काठमाडौं । ब्लुटुथ व्यापक रूपमा प्रयोग गरिएको वायरलेस प्रविधि हो । विद्युतीय उपकरणलाई एक-अर्कासँग कनेक्ट गर्ने भएकाले पनि यो प्रविधि चर्चित छ ।
विगतमा फाइल ट्रान्सफर गर्न बढी प्रयोग हुने ब्लुटुथ अहिले अनेकन् कामका लागि प्रयोग हुन्छ । हेडफोन, स्पिकर, इयरबड, माउस, स्मार्टवाच, किबोर्ड र अन्य सामानहरू स्मार्टफोन, ट्याब्लेट र कम्प्युटरहरूमा जडान गर्न ब्लुटुथको प्रयोग हुने गरेको छ ।
ब्लुटुथकै कारण हामी कुनै तार नै नजोडी विभिन्न डिभाइसलाई एक-अर्कामा जडान गरेर प्रयोग गर्न सक्छौं । यी अनेक सुविधाका बावजुद पनि यसले थुप्रै साइबर सुरक्षा जोखिमहरू निम्त्याएको छ । ब्लुटुथसँग सम्बन्धित मुख्य साइबर सुरक्षा जोखिममध्ये एक तपाईंको उपकरणमा अनधिकृत पहुँचको सम्भावना हो ।
यदि तपाईँले आफ्नो डिभाइसको ब्लुटुथ अन गर्नुभएको छ, यस्तो जोखिम बढी हुन्छ । यसमा तपाईँको डिभाइसमा पहुँच पाउन साइबर अपराधीले ब्लुटुथको सहायता लिन्छन् । यसरी ब्लुटुथबाट प्रयोगकर्ताको डिभाइसमा पहुँच बनाउन उनीहरू 'ब्लुज्याकिङ' प्रविधि प्रयोग गर्छन् ।
यसबाट प्रयोगकर्ताको अनुमति र जानकारीबिनै कन्ट्याक्ट, मेसेज, ग्यालरी र डिभाइसको ब्राउजरमा समेत पहुँच बनाउँछन् । त्यसबाहेक पनि भाइरस भएका डिभाइसहरू तपाईँको डिभाइसमा कनेक्ट भएर डिभाइस नै खराब पार्ने जोखिम हुन्छ ।
यसलाई 'ब्लुटुथ हनीपोट' (bluetooth honeypot) आक्रमणको रूपमा चिनिन्छ । तपाईँको डिभाइसमा भएका डेटा नष्ट गर्न वा त्यसलाई खराब बनाउन र डेटामाथि पहुँच पाउन साइबर अपराधीले ब्लुटुथको सहयोग लिन्छन् ।
साथै ब्लुटुथकै माध्यमबाट डिभासइमा पहुँच बनाएर इन्टरनेटमा आक्रमण गर्ने सम्भावना पनि उत्तिकै हुन्छ ।
ब्लुटुथबाट कसरी साइबर आक्रमण हुन सक्छ ?
- डिभाइसमा ब्लुटुथका माध्यमबाट स्पाम मेसेज वा मालिसियस लिङ्क पठाउन सक्छन् । त्यस्ता स्पाम मेसेज वा लिङ्कले गर्दा तपाईँको डेटा चोरी हुन सक्छ ।
- ह्याकरले तपाईँको डिभाइसमा ब्लुटुथ कनेक्ट गरी डिभाइस आफ्नो नियन्त्रणमा लिएर खतरनाक एप इन्स्टल गरिदिन सक्छन्, जसले गर्दा तपाईँको डिभाइसको सम्पूर्ण पहुँच ह्याकरले पाउन सक्छ ।
- ह्याकरले ब्लुटुथको प्रयोग गरी तपाईँको डिभाइसबाट फोटो, मेसेज, कन्ट्याक्ट नम्बर, सेभ गरिएका युजरनेम र पासवर्डको जानकारी लिन सक्छन् ।
ब्लुटुथबाट हुने सम्बन्धित जोखिमहरूबाट आफूलाई जोगाउन, राम्रो साइबर सुरक्षा अभ्यासहरू अपनाउनु आवश्यक छ । त्यसका लागि सबैभन्दा पहिले प्रयोगमा नहुँदा ब्लुटुथ अफ गर्नुपर्ने हुन्छ । यसले तपाईंको डिभाइसमा अनधिकृत पहुँच रोक्न र खराब डिभाइससँग कनेक्सन बनाउने जोखिम कम गर्छ ।
तपाईं आफ्नो ब्लुटुथ कनेक्सन सुरक्षित गर्न थप सुरक्षामा उपाय अपनाउन सक्नुहुन्छ । त्यसका लागि आफ्ना महत्त्वपूर्ण एपमा पासवर्ड प्रयोग गर्नुहोस् । विशेषगरी कन्ट्याक्ट, फोन, मेसेज, ग्यालरी, जिमेल, ब्राउजरजस्ता एपमा पासवर्ड राख्नुहोस् ।
यसले तपाईँको डिभाइसमा कुनै अन्य डिभाइस कनेक्ट भएर डेटा चोरी गर्न खोजिरहेको छ भने त्यसलाई रोक्न मद्दत गर्छ ।
यसैगरी डिभाइसको सफ्टवेयर बारम्बार अपडेट गरिरहँदा पनि यस्ता जोखिमबाट बच्न सकिन्छ । सफ्टवेयर अपडेटमार्फत डिभाइसका कमजोरी समाधान हुने भएकाले यस्ता साइबर सुरक्षाका जोखिम पनि कम हुन्छन् । डेभलपरले प्रायः सुरक्षा कमजोरीहरू समाधान गर्न अपडेट उपलब्ध गराउने गर्छन् । त्यसैले यी सफ्टवेयर अपडेटले पनि डिभाइसलाई अर्काको पहुँचमा हुन नदिन ठूलो भूमिका खेल्छ ।
यदि तपाईँको डिभाइस स्वचालित रूपमा ब्लुटुथमार्फत अन्य डिभाइसमा कनेक्ट हुन्छ भने यस्ता जोखिम बढी हुन्छन् । त्यसैले डिभाइसलाई स्वचालित रूपमा अन्य डिभाइससँग कनेक्ट हुने अप्सन अफ गर्नुहोस् । यसले अनधिकृत डिभाइसलाई तपाईँको अनुमतिबिना तपाईंको डिभाइसमा स्वचालित रूपमा कनेक्ट हुनबाट रोक्छ ।
यसैगरी सबैभन्दा बढी जोखिम सार्वजनिक स्थानहरूमा हुन्छ । सार्वजनिक स्थानमा ब्लुटुथ डिभाइस प्रयोग गर्दा सतर्क हुनुपर्छ । जोकोहीले तपाईँको डिभाइसमा पहुँच पाउन पर्खिरहेको हुनसक्छ । तपाईँको डिभाइसमा स्वतः ब्लुटुथ कनेक्ट हुने फिचर छ भने यो नै उनीहरूका लागि उपयुक्त अवसर हुन्छ । त्यसैले सार्वजनिक स्थानमा ब्लुटुथ अन राख्नु हुँदैन ।
ब्लुटुथ एक सुविधाजनक प्रविधि भएपनि साइबर सुरक्षाका सन्दर्भमा यसमा थुप्रै जोखिमहरू रहेका छन्, जसले गर्दा तपाईँका व्यक्तिगत डेटा र गोपनीयता गुम्ने सम्भावना धेरै हुन्छ । त्यसैले यी जोखिमलाई कम गर्न ब्लुटुथ प्रयोगमा नभएको बेला बन्द गर्नुपर्छ । डिभाइसमा बलियो र युनिक पासवर्ड राख्दा पनि डिभाइस सुरक्षित राख्न सकिन्छ ।
त्यस्तै सफ्टवेयर नियमित रूपमा अपडेट गर्ने डिभाइसका कमजोरी सुधार हुँदै जान्छन् । र, सबैभन्दा मुख्य कुरा सार्वजनिक स्थलमा जाँदा सधैं सतर्क हुनुपर्छ । यी उपाय पालना गरेर आफूलाई ब्लुटुथका माध्यमबाट हुने साइबर आक्रमणबाट बचाउन सक्नुहुन्छ । यसो गर्दा तपाईँका व्यक्तिगत डेटा र गोपनीयता सुरक्षित गर्न हुन्छ ।