close

नक्कली नागरिकताबाट सिम निकाली बैंकका ग्राहकलाई ठगी गर्ने धन्दा, सचेत रहन प्रहरीको अनुरोध

टेकपाना टेकपाना

कात्तिक २५, २०८१ २२:४८

नक्कली नागरिकताबाट सिम निकाली बैंकका ग्राहकलाई ठगी गर्ने धन्दा, सचेत रहन प्रहरीको अनुरोध

काठमाडौं । पछिल्लो समय अनलाइन ठगीका घटना बढ्दै गएका छन् । छोटो समयमै सर्वसाधारणले लाखदेखि करोड रुपैयाँसम्म गुमाउन थालेका छन् । यसैबीच केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एक विज्ञप्ति जारी गर्दै अनलाइन ठगीबाट बच्न विशेष सावधानी अपनाउन आग्रह गरेकाे छ ।

ब्युराेका अनुुसार ठगी गिराेहले फाेनमा आफू बैंककाे कर्मचारी बोलेको भन्दै सर्वसाधारणको संवेदनशील विवरण माग्ने र त्यसैको दुरुपयोग गरी रकम हात पार्छन् ।

ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार स्क्यामर (ठग)हरू सर्वसाधारणलाई खाता नवीकरण र अपडेट गर्ने भन्दै विवरण माग्छन् । सर्वसाधारण उनीहरूको कुरा विश्वास गरी अकाउन्ट नम्बर, जन्ममिति, पासवर्ड र ओटीपी उपलब्ध गराउँछन् । यस्ता संवेदनशील विवरण पाएपछि स्क्यामर उक्त अकाउन्टबाट रकम अन्य अकाउन्टमा ट्रान्सफर गर्छन् । अन्य बैंक अकाउन्ट पनि अरूकै नामबाट खोलिएका हुन्छन् ।

बोगटीका अनुसार ह्याकरहरू नक्कली नागरिकता र चोरीका कागजातका भरमा टेलिकम कम्पनीबाट सिम निकाल्छन् । त्यही सिम प्रयोग गरी बैंकमा खाता खोल्छन् ।

“खाता नम्बर छ, मोबाइल नम्बर छ, प्रहरीले किन अनुसन्धान गरेन भनेर मान्छेहरू गुनासो गर्छन्,” प्रहरी उपरीक्षक बोगटी भन्छन्, “प्रहरीलाई अनुसन्धान गर्न किन गाह्रो हुन्छ भने ती सबै खाता फेक हुन्छन् । उनीहरूले नक्कली डकुमेन्ट बनाएर सिम निकाल्छन्, बैंक अकाउन्ट खोल्छन् । र, पैसा भारतबाट निकाल्छन् ।”

खाता अनुसन्धान गर्दै जाने क्रममा जुन नाममा सिम निकालिएको हुन्छ, त्यो नामको व्यक्ति नै नहुने उनी बताउँछन् । यसरी नक्कली कागजात बनाई ठगी गर्नेमा भारतीय गिरोह रहेको हुनसक्ने प्रहरीकाे अनुमान छ । 

नेपालका टेलिकम कम्पनीहरू सिम वितरण गर्दा र वित्तीय संस्थाहरू खाता बनाउने क्रममा गम्भीर हुनुपर्ने बोगटी बताउँछन् ।

“टेलिकम कम्पनी र वित्तीय संस्थाहरू चनाखो हुनुपर्‍यो । जथाभावी सिम दिने र खाता बनाइदिने गर्नु भएन । सुरक्षाको क्षेत्रबाट पनि हेर्नुपर्छ,” उनी भन्छन् ।

शङ्कास्पद र अपरिचित नम्बरबाट फोन आएमा आफ्नो व्यक्तिगत विवरण नदिई सो बैंक वा वित्तीय संस्था र नजिकको प्रहरी कार्यालयमा जानकारी दिन उनी आग्रह गर्छन् ।

 

पछिल्लो अध्यावधिक: कात्तिक २५, २०८१ २२:४८