close

हामीलाई योजनावद्ध रुपमा फाइभजीमा पहिलो हुनबाट रोकियोः एनसेल

विशाल उपाध्याय

फागुन २२, २०७९ ११:३८

हामीलाई योजनावद्ध रुपमा फाइभजीमा पहिलो हुनबाट रोकियोः एनसेल

नेपालमा दूरसञ्चार सेवाको क्षेत्रमा प्रतिस्पर्धाको समान वातावरण छैन । मानौँ एउटा बुबाका दुई ओटा सन्तान छन् । एउटा सन्तानलाई खाना खुवाएर बाबु मैले दाइलाई खुवाइ दिइसकेँ, तिम्रो पनि पेट भरिन्छ है भने जस्तो व्यवहार छ । अब यस्तो अवस्था छिट्टै अन्त्य हुनुपर्छ । उदाहरणका लागि फाइभजीकै कुरा गरौँ । 

फाइभजी परीक्षणका लागि नेपाल टेलिकमले पहिले नै आवेदन दिएको भए पनि  नियामकले सबैलाई आह्वान गरिदिएको भए राम्रो हुन्थ्यो । 

त्यति मात्र होइन, गएको जुलाई महिनामा टेलिकमले फाइभजी परीक्षण सुरु गरिसक्ने कुरा  थियो । तर छ महिना पछिसम्म पनि लञ्च गर्न नसक्दा अझै जेठो छोरालाई मात्रै पोस्छु भन्ने कुरा भने आपत्तिजनक नै छ । 

फाइभजी परीक्षणका लागि हामीले जुन आवेदन दिएका छौँ, त्यो छिटोभन्दा छिटो स्वीकृत गरिदिनु भयो भने कान्छो छोराले पनि खान पाउने थियो कि ! 

फाइभजीमा हामी प्रतिस्पर्धी पनि हौँ । यसका लागि ट्रायल गरेर मात्रै पुग्दैन । त्यस क्रममा अरुलाई पनि समस्या आउँछन् ।

टेलिकमले जुन प्राविधिक समस्याहरू सामना गरिरहेको छ, ती विषयहरू हामीले परीक्षण गर्ने क्रममा पनि कतै न कतै आउँछन् ।

यद्यपि हामीसँग अन्य पाँच ओटा देशको अनुभव पनि छ । त्यसको महत्त्व पनि बुझ्न जरुरी छ । 

हाम्रो ग्रुप कम्पनीले नेपालमा मात्र होइन, एसियाका अन्य पाँच देशमा पनि सेवा उपलब्ध गराइरहेको छ । हाम्रो ग्रुप अन्तर्गतका कम्पनीहरूले ती देशहरूमा यसअघि नै फाइभजी ट्रायल गरिसकेका छन् । 

हाम्रो यस किसिमको अनुभव भएकाले हामी निश्चित समयसीमा भित्र फाइभजी ट्रायल गरेर देखाउन सक्ने क्षमता पनि राख्छौँ ।

कुनै पनि बजारमा पहिलो हुनुको फाइदा हुन्छ । तर हामीलाई त्यो अवसरबाट योजनावद्ध रुपमा बन्चित गरिएको छ ।

१५/२० वर्ष अघि सिम कार्ड लिन लाइन लाग्नु पर्ने अवस्था नआओस् । फाइभजीको हालत पनि कतै त्यस्तै पो हुन्छ कि ? कतै हामी त्यतैतिर ढल्किँदै त छैनौँ ?

 

फाइभजीका चुनौती

फाइभजी परीक्षण र त्यसको व्यवसायिक सञ्जालमा चुनौतीहरू अवश्य छन् । हामी पनि कहाँ, के कस्ता चुनौतीहरू छन् भनेर हेरिरहेका छौँ । डिभाइस इकोसिस्टममा बेग्लै चुनौती छ । 

आजको दिनमा बजारमा रहेका १० ओटा मोबाइल सेटहरू मध्ये फाइभजी सपोर्ट गर्ने मुस्किलले एउटा होला । यदि फाइभजी कै अनुभव लिने हो भने प्रयोगकर्ताको क्रयशक्ति कत्तिको छ भन्ने कुरा पनि हेर्नुपर्ने हुन्छ । 

यदि फाइभजीको उचित अनुभव लिने हो भने पाँच सय डलर बराबरको राम्रो फोन किन्नुपर्ने हुन्छ । हुन त २०० डलरसम्मका फाइभजी फोन पनि आइसकेका छन् ।

त्योभन्दा सस्ता पनि पाउन सकिएला, नभएका होइनन् । तर त्यस्ता उपकरणमा फाइभजीको राम्रो अनुभव पाउन सकिन्छ त ? 

हामी प्रविधिमा पछि पर्न चाहँदैनौं । हामी परीक्षण पूरा गरेर व्यवसायिक रुपमा सुरु गर्ने तयारीमा बस्न चाहन्छौं ।

फाइभजी केका लागि भन्ने थुप्रै छलफलहरू भइरहेका छन् । हिमाल, पहाड र तराई, तीनै भूमि भएको देश हो, नेपाल । यस्तोमा यहाँ कुन फ्रिक्वेन्सी प्रयोग गर्दा उपयुक्त हुन्छ भन्ने कुरा पनि छ । 

के हामी फोरजीबाट फाइभजीको हब ट्रान्सफर गर्न सक्छौं ? त्यतातिर पनि हामीले हेर्न सक्छौं ।

हामीसँग भएका जति पनि फ्रिक्वेन्सी छन्, त्यसमा फाइभजी टेस्ट र ट्रायल गरेर अगाडि बढ्ने तर ट्रान्जिसन भने फोरजीबाट फाइभजीमा जाँदा उपयुक्त हुन सक्छ । 

तर त्यसमा जानका लागि पनि एक हिसाबले पहल त गर्नैपर्छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा जीले ठाउँ ठाउँमा कभरेज छैन, कतिपय ठाउँबाट फोन लाग्दैन भन्ने कुरा गरिरहनु भएको हुन्छ ।

त्यसो भन्दा खेरि के हामीसँग भएको स्पेक्ट्रमलाई प्राकृतिक स्रोत साधनको रुपमा नेपाल सरकारले वर्गीकरण गरेको छ त ? के त्यो सेवा दिइरहेका सेवाप्रदायहरूलाई दिएका छौँ त ? कि अरु कसैले होल्ड गरेर बसिरहेका छन् ? त्यतातिर पनि ध्यान दिन जरुरी छ । 

त्यस्ता स्पेक्ट्रमहरू सञ्चालनमा रहेका सेवाप्रदायकलाई उपलब्ध गराउने हो भने धेरै जसो समस्या तत्काल समाधान गर्न सकिन्छ । फोरजीबाट फाइभजीमा जाने क्रममा २६०० मेगाहर्ज, ७०० मेगाहर्ज ब्यान्डका फ्रिक्वेन्सी एकदमै महत्त्वपूर्ण हुन्छन् ।

यी मध्यम र तल्लो ब्यान्डका फ्रिक्वेन्सी हाम्रो भूगोल सुहाउँदो छ । हो सघन सहर क्षेत्रमा समस्या छ । त्यसका लागि अलि हाई फ्रिक्वेन्सी चाहिन्छ । तर हाम्रो रोडम्याप अनुसार पनि यदि २.६ गिगाहर्ज र  ७०० मेगाहर्जतिर हेर्न सक्यौँ भने त्यसले विकासमा धेरै मद्दत गर्नेछ ।

 

फाइभजी सेवाको प्रयोग

सबैभन्दा पहिला नेपालमा फाइभजीको प्रयोजन केके हुन सक्छ भनेर हेर्दा ईएमबीडी (इनह्यान्स मोबाइल ब्रोडब्यान्ड) अर्थात् स्तरीकृत मोबाइल ब्रोडब्यान्ड नै हो । त्यस बाहेक अरु भनेको शिक्षा क्षेत्र हुन जान्छ ।

त्यसमा सेवाप्रदायक एक्लैले गरेर हुँदैन । इकोसिस्टम नै तयार हुनुपर्छ । त्यस्तै र्को भनेको मनोरञ्जन र गेमिङ क्षेत्र हुन सक्छ । जहाँ यसको निकै धेरै सम्भावना छ ।

विशेषगरी नेपालमा जुन हिसाबले गेमरहरूले ई-स्पोर्टसमा लोकप्रियता हासिल गरिरहेका छन्, त्यसलाई पकड्न सकिन्छ । 

अर्को केही अन्तर्राष्ट्रिय कार्यक्रम पनि हुन थालेका छन् । जस्तै भर्खरै क्रिकेट भयो । यस्तो खेलकुद मैदानहरूमा फाइभजीको प्रयोग व्यापक हुन सक्छ । विश्वका अन्य देशहरूमा हेर्ने हो भने पनि यस्तै ठाउँहरूमा फाइभजी ट्रायल  भइरहेका छन् । 

मनोरञ्जन क्षेत्रको करा गर्ने हो भने काराओकेहरू लोकप्रिय हुन थालेका छन् । सोसल मिडियाहरू एकदमै लोकप्रिय भइरहेका छन् । जसमा दुई जनाले एउटै लाइभमा बसेर गीत गाउने क्रम शढ्दै गएको छ ।

यसका लागि न्यून लेटेन्सी चाहिन्छ । त्यसो भनिरहँदा हाम्रो देशका लागि फोर एन्ड हाफ जी र फाइभजी उपयुक्त हुन सक्छ । 

हामीले फोरजी सुरु गरेको तीन वर्षपछि बल्ल ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच पुग्न थालेको थियो । पाँच  वर्ष पूरा भइसकेपछि आजको दिनमा सबै स्थानीय तहमा पुग्न सकेका छौँ ।

सायद अझै हामीले सबै रिक्त स्थानमा पहुँच पुर्‍याउन सकेका छैनौँ । माथि भनिएका फ्रिक्वेन्सीको माध्यमबाट अगाडि बढ्ने हो भने ठाउँहरूमा जान सकिन्छ । 

हाम्रो जस्तो भूगोल भएको देशमा फाइबर ईएमबीडीका लागि विकल्प नहुन सक्छ । किनभने एकचोटी रोल आउट गर्ने कुरा त ठीकै हो । तर त्यसलाई नियमित गर्न एकदमै ठूलो समस्या छ ।

आजको दिनसम्म पनि हामीले फोरजीमा लगानी गरिरहेका छौं । त्यसको प्रतिफल पनि लिनुपर्ने हुन्छ । अब फाइभजीलाई कार्पेट कभरेजको रुपमा लैजान आम्दानी अनुसारको शुल्क राख्नुपर्ने हुन्छ ।

त्यसै अनुसार फ्रिक्वेन्सीको दस्तुर पनि राख्नुपर्छ । त्यसो हुन सकेको खण्डमा फाइभजी सर्वसुलभ पनि हुने थियो र रोलआउट गर्न एकदमै छिटो र सजिलो हुने थियो । 

यसको व्यवसायिक सम्भावना पनि हुन्छ । अर्को फाइभजी चल्ने मोबाइल सेटको उपलब्धताको कुरा पनि छ । त्यो चाहिँ क्रमिक रुपमा बढ्दै जाने हो । 

केही विकसित देशहर छाडेर बाँकी सबैले फिक्स्ड वायरलेस एक्सेस (एफडब्लूए) को रुपमा डिप्लोय गरेका छन् । हामीकहाँ पनि एफडब्लूएको सीपीई अर्थात राउटरको मूल्य कति छ ?

किनकी ती सबैको लागत त घट्दै जानुपर्छ । ह्यान्डसेटको पनि प्रयोग बढ्दै जाँदा मूल्य घट्दै जानेछ । एफडब्लूएको सीपीईको पनि मूल्य घट्दै गएको खण्डमा सहज हुनेछ । 
 

साइबर सुरक्षा 

सुरक्षाको मामिलामा भने हामी एउटा संस्थाको रूपमा गर्व गर्छौँ । हामीले सेक्युरिटीको नाममा समग्र जोखिमलाई हेर्ने गर्छौँ । संस्थागत जोखिम हेर्छौँ । त्यसक्रममा हाम्रो जस्तो संस्थाले सबैभन्दा पहिला वित्तीय जोखिम हेरेको हुन्छ ।

वित्तीय जोखिमलाई विभिन्न कोणबाट हेर्छौं । त्यसमा साइबर सुरक्षा र गोपनीयता सबैभन्दा अगाडि आउँछन् । 

विश्वव्यापी रूपमा नै साइबर सुरक्षा जोखिम मुख्य प्राथमिकतामा रहेको हुन्छ र एनसेलमा पनि हामीले साइबर सेक्युरिटी र प्राइभेसीलाई बोर्डको तह र प्रमुख प्राविधिक अधिकृतको तहमा समेत रिपोर्टिङ गर्नुपर्ने हुन्छ । 

हाम्रो साइबर सेक्युरिटीको अवस्था के छ भनेर हामीले संसारका प्रख्यात प्रोफेसनल सर्भिस नेटवर्क पीडब्लूसीदेखि केपीएमजीबाट अडिट गराउँछौँ । यसका लागि नेपाल दूरसञ्चार प्राधिकरण पनि धन्यवादको पात्र हो ।

उहाँहरू आफैँले पनि नियम ल्याउनु भएको छ । अडिट कम्लायन्स हुनुपर्छ भन्नु भएको छ । आजसम्म हामीले अडिट कम्लायन्स रिपोर्ट बुझाउन चुकेका छैनौँ ।

(एनसेलका प्रमुख सूचना अधिकृत विशाल उपाध्यायले केही दिन अघि राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा व्यक्त गरेको विचारको सम्पादित अंश ।)

 

पछिल्लो अध्यावधिक: फागुन २२, २०७९ ११:३८