close

सरकारलाई साइबर सुरक्षासम्बन्धी सुझाव प्रतिवेदन दिन उच्चस्तरीय कार्यदल गठन

टेकपाना टेकपाना

फागुन १९, २०७९ १४:३

सरकारलाई साइबर सुरक्षासम्बन्धी सुझाव प्रतिवेदन दिन उच्चस्तरीय कार्यदल गठन

काठमाडौं । सरकारी डेटा सेन्टर र वेबसाइटमा बारम्बार समस्या देखिन थालेपछि सरकारले साइबर सुरक्षासम्बन्धी सुझाव प्रतिवेदन दिन उच्चस्तरीय कार्यदल गठन गरेको छ । गत साेमबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्यदल गठन गरेकाे हाे ।

सार्वजनिक क्षेत्रमा प्रयोगमा रहेका सूचना प्रविधि प्रणालीहरूमा समय-समयमा देखापरेका समस्या समाधान गर्न तथा भावी दिनमा देखा पर्नसक्ने जोखिमको पूर्वानुमान गरी न्यून गर्ने उपाय अवलम्बन गर्न कार्यदल गठन भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले जानकारी दिए ।

मन्त्रिपरिषद्ले नेपाल सरकारका सबै निकायका तथ्याङ्क र सरकारी एकीकृत डेटा केन्द्र (जीआईडीसी) मा आएको समस्याका कारण र भएका कमी कमजोरीका बारेमा छानबिन गरी अबका दिनमा गर्नु्पर्ने सुधारका सम्बन्धमा सुझाव पेश गर्न नौ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो ।

तत्कालीन सूचना प्रविधि उच्चस्तरीय आयोगका सदस्य जुद्धबहादुर गुरुङको संयोजकत्वमा गठन भएको कार्यदलले ३० कार्य दिनभित्र प्रतिवेदन बुझाउने बताइएकाे छ ।

कार्यदलमा साइबर सुरक्षाका विषय विज्ञका रुपमा बाबुराम दवाडी, सरोज लामिछाने, मोना न्याछोँ, प्रकाश रायमाझी र विजय गौतम सदस्य रहेका छन् । साथै नेपाल प्रहरी, नेपाली सेना र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट पनि प्रतिनिधि रहने बताइएको छ ।

पछिल्लो अध्यावधिक: फागुन १९, २०७९ १५:४३