close

काठमाडौंमै छैन गतिलो मोबाइल सेवा, गुणस्तरमा टेलिकम, एनसेल र स्मार्ट सबै कमजोर

टेकपाना टेकपाना

फागुन २४, २०७९ ९:३४

काठमाडौंमै छैन गतिलो मोबाइल सेवा, गुणस्तरमा टेलिकम, एनसेल र स्मार्ट सबै कमजोर

काठमाडौं । देशको राजधानी काठमाडौंमै मोबाइल सेवा भरपर्दो नरहेको पाइएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले काठमाडौंका विभिन्न १५ स्थानमा गरेको भ्वाइस सेवाको गुणस्तर परीक्षणमा नेपाल टेलिकम, एनसेल र स्मार्ट सेल गरी तीनै कम्पनी असफल देखिएका हुन् ।

प्राधिकरणका अनुसार २० देखि २४ माघ २०७९ को अवधिमा उक्त परीक्षण गरिएको थियो । जसअनुसार सफल कलको दर (एक सय ओटा कल गर्दा सफल हुने कल सङ्ख्या) ९९.९९ प्रतिशत वा सो भन्दा बढी हुनुपर्ने नियामकको मापदण्ड छ ।

तर एनसेलको कल सेटअप सक्सेस रेट ९३.६९ प्रतिशत, नेपाल टेलिकमको कल सेटअप सक्सेस रेट ८८.७८ र स्मार्ट टेलिकमको कल सक्सेस रेट २६.३९ प्रतिशत मात्र छ । त्यस्तै नियामकले कल गर्दा कल सेटअप हुन लाग्ने समय पाँच सेकेन्ड वा सोभन्दा न्यून हुनुपर्ने मापदण्ड बनाएको छ ।

तर यो केपीआई (कि पर्फर्मेन्स इन्डिकेटर) मा पनि तीनै सेवाप्रदायक असफल देखिएका छन् । प्राधिकरणले गरेको ड्राइभ टेस्टमा कल सेटअप हुन औसत एनसेलमा ६.३ सेकेन्ड, नेपाल टेलिकममा ६.९७ सेकेन्ड र स्मार्टमा ११.९३ सेकेन्ड लाग्ने गरेको देखिएको छ ।

यसैगरी ग्रेड अफ सर्भिस (कल ब्लक रेट) अर्थात प्रयोगकर्ताले कल गर्ने प्रयास गर्दा नेटवर्कले नै अस्वीकार गर्ने दर दुई प्रतिशत वा सोभन्दा कम हुनुपर्छ । तर ड्राइभ टेस्टमा भने एनसेलको ६.३ प्रतिशत, टेलिकमको ११.२१ प्रतिशत र स्मार्टको ७३.६ प्रतिशत पाइएको छ ।

चार ओटा केपीआईमा ड्राइभ टेस्ट गरिएको भए पनि बाँकी एउटा सूचक कल ड्रप रेट अर्थात कल बीचैमा काटिने दरमा भने सबै सेवाप्रदायक सफल देखिएका छन् । कल ड्रप रेट दुई प्रतिशत वा सोभन्दा न्यून हुनुपर्ने मापदण्ड रहेकोमा परीक्षणका क्रममा कुनै पनि कल नकाटिएको प्राधिकरणको गुणस्तर परीक्षण प्रतिवेदनमा उल्लेख छ ।

प्राधिकरणले उपत्यकाभित्र ग्वार्को, कोटेश्वर, पुरानो सिनामङ्गल, नयाँ बस्ती-बौद्ध, चाबहिल, गोशाला र सिफलमा यो परीक्षण गरेको थियो । त्यस्तै मैतिदेवी, हाँडीगाउँ, कपन, धुम्बाराही, बरफेदी, भंगाल, हात्तीगौँडा, बुढानीलकण्ठ तथा सो क्षेत्रका सडकमार्गहरूलाई समेत यसमा समेटिएको थियो । 

प्राधिकरण व्यवस्थापनले सम्बन्धित सेवाप्रदायकहरूलाई प्रतिवेदन अनुसार ड्राइभ टेस्ट गरिएका क्षेत्रहरूमा दूरसञ्चार सेवाको गुणस्तर सम्बन्धी विनियमावली २०७३ मा तोकिएका गुणस्तर सम्बन्धी मानकहरू सुधार गर्न निर्देशन समेत दिएको छ । अन्य स्थानहरूमा उपलब्ध मोबाइल नेटवर्कहरूको अवस्था फरक हुन सक्ने प्राधिकरणले जनाएको छ । 

 

के हो ड्राइभ टेस्ट ?

दूरसञ्चार सेवाप्रदायकको गुणस्तर मापन गर्ने क्रममा यो विधि अनुसार चलायमान सवारीसाधनमा जडान गरिएको परीक्षण उपकरणमार्फत लगातार फोनकल गरी वा डेटा प्रयोग गरी मोबाइल नेटवर्कको मुख्य मुख्य सेवा मानकहरूको तथ्याङ्क संकलन गरिन्छ ।

कुनै एक स्थानमा उपलब्ध सबै सेवाप्रदायकहरूको गुणस्तर मापन समानान्तर रुपमा एकैसाथ गरिन्छ । हरेक सेवाप्रदायकको कुनै एक स्थानमा उपलब्ध नेटवर्क (फोरजी/थ्रीजी/टुजी) मध्ये सर्वाधिक अनुकूल नेटवर्क स्वचालित रुपमा छनौट हुनेगरी उपकरणहरूमा व्यवस्था गरिन्छ । 

पछिल्लो अध्यावधिक: फागुन २४, २०७९ ९:३७