काठमाडौं । करिब सात वर्षपछि फेयरफोनको सेकन्ड जेनेरेसनको एन्ड्रोइड स्मार्टफोनले अन्तिम सफ्टवेयर अपडेट पाएको छ । कम्पनीका अनुसार उक्त फोनले आफ्नो अन्तिम सफ्टवेयर अपडेटका रूपमा एन्ड्रोइड १० अपडेट पाएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यम द भर्जले उल्लेख गरे अनुसार फेयरफोन टु'ले ४३ ओटा सफ्टवेयर अपडेट र सात वर्षपछि एन्ड्रोइड १० भर्सन पाएको हो । सन् २०१५ मा सार्वजनिक भएको यस फोनमा एन्ड्रोइड फाइभ अपेटिङ सिस्टम (ओएस) थियो । यसैबीच कम्पनीले गत वर्ष नै सफ्टवेयर अपडेट उपलब्ध गराउन बन्द गर्ने घोषणा गरेको थियो ।
एन्ड्रोइड १० उक्त फोनका लागि नयाँ अपडेट भए पनि प्रयोगका हिसाबले निकै पुरानो सफ्टवेयर अपडेट मानिन्छ । यसो त अन्य स्मार्टफोन निर्माता कम्पनीहरूले पाँच वर्षको समयावधिसम्म मात्र सफ्टवेयर अपडेट उपलब्ध गराउँछन् ।
विशेषगरी सामसङ, गुगल र वनप्लसका फोनमा प्रयोग गरेको पाँच वर्षपछि नयाँ सफ्टवेयर तथा सेक्युरिटी अपडेट आउन छाड्छ । फेयरफोनले भने डिभाइस सार्वजनिक भएको सात वर्षसम्म सफ्टवेयर र सेक्युरिटी अपडेट उपलब्ध गराएको छ ।
एप्पलको कुरा गर्ने हो भने पनि आईओएस १६, सन् २०१७ मा सार्वजनिक भएको आईफोन ८ पछिका फोनमा मात्र उपलब्ध छ । त्यसैले फेयरफोनले उपलब्ध गराएको सफ्टवेयर तथा सेक्युरिटी अपडेट नै सबैभन्दा लामो समयसम्म उपलब्ध गराइएको अपडेट हो ।
कम्पनीका अनुसार यो वर्ष १५ हजार बढी प्रयोगकर्ताले फेयरफोन टु स्मार्टफोन प्रयोग गर्छन् । यसको अर्थ अब फोन चल्दै नचल्ने भन्ने चाहिँ होइन । तर फोनमा जति पनि सुरक्षा कमजोरी वा अन्य किसिमका कमजोरी छन् ती सुधार हुँदैनन् । कम्पनीले आफ्ना प्रयोगकर्तालाई सो फोनमा मे २०२३ पछि संवेदनशील डेटाको एक्सेस लिने एप प्रयोग नगर्न सुझाव दिएको छ ।