काठमाडौं । विश्वको पहिलो थ्रीडी प्रिन्टेड रकेट आज शनिबार अमेरिकास्थित फ्लोरिडाबाट प्रक्षेपण हुँदैछ । ‘टेरान वान’ (Terran 1) नाम दिइएकाे याे रकेट रिलेटिभिटी स्पेसले तयार पारेकाे हाे ।
साे कम्पनीले सबैभन्दा ठूलो थ्रीडी मेटल प्रिन्टरका सहायताले यो रकेट निर्माण गरेको दाबी गरेकाे छ । रकेटको लम्बाइ ११० फिट छ, जसको ८५ प्रतिशत भाग थ्रीडी प्रिन्टरका माध्यमबाट तयार परिएको छ । ६० दिनमा यो रकेटको विभिन्न भाग निर्माण गरेकाे कम्पनीकाे दाबी छ ।
कम्पनीले यसअघि गत बुधबार (मार्च ८) मा रकेट प्रक्षेपण गर्ने तयारी गरेपनि इन्धनकाे तापक्रममा समस्या आउँदा प्रक्षेपण रद्द गर्नुपर्ने अवस्था आएको थियो । यसपछि शनिबार नेपाली समय अनुसार शनिबार राति पौने १२ बजेदेखि पौने तीन बजेबीच रकेटकाे प्रक्षेपण गर्ने तयारी भएकाे हाे ।
रकेटले एक हजार २५० किलो तौल भएको स्याटलाइट पृथ्वीको लो अर्बिटसम्म पुर्याई डेटा संकलन गर्ने बताइएकाे छ ।
हरेक पाटपुर्जा एसेम्बल गरी तयार पारिने परम्परागत प्रविधिलाई कम्पनीले विस्थापित गर्दै थ्रीडी प्रिन्टरका माध्यमबाट एकैपटक निर्माण गर्नतर्फ केन्द्रित छ । जसले गर्दा ११ वर्षभन्दा बढी समय लाग्ने रकेट निर्माणको कामलाई साढे पाँच वर्षमा झारेकाे कम्पनीको दाबी छ ।
रिलिटिभिटी स्पेसले तयार पारेको उक्त थ्रीडी मेटल प्रिन्टरले थ्रीडी धातुका सामग्री प्रिन्ट गर्न सक्छ । कम्पनीले यही प्रिन्टरका माध्यमबाट सिङ्गो रकेट नै तयार पारेको हो । रकेटमा भएको फ्युल ट्याङ्क, इन्जिन लगायत अन्य विभिन्न पाटपुर्जा थ्रीडी प्रिन्टरले नै निर्माण गरेको छ ।
कम्पनीका अनुसार यसमा अल्मुनियम धातुलाई ६६० डिग्री सेल्सियस मेल्टिङ तापक्रममा तताएर पग्लाइन्छ । त्यसपछि थ्रीडी प्रिन्टरले सफ्टेयरमा राखिएको डिजाइन अनुसार रकेटमा प्रयोग हुने विभिन्न पाटपुर्जाको बनाउन सुरु गर्छ । यस प्रिन्टरका माध्यमबाट हरेक सेकेन्ड १० इन्च थ्रीडी प्रिन्ट हुने कम्पनीको दाबी छ ।
Player ready? Yup. Our next launch attempt window is confirmed for this Saturday, March 11 from 13:00 – 16:00 ET. #GLHFpic.twitter.com/lBXCm9nNeG
पछिल्लो समय रकेट प्रक्षेपणको खर्च कटौती गर्न विश्वका ठूला-ठूला कम्पनी अग्रसर छन् । स्पेसएक्स तथा ब्लु होराइजनजस्ता एरोस्पेस कम्पनीले रकेट प्रक्षेपणको खर्च कम गर्न पुनः प्रयोग गर्न सकिने रकेट तयार पारेका छन् ।
तर, यी कम्पनीले रकेट बनाउनका लागि परम्परागत प्रविधिको प्रयोग गरेका छन् । जसले गर्दा निर्माण खर्च बढी परिरहेको हुन्छ ।
रकेटमा विशेषगरी चार प्रमुख प्रणाली हुन्छन् । पेलोड (Payload), गाइडेन्स (Guidance), स्ट्रक्चरल (Structural) र प्रोपल्सन (Propulsion) प्रणाली ।
रकेटको अधिकांश भाग प्राेपल्सन प्रणालीबाट बनेको हुन्छ । यसमा विशेषगरी लिक्विड अक्सिजन ट्याङ्क, लिक्विड फ्युल ट्याङ्क, फाइभ एफ वान इन्जिन प्राेपल्सन प्रणाली अन्तर्गत पर्छन् । यी पाटपुर्जा परम्परागत शैलीबाट बनाउन खोज्दा लागत, जनशक्ति र समय धेरै लाग्छ ।
रकेट जटिल तथा ठूलो इन्जिनियरिङ प्रोजेक्टभित्र पर्छ । रकेट निर्माण गर्न परम्परागत विधि अन्तर्गत सबैभन्दा पहिले रकेट बनाउने टुल निर्माण गर्नुपर्ने हुन्छ । उदाहरणका लागि नासाको रकेट बनाउन सबैभन्दा पहिले 'द स्पेस लन्च सिस्टम' बनाइएको थियो ।
यसका लागि सबैभन्दा पहिले भर्टिकल एसेम्ब्ली सेन्टर (भीएसी) बनाइएको थियो । यो एउटा १७० फिट अग्लो टुल जो रकेटको फ्युल ट्याङ्कका लागि डोम, रिङ, ब्यारल सेक्सन वेल्डिङ गर्न काम लाग्छ ।
रकेट निर्माण गर्नुअघि यही सिस्टमलाई तयार पार्न टुल बनाउनै धेरै समय, जनशक्ति र खर्च लाग्छ । यसरी हरेक प्रणालीका लागि छुट्टाछुट्टै काम गर्नुपर्दा एउटा रकेट बनाउन ११ वर्षसम्म लाग्ने गरेको इन्टरनेट रकेट साइन्टिस्ट स्कट म्यानलीले एक सञ्चार माध्यमलाई अन्तर्वार्ता दिँदै भनेका छन् ।
प्रक्षेपणकाे लाइभ युट्युबबाट नेपाली समयअनुसार शनिबार राति १०ः४५ देखि हेर्न सकिन्छ ।