काठमाडौं । कम्पनीका लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ) पद महत्त्वपूर्ण हुन्छ । सीईओ जति महत्त्वपूर्ण पद छ, उक्त पदमा रहने व्यक्ति पनि त्यत्तिकै महत्त्वपूर्ण हुन्छन् । त्यसैले कम्पनीका लागि उनीहरूको सीईओको सरक्षा र सुविधा उच्च प्राथमिकतामा पर्छ ।
प्रविधि सम्बन्धी केही कम्पनीहरूले आफ्ना शीर्ष कर्मचारीको सुरक्षाका लागि कति खर्च गर्छन् भन्ने कुरा बाहिरिएको छ । यसमा अंगरक्षक (बडिगार्ड), उनीहरू बस्ने ठाउँमा सुरक्षा प्रणाली स्थापना गर्ने, र यातायातका लागि निजी जेटहरू उपलब्ध गराउन लाखौं डलर खर्च गरेका छन् ।
यहाँ अमेरिकी सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसन र इन्साइडरले सार्वजनिक गरेको रिपोर्टका आधारमा कुन प्रमुख प्रविधि कम्पनीले आफ्नो सीइओको सुरक्षाका लागि कति खर्च गर्छन् भन्ने विषयमा जानाकरी दिइएको छ ।
१) मार्क जुकरबर्ग (सीईओ-मेटा)
मेटाका सीईओ मार्क जुकरबर्गलाई उनको कम्पनीले आर्थिक वर्ष २०२१ मा कूल २ करोड ६८ लाख २३ हजार ६१ डलर बढी भुक्तानी गरेको थियो । जसमा उनको तलब १ डलर र बाँकी २ करोड ६८ लाख २१ हजार ६० डलर अन्य विविध कामका लागि खर्च स्वरुप दिएको थियो ।
यो रकममा १ करोड ५१ लाख ९५ हजार १०३ डलर उनको सुरक्षा खर्च समावेश गरिएको छ । त्यस्तै उनले १ करोड डलर परिवार तीनका सुरक्षामा खर्च गरेका छन् । त्यस्तै जुकरबर्गको सुरक्षाका लागि १६ लाख २७ हजार ९५७ डलर नीजि विमानमा खर्च भएको छ ।
इन्साइडरको अनुसन्धानका अनुसार जुकरबर्गलाई सात दिन २४ घण्टा सुरक्षाका लागि बडिगार्ड खटिएका हुन्छन् । त्यसबाहेक उनको कोठामा पनि विशेष सुरक्षा सावधानी अपनाइएको हुन्छ ।
२) सुन्दर पिचाइ (सीईओ गुगल)
गुगलका सीईओ सुन्दर पिचाइले भत्ताका रूपमा आर्थिक वर्ष २०२१ मा कुल ६३ लाख २२ हजार ५९९ डलर आम्दानी गरेका थिए ।
यस आम्दानीमा ४३ लाख ९ हजार ५८३ डलर उनको व्यक्तिगत सुरक्षाका लागि खर्च भएको कम्पनीले उल्लेख गरेको छ ।
३) जेफ बेजोस (सीईओ-अमेजन)
अमेजनका संस्थापक तथा सीईओ जेफ बेजसले आर्थिक वर्ष २०२१ मा कुल १६ लाख ८१ हजार ८४० डलर भत्ता पाएका थिए । जसमा कम्पनीले १६ लाख डलर उनको सुरक्षाका लागि खर्च गरेको थियो ।
जनवरी २०१९ मा कम्पनीले बेजसको अफिसको बाहिरी भाग १ लाख ८० हजार खर्च गरेर बुलेटप्रुफ बनाउने प्रतिबद्धता दिएको थियो ।
४) ल्यारी एलिसन (सीईओ ओराकल)
कम्प्युटर प्रविधिसँग सम्बन्धित कम्पनी ओराकल (oracle) का सीईओ ल्यारी एलिसनले आर्थिक वर्ष २०२२ मा कुल १२ करोड ८६ लाख ५२ हजार ६३ डलर भत्ता पाएका थिए । जसमा १ करोड ५६ लाख ४ हजार ३९४ डलर उनको व्यक्तिगत सुरक्षाका लागि खर्च भएको थियो । त्यसबाहेक पनि एलिसनले आफ्नो सुरक्षाका लागि छुट्टै खर्च गरिरहेका हुन्छन् ।
५) टिम कुक (सीईओ- एप्पल)
एप्पलका सीईओ टिम कुकले आर्थिक वर्ष २०२२ मा ९ करोड ९४ लाख २० हजार ९७ डलर भत्ता पाएका थिए । जसमा ७ लाख ६७ हजार ३१९ डलर नीजी विमान प्रयोग र ५ लाख ९१ हजार १९६ डलर सुरक्षाका लागि खर्च भएको कम्पनीले उल्लेख गरेको छ ।
६) टेड सारान्डोस (Ted Sarandos) (सीईओ नेटफ्लिक्स)
नेटफ्लिक्सका सह-प्रमुख कार्यकारी अधिकृत (को-सीईओ) टेड सारान्डोसले आर्थिक वर्ष २०२१ मा कुल ३ करोड ८२ लाख ३२ हजार १६४ डलर कम्पेन्सियसन पाएका थिए । जसमा उनको सुरक्षाका लागि कम्पनीले ८ लाख ९२ हजार ५७३ डलर सुरक्षाका लागि खर्च गरेको थियो ।