close

फाइभजीमा प्रवेश गर्नुअघि मन्त्री शर्माले मागिन् फोरजीको स्टाटस

टेकपाना टेकपाना

फागुन ११, २०७९ १३:१०

फाइभजीमा प्रवेश गर्नुअघि मन्त्री शर्माले मागिन् फोरजीको स्टाटस

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा फाइभजी सेवा सुरु गर्नुअघि पर्याप्त अध्ययन हुनुपर्ने बताएकी छन् । बिहीबार प्रविधि पत्रकार मञ्च (टीजेएफ)ले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री शर्माले फाइभजी कार्यान्वयन गर्नुअघि फोरजी र यसअघिका सेवाको अवस्थाबारे समीक्षा गर्नुपर्ने भनाइ राखिन् ।

''हामीेले फोरजीको स्टाटस थाहा नपाइकन फाइभजीको प्रक्रिया कसरी अगाडि बढाउने कुरा सन्दर्भ रहेको छ,'' उनले भनिन् ''फोरजीको स्थिति कस्तो छ, यसमा कति लगानी गरियो, कति प्रतिफल आयो भन्ने कुराको लेखाजोखा र समीक्षा नगरी अघि बढ्यौं भने हामीलाई लाभभन्दा हानी हुन्छ ।''

भौगोलिक कठिनाइका कारण देशका धेरै ठाउँमा आधारभूत दूरसञ्चार सेवा नै नपुगिरहेको सन्दर्भ उल्लेख गर्दै उनले यसमा ध्यान दिन सरोकारवालालाई आग्रह गरिन् ।

''फोरजीको त के कुरा, अहिले कतिपय ठाउँमा फोन टिप्ने अवस्था पनि छैन । आपत्कालीन अवस्था आए सञ्चार सम्पर्क हुने स्थिति छैन,'' उनले भनिन्, ''यसकारण फाइभजीको सन्दर्भमा यसकाे कसरी सफल प्रयोग गर्ने, कसरी राम्रोसँग व्यवस्थित गर्ने, देशको अर्थतन्त्रमा कसरी प्रभाव पार्ने भन्ने विषयमा पहिले अध्ययन गरी अगाडि बढ्नु राम्रो हुन्छ ।''

सूचना प्रविधि क्षेत्रमा नेपालले पनि फड्को मार्नुपर्ने, तर त्यसका लागि पहिले आधार खडा गर्नुपर्नेमा उनले जोड दिइन् ।

''फाइभजीको प्रयोगबाट देशले कसरी लाभ लिन्छ, अर्थतन्त्रमा कस्तो सहयोग पुग्छ, जनशक्ति र सेवाप्रवाहका हिसाबले कसरी लाभ लिन सकिन्छ, त्यसको साङ्गाेपाङ्गाेलेखाजोखा हुनुपर्छ,'' उनले भनिन् ।

आफू मन्त्रालयमा आएको छ हप्तामात्रै भएको र मोटामोटी ब्रिफिङ लिँदा महत्त्वपूर्ण काम हुन नसकिरहेको पाएको उनको भनाइ थियो । ''सूचना प्रविधिसम्बन्धी कानून निर्माण हुन सकिरहेकाे स्थिति छैन,'' उनले भनिन्, ''यसलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नेछु,'' उनले भनिन् ।

 सूचना प्रविधिको विकास भइरहँदा नेपालको डेटा नेपालमै रहनुपर्नेमा जाेड दिँदै उनले आजको राष्ट्रियता सूचना प्रविधिले जोगाउने विचार राखिन् । यसका लागि नीतिगत र प्राविधिक रुपमा गर्नुपर्ने सुधारका लागि उनले सरोकारवालाबाट सहयोगसमेत मागिन् ।

पछिल्लो अध्यावधिक: फागुन ११, २०७९ १३:३६