काठमाडौं । सामसङले आफ्नो ग्यालेक्सी वाच फाइभमा शरीरको तापक्रमको आधारमा महिनावारी ट्रयाक गर्न सकिने फिचर उपलब्ध गराउने भएको छ । कम्पनीले प्रजननसम्बन्धी एप 'नेचुरल साइकल्स' सँगको सहकार्यमा यो फिचर प्रदान गर्न लागेको हो ।
यो फिचर युरोप, उत्तर अमेरिका र एसियाका ३२ देशमा उपलब्ध हुने बताइएको छ । 'साइकल ट्रयाकिङ' नामक यो फिचरले महिलालाई आफ्नो महिनावारीको समयचक्र थाहा पाउन र बुझ्न मद्दत गर्ने कम्पनीको भनाइ छ ।
नेचुरल साइकल्सले सन् २०१८ देखि महिलालाई आफ्नो तापक्रम र महिनावारीको समयचक्र ट्रयाक गर्न मद्दत गर्दै आएको छ । कम्पनीका अनुसार उक्त एपले ९३ प्रतिशत सटीक परिणाम दिन्छ र यसले आफ्नो इच्छाबिना हुने गर्भधारणलाई पनि रोक्न मद्दत गर्दछ ।
यही फिचर अब सामसङको स्मार्टवाचमा थपिने भएको हो । नेचुरल साइकलले यो फिचर 'ओरा रिङ' (तापक्रम पत्ता लगाउन सक्ने औँठी) मा परीक्षण गरिसकेको छ । यद्यपि स्मार्टवाचमा भने पहिलोपटक सामसङले यसको प्रयोग गर्न लागेको हो ।