close

लेडी आईटी अडिटर- अनिमा पोखरेल

अर्पना आले मगर अर्पना आले मगर

फागुन २४, २०७९ १९:३९

लेडी आईटी अडिटर- अनिमा पोखरेल

काठमाडौं । "ठूलो भएपछि तिमी के बन्ने ?" सायद सानो हुँदा धेरैले सामना गरेको प्रश्न हो यो । कसैले यो प्रश्न सोध्ने वित्तिकै धेरैजसोले सुरुमा नै दिने जवाफ डाक्टर वा पाइलट हुन्थ्यो । अनि त्यसपछि मात्र अरु पेशाको बारेमा भन्ने गरिन्थ्यो । अनिमा पोखरेल पनि यो प्रश्न कसैले सोधिहाल्यो भने "म ठूलो भएर डाक्टर" बन्छु भनेर जवाफ दिहाल्थिन । 

तर यो उनको जवाफ मात्र थिएन, उनी साँच्चै नै डाक्टर बन्न चाहन्थिन् । उनको सपना नै डाक्टर बन्नु थियो । यद्यपि उनको करियरको बाटो सायद अन्तै थियो । नियतिले उनलाई मानिसको समस्या समाधान गर्ने डाक्टर होइन, प्रविधिको समस्या समाधान गर्ने डाक्टर बनायो ।

भैरव टेक्नोलोजीमा अडिट म्यानेजरको रुपमा काम गरिरहेकी अनिमाको शैक्षिक पृष्ठभूमि प्राविधिक होइन । भनिन्छ नि, सबैको जीन्दगीमा अवसरले एकपटक ढोका ढकढक्याउन आउँछ । त्यो सही समयमा ढोका खोल्न सकियो भने जीन्दगीले कहिले पनि पछाडि फर्केर हेर्दैन । अनिमाको जीवनमा पनि यस्तै भयो ।

डाक्टर बन्ने सपना बोकेर काठमाडौंको भद्रबासबाट कक्षा ८ देखि आफ्नो पढाइ अगाडि बढाउन बौद्ध आएकी अनिमाको विद्यालयसँगै सपना पनि परिवर्तन भयो ।

"म डाक्टर बन्न चाहन्थेँ । तर डाक्टर बन्न धेरै पैसा लाग्छ भन्ने कुरा मलाई थाहा थियो," उनी सम्झन्छिन्, "मेरो परिवारले मेरो पढाइको खर्च धान्न सक्छ कि सक्दैन भन्ने हुन्थ्यो । तर एसएलसी सकिनुभन्दा अगाडि नै मेरो सपना परिवर्तन भयो ।"

उनको घरदेखि विद्यालयसम्म पुग्न करिब एक देखि डेढ घण्टा लाग्थ्यो । त्यो बीचको यात्राले उनलाई आफ्नो भविष्यको बाटो तय गर्न मद्दत गर्‍यो ।

"एक दिन यसरी नै स्कुल जाने क्रममा मैले गाडीमा अरू मान्छेहरूले चार्टर्ड अकाउन्टेन्टको विषयमा कुरा गरेको सुनेँ," उनले भनिन् "पढ्नको लागि धेरै पैसा नलाग्ने, तर सीए भएपछि भने धेरै पैसा कमाउन सकिने भन्ने कुरा मैले सुनेँ । यसपछि मेरो बाटो नै मोडियो । मैले अब सीए नै पढ्छु भन्ने सोचेर अगाडि बढेँ ।"

राम्रो भविष्यको लागि राम्रो विद्यालय पढ्न आवश्यक छ भन्ने उनको बुवाको विश्वासलाई लिएर उनले विद्यालय परिवर्तन गरेकी थिइन्, जसले कालान्तरमा उनको भविष्य नै साँच्चै परिवर्तन गरिदियो । "अहिले पनि कहिलेकाहीँ सोच्छु यदि मैले सीए नपढेको भए सायद आज पनि केही पनि हुँदिनँ थिएँ होला भनेर," उनी भन्छिन् । 

उनले चाहेको जस्तै सन् २०१८ मा सीएको पढाइ सकेर अडिटिङको काम सुरु गर्न थालिन् । उनको जीवन उनले सोचजस्तै चलिरहेको थियो । तर उनी हरेक कुरालाई गहिराइमा गएर बुझ्न रुचाउँथिन् । कुनै पनि कम्पनी वा बैंकको अडिटिङको क्रममा उनी त्यसपछाडिको प्रविधिको विषयमा जान्न चाहन्थिन् । 

यो मात्र उनको रुचि थियो । कागजी आर्थिक दस्तावेजभन्दा पर प्राविधिक विषयमा उनको रुचि यसरी नै बढ्दै गयो । आफ्नो कामले विभिन्न संस्थाहरू डुल्ने क्रममा उनले ती कम्पनीहरूले प्रयोग गर्ने सफ्टवेयर अथवा प्रविधिमा आफ्नो व्यक्तिगत अध्ययन गर्न थालिन् । यसले उनको रुचिलाई थप बुलन्द बनाउँदै लग्यो । 

यो क्रममा उनले संस्थाहरूको प्रविधिमा धेरै कमजोरीहरू भेटाइन् । यसले उनको अध्ययनलाई थप गहिरो बनाउँदै लग्यो । अर्कोतर्फ यो अध्ययनले उनको करियरको बाटोलाई पुन: परिवर्तन गर्दै लगिरहेको थियो । 

"बैंक तथा विभिन्न संस्थाहरूको अडिटिङ गर्दा मैले मेरो आफ्नै व्यक्तिगत हिसाबले उनीहरूको सफ्टवेयरहरूको अध्ययन गर्न थाले । मलाई उनीहरूले प्रयोग गर्ने प्रविधिमा धैरै कमजोरी छ जस्तो लाग्यो," उनले भनिन्, "यसपछि मैले मेरो प्रश्नको जवाफ खोज्ने क्रममा रिगो टेक्नोलोजीको बारेमा पत्ता लगाएँ, जहाँबाट मेरो बाटो नै मोडियो ।"

प्रविधि सम्बन्धी जान्ने इच्छालाई पछ्याउँदै अनिमा रिगोमा पुगिन्, जहाँ उनले इन्फर्मेसन सेक्युरिटी अडिटको विषयमा जान्ने र सिक्ने मौका पाइन् । 

आईटी अडिटरले विशेषत: कम्पनीले प्रयोग गर्ने सफ्टवेयर, प्रोग्रामिङ, नेटवर्क लगायत प्रयोग गरिरहेको प्रविधिको अडिट अथवा परीक्षण गर्ने गर्दछ । आजको समय प्रविधिमा अभ्यस्त भइसकेको छ । हरेक क्षेत्रमा प्रविधिको उच्च प्रयोग भइरहँदा यसको सुरक्षाको विषय पनि उत्तिकै महत्त्वपूर्ण रहेको उनी बताउँछिन् । 

यही क्रममा उनले सर्टिफाइड इन्फर्मेसन सिस्टमस् अडिटर (सीआईएसए 'CISA') को प्रमाणीकरण पनि पाइसकेकी छन् । यो प्रमाणीकरण विश्वकै उच्च स्तरको साइबर सुरक्षासँग सम्बन्धित प्रमाणीकरण हो । 

यसरी उनी प्रविधिको दुनियाँमा आइन्, जहाँ अहिले उनी औँलामा गिन्ती गर्न सकिने महिला आईटी अडिटरको सूचीमा छिन् । 

"महिलाहरू अझै पनि यो क्षेत्रमा आउन सकेका छैनन्," उनी भन्छिन्, "अहिले पनि म बजारमा निस्कँदा पुरुष आईटी अडिटरहरू नै पाउँछु र आजसम्म मेरो भेट कुनै महिला आईटी अडिटरसँग भएको छैन ।" 

नेपाली समाजमा महिलाको लागि अहिले पनि प्राविधिक क्षेत्रमा काम गर्न सहज नभएको उनको भोगाइ छ । आफूले काम सुरु गर्दै गर्दा आफ्ना क्लाइन्टहरूले आफूलाई नपत्याउनेदेखि लिएर आफ्ना समकक्षी अन्य पुरुष आईटी अडिटरको बीचमा प्रतिस्पर्धा गर्न असहज हुनेसम्मका उनका अनुभवहरू छन् । 

"क्लाइन्टहरूलाई उनीहरूको सिस्टमको बारेमा मैले भनेका कति कुराहरू विश्वास नै हुँदैन थियो," उनी भन्छिन्, "मेरो कुरा सुन्थेनन् । मलाई प्राथमिकता पनि दिँदैन थिए । यस्तो वातावरणमा काम गर्नु आफैँमा चुनौतीपूर्ण थियाे ।" 

महिला भएकै कारण प्राविधिक क्षेत्रमा भाेग्नुपर्ने चुनौती यति मात्रै होइन । विशेषगरी आईटी अडिटको क्षेत्रमा महिलाका लागि केही पनि छैन, डेभलपर, कोडिङ भन्ने कुरा पुरुषलाई मात्र सुहाउने कुरा हो भन्ने नेपाली समाजको अवधारणा छ । यसले गर्दा धेरै महिलाहरूको दिमागमा पनि यही छ, जसले गर्दा उनीहरू आफैँमा पनि 'म गर्न सक्छु' भन्ने सोचको कमी भएको उनको अनुभवले बताउँछ । 

"अहिले पनि कति महिलाहरू अफिसमा इन्टरभ्युको लागि आउँछन् । हामीले प्रश्न गर्दै जाँदा उनीहरूको आत्मविश्वास उल्टो कम पो हुँदै जान्छ । कतिलाई त मैले गर्न सक्दिनँ रहेछु भन्ने लाग्छ, जुन कदापि होइन," उनी भन्छिन् ।  

थोरै संख्यामा नै भएपनि आईटी क्षेत्रमा महिलाको सहभागिता हुनुलाई उनी राम्रो उपलब्धि मान्छिन् र यो संख्या थप बढ्दै जानेमा विश्वास पाेख्छिन् । यद्यपि यही चुनौतीका बीच पनि धेरै अवसर देख्छिन् अनिमा ।

आजको दिनमा आईटी सेक्टरमा काम गर्न महिलाहरूलाई धेरै गाह्रो नभएको उनी सुनाउँछिन् । यो क्षेत्रमा धेरै रोल मोडेल त छैनन्, तर पनि काम गर्नको लागि र सिक्नको लागि भने धेरै संस्थाहरूले तालिम दिइरहेको उनी बताउँछिन् । 

"अहिले त सिक्न चाहनेका लागि धेरै अवसर छ, साथै बजारमा पनि राम्रो छ । पहिलेको जस्तो गाह्रो पनि हुन्न," उनी भन्छिन्, "साइबर सुरक्षामा विस्तारै महिलाको सहभागिता र रुचि बढ्दै गइरहेको छ, जुन राम्रो कुरा हो ।"

देशको सन्दर्भमा भने अझै पनि सरकारकाे प्राथमिकतामा याे क्षेत्र पर्न नसकेकाे उनको बुझाइ छ । संसार प्रविधिमा अभ्यस्त भइरहँदा यसरी प्रयोग हुने प्रविधिको सुरक्षाको प्रत्याभूत गर्न जरुरी रहेको उनी बताउँछिन् ।

पछिल्लो अध्यावधिक: फागुन २६, २०७९ १३:४८