काठमाडौं । आफ्ना डिभाइसमा नयाँ-नयाँ डिजाइन प्रस्तुत गर्ने कम्पनीहरूमध्ये टीसीएल पनि एक हो । हाल बार्सिलोनामा जारी मोबाइल वर्ल्ड कंग्रेस २०२३ मा टीसीएलले आफ्नो एक नयाँ ट्याब्लेट 'नेक्स्टपेपर' (NXTPAPER) अनावरण गरेको छ ।
नेक्स्टपेपर ११ मा ११ इन्चको टुके डिस्प्ले छ, जसमा नेक्स्टपेपर २.० प्रविधि प्रयोग गरिएको छ । तपाईँले कागजमा हेर्दा जस्तै यो ट्याबमा फ्रि प्यानल प्रयोग गरिएको छ । अर्थात् एउटा कागज हेर्दा तपाईँको आँखामा जस्तो महसुस हुन्छ, यो ट्याब्लेट हेर्दा पनि त्यस्तै महसुस हुन्छ ।
यसले आँखाको सुरक्षा पनि सोही हिसाबले गर्ने कम्पनीले जनाएको छ । यसमा अक्टाकोर मिडियाटेक हेलियो पीसिक्स जिरो टी (octa-core MediaTek Helio P60T) चिपसेट प्रयोग गरिएको छ ।
ट्याबमा ४ जीबी र्याम र १२८ जीबी स्टोरेज राखिएको छ । यसले मल्टिटास्किङ गर्नको लागि मद्दत पुग्ने कम्पनीको भनाइ छ । साथै ट्याबमा उपलब्ध ८००० एमएएचको ब्याट्रीले प्रयोगकर्तालाई लामो समयसम्मको लागि काम गर्नको लागि थप सहज हुनेछ ।
यसमा ग्लेयर फ्रि डिस्प्ले भएका कारण पनि यो निकै उपयोगी हुने अनुमान छ । यो डिस्प्लेले प्रयोगकर्ताको आँखामा पर्ने प्रकाशलाई कम गर्न मद्दत गर्छ । विश्वबजारमा आउँदो मे महिनामा सार्वजनिक हुने भनिएको यो ट्याबको मूल्य २४९ डलर (करिब ३३ हजार रुपैयाँ) तोकिएको छ ।