close

अमेजनबाट आईफोन १४ प्रो म्याक्स मगाउँदा नक्कली आईफोन परेपछि

टेकपाना टेकपाना

फागुन ३, २०७९ १७:६

अमेजनबाट आईफोन १४ प्रो म्याक्स मगाउँदा नक्कली आईफोन परेपछि

काठमाडौं । १६, सेप्टेम्बर २०२२ का दिन एप्पलले आफ्नो बहुप्रतिक्षित आईफोन १४ सिरिज सार्वजनिक गर्न लागेको थियो । स्टाइलिस लुक, डाइनामिक आइल्यान्ड, स्याटलाइट कनेक्टिभिटी जस्ता फिचरले प्रयोगकर्तालाई झनै आकर्षित बनाएको थियो । 

उक्त फोनका फिचर भन्दा पनि कम्पनीको ब्रान्डले फोनलाई धेरैको रोजाइमा पारेको छ । फोनको लोकप्रियताकै कारण पनि धेरै स्क्यामरले ठगि गर्ने गरेका छन् । 

यस्तै एउटा ठगीमा भारतका प्रयोगकर्ता फसेका हुन् । उनले रेडिटमा पोस्ट गर्दै आफू ठगीमा परेको जानकारी दिएका थिए । 

रेडिटमा अक्षय थुन्गा नाम गरेका प्रयोगकर्ताले आफू कसरी ठगीमा परे भन्ने कुरा उल्लेख गरेका छन् । आईफोन १४ को लोकप्रियताले अन्य प्रयोगकर्तालाई जस्तै उनलाई पनि आकर्षित गरेको थियो । जसपश्चात उनले यो फोन खरिद गर्ने योजना बनाए । 

सोही अनुरूप फेब्रुअरी ५ मा उनले अमेजनमा फोन अर्डर गरे । उनले अर्डर गरेको भोलिपल्ट नै उनको घरमा फोन आइपुग्यो ।

उनले बक्स खोलेर हेर्दा उनलाई केही फरक लाग्यो । "जब मैले मेरो फोन अन गरेँ । त्यसबेला मलाई कुनै पनि सेटिङ सेटअप गर्न लागि भनिएन । अर्थात् मेरो फोन सोझै खुल्यो," उनी लेख्छन्, "त्यो भन्दा पनि अचम्मको कुरा त के भने त्यस फोनमा ट्वीटर, फेसबुक र ह्वाट्सएप पहिले नै इन्स्टल गरेर राखिएका थिए।"

कुनै पनि नयाँ फोन अन गरिसकेपछि फोनलाई आफू अनुकूल सेटअप गर्नुपर्छ । उदाहरणका लागि आफ्नो अकाउन्ट राख्ने, सिम सेटअप गर्ने जस्ता काम गर्नपर्ने हुन्छ । 

तर, उक्त फोनमा सेटअप गर्नुपर्ने नभएपछि थुन्गा अचम्ममा परे । त्यसपछि उनले फोनका अन्य सेटिङहरू हेर्न थाले । "फोनको फन्टमा पनि केही फरक देखिएको थियो । साथै सेल्फी क्यामेरामा पोट्रेट मोड पनि उपलब्ध थिएन," उनी लेख्छन् ।

फोन शंकास्पद लागेपछि त्यसलाई पुस्टि गर्न उनले एप्पलको आधिकारिक वेबसाइट हेरे । उनले फोनको वारेन्टी कार्डमार्फत फोन जाँच गर्न थाले । 

त्यसपछि वेबसाइटमा उनले फोनको सिरियल नम्बर राखे । सिरियल नम्बर राख्दा फोन सक्कली भएको देखियो । तर, उनलाई अझै पनि शङ्का लागेको थियो । उनी थप्छन्, "वेबसाइटबाट मेरो शङ्का नमेटिएपछि म नजिकैको एप्पलका उत्पादन पाइने पसलमा पुगेँ । त्यहाँको मान्छेले फोन नक्कली भनेपछि मेरो शंका मेटियो ।"

फोन जाँच गरेपछि उक्त फोन नक्कली भएको देखियो ।अमेजनबाट डिभाइस किनियो तर फोन त नन-आईफोन १४ प्रो म्याक्स पो परेछ” उनले बताए।

वारेन्टी कार्डमा भने कुनै आधिकारिक फोनको सिरियल नम्बर राखिएको रहेछ । जसले गर्दा वेबसाइटमा उक्त फोन सक्कली नै देखियो । तर, भौतिक रूपमा फोन जाँच गर्दा भने फोन नक्कली भएको पुष्टि भयो ।

फोन नक्कली भएको पुष्टि भएपछि उनले व्यापारीलाई उक्त कुराको जानकारी दिए । तर, त्यहाँबाट उनको काम बन्ने नदेखेपछि उनले भारत सरकारको ग्राहक सेवा हेल्पलाइनको सहयोग लिए । 

अनलाइन शपिङ गर्ने प्रचलन नेपालमा पनि दिनानुदिन बढ्दै छ । महँगा डिभाइस अर्डर गर्दा यस्ता कुरामा ख्याल राख्नपर्छ । 

साथै शुल्क क्याश अन डेलिभरीमा दिने र फोन आइसकेपछि डेलिभरी गर्ने मान्छेकै अघि अनबक्सिङ गर्नुपर्छ । यस्ता महँगा डिभाइस खरिद गर्नुअघि त्यसबारे धेरै खोज गर्नुपर्छ । 

यदि आफूले खोज्दा भेटेका कुराभन्दा सो डिभाइस फरक लाग्यो भने नक्कली भएको शंका गर्न सकिन्छ । 

 

पछिल्लो अध्यावधिक: फागुन ३, २०७९ १७:६