नोलोजीको छोटो रुपमा नै एड हो । सामान्य भाषामा बुझ्दा शैक्षिक प्रविधि वा भनौँ शैक्षिक क्षेत्रमा हुने प्रविधिको प्रयोग नै एडटेक हो । 

अन्य क्षेत्रमा जस्तै शैक्षिक क्षेत्रमा पनि प्रविधिको प्रयोग दैनिक जसो बढी रहेको छ । शिक्षकले पढाउने देखि लिएर विद्यार्थीले पढ्नेसम्मका गतिविधिहरू डिजिटल प्लेटफर्ममा हुनु अहिले सामान्य जस्तै बनिसकेको छ । 

यसले कक्षाकोठामा प्रविधिको प्रयोग गरेर शैक्षिक गतिविधिहरूको सञ्चालन गर्नु भनेर बुझाउँछ । कक्षाकोठामा ट्याब्लेट जस्ता डिभाइसहरू, हाइटेक बोर्डहरू उपलब्ध हुनु, प्रोजेक्टरहरूको प्रयोग हुनु अथवा अनलाइन सामग्री वितरण हुनु साथै अनलाइन मार्फत पठनपाठन हुनु लगायतका गतिविधि एडटेक भित्र पर्दछ । 

सन् २०१० को तुलनामा २०२१ मा ४० गुणा धेरै लगानी यो क्षेत्रमा बढेको एक अध्ययनले देखाएको छ । एडटेकले शिक्षामा अध्ययनको नयाँ शैली विकास गरेको छ । एडटेकको कारण नै टाढा रहेका विद्यार्थी घरबाट नै अध्ययन गर्न सम्भव भएको छ । त्यस्तै कोरोना महामारी जस्ता विपत्तिमा समेत यसले धेरै योगदान पुर्‍याएको थियो ।

आजको दिनमा शैक्षिक स्तर सुधार गर्नको  लागि एडटेकको ठूलो भूमिका छ । परम्परागत रुपमा हुने अध्ययन-अध्यापनको कामलाई यसले अपग्रेड गर्न मद्दत गर्दछ । 

यद्यपि एडटेकको भूमिका राम्रोसँग बुझ्न नसक्दा यसले प्रभावकारी रुपमा काम गर्न सकिरहेको छैन । विशेषगरी नेपाल जस्तो विकासोन्मुख देशमा प्रविधिको उपलब्धता भएपनि यसको प्रयोगको बारेमा ज्ञान नहुँदा यस्ता प्रणालीहरूले प्रभावकारी रुपमा काम गर्न सकिरहेको छैन । 

एडटेकको प्रभावकारी रुपमा प्रयोग गर्न ध्यान दिनुपर्ने कुराहरू: 

१. शिक्षकलाई नयाँ प्रविधि प्रयोग सम्बन्धी तालिम

कुनै पनि नयाँ शैक्षिक प्रविधि विद्यार्थीभन्दा सुरुमा शिक्षकले प्रयोग गर्छन् । त्यस्तै विद्यार्थीभन्दा शिक्षकले नै त्यस्ता प्रविधि बढी प्रयोग गर्नुपर्ने हुन्छ । साथै शिक्षकले नै विद्यार्थीलाई सिकाउने हुँदा पहिले शिक्षकले राम्रोसँग प्रविधिलाई बुझ्नुपर्छ ।

यसले गर्दा एडटेक प्रयोग गरी शैक्षिक स्तर सुधार गर्नका लागि सबैभन्दा सुरुमा यस बारेमा शिक्षकलाई तालिम दिनु आवश्यक हुन्छ । यसले उनीहरूलाई प्रविधिमा अभ्यस्त बनाउँछ । यस्ता तालिमले शिक्षकको स्तर बढेसँगै शैक्षिक स्तरमा पनि परिवर्तन आउँछ ।   

२. अभिभावकलाई डिजिटल साक्षरता

कतिपय अभिभावक आफ्नो बालबच्चाले डिजिटल डिभाइस प्रयोग गरेको मन पराउँदैनन् । त्यस्ता डिभाइस खरिदका लागि आग्रह गर्दा अस्विकार पनि गरिरहेका हुन्छन् । साथै एडटेकमा प्रयोग हुने धेरै प्रविधिसँग अभिभावक अनभिज्ञ नै हुन्छन् । यसकारण अभिभावकलाई डिजिटल साक्षर बनाउन आवश्यक छ ।

एडटेकको महत्त्वको विषयमा अभिभावकलाई ज्ञान दिन सकेको खण्डमा यसले विद्यार्थीको क्षमतालाई बृद्धि गर्न पनि मद्दत गर्दछ । फलस्वरुप उनीहरु स्वयंले आफ्नो बालबालिकालाई एडटेक प्रयोग गर्न हौसाउन सक्छन् । अभिभावकको प्रोत्साहन र साथले पनि विद्यार्थीहरूले आफ्नो शिक्षामा राम्रो योगदान दिन सक्छन् । 

३. विद्यार्थी र प्रविधिविचको दूरीलाई कम गर्ने प्रयास

एडटेक प्रयोगका लागि सबै विद्यार्थीसँग प्रविधिको पहुँच हुन आवश्यक छ । तर धेरै जनाले स्तरीय प्रविधिमा पहुँच पाइरहेका हुँदैनन् । जसले गर्दा विद्यालयमा हुँदा, त्यहाँ भएका कम्प्युटर प्रयोग गर्ने तर घरमा त्यतिकै खाली बस्नु पर्ने अवस्था सिर्जना हुन्छ ।

यो कुराले एडटेक प्रयोग गरे पनि पढाइमा भने सुधार हुन सक्दैन । प्रविधि महँगा भएका कारण कम आय भएका विद्यार्थीले खरिद गर्न सक्दैनन् ।

यी र यस्तै समस्या मात्र समाधान गर्ने हो पनि एडटेक प्रयोग गरी शिक्षाको स्तर सुधार हुनमा धेरै मद्दत पुग्छ । यस्तोमा शैक्षिक संस्था लगायत अन्य सरोकारवालाहरूले ध्यान दिनु जरुरी हुन्छ ।   

४. प्रयोगात्मक गतिविधिमा जोड

हामीले कुनै पनि कुरा अध्ययन गरेर त्यसलाई जीवनमा लागु गरेनौँ भने त्यो त्यतिकै खेर जान्छ । यो कुरा अनलाइन तथा भौतिक दुवै कक्षामा लागु हुने कुरा हो ।

अनलाइन मार्फत सञ्चालन हुने कक्षाको एउटा नकारात्मक पक्ष भनेको विद्यार्थीहरूले पूर्ण रुपमा कक्षामा ध्यान दिएका हुदैँनन् । यसकारण अनलाइन कक्षा पछि सम्बन्धित अध्ययनलाई व्यवहारामा लागू गर्न निकै आवश्यक छ ।

जस्तो: इलामको चियाबारी बारे ३६० डिग्री भ्यु, फोरके रिजोलुसनको स्तरीय भिडिओ हेरेर मात्र विद्यार्थीले त्यहाँको समाज बुझ्दैनन् । त्यस्तै हाइड्रोजन र अक्सिजन मिसाए पानी बन्छ भन्ने कुराको भिडिओ हेरेर मात्र विद्यार्थीले तयार पार्न सक्दैनन् ।

यसका लागि प्रयोगात्मक शिक्षालाई जोड दिनै पर्ने हुन्छ । तसर्थ एडटेक प्रयोग गरेर सञ्चालन हुने कक्षामा पनि प्रयोगात्मक शिक्षालाई भने समावेश गराउनु पर्ने हुन्छ । 



 

पछिल्लो अध्यावधिक: फागुन १, २०७९ १०:२५