close

ग्यालेक्सी एस २३ बाट खिचिएको भन्दै सामसङले प्रचार गरेको चन्द्रमाको फोटो नक्कली !

टेकपाना टेकपाना

फागुन ३०, २०७९ ११:५७

ग्यालेक्सी एस २३ बाट खिचिएको भन्दै सामसङले प्रचार गरेको चन्द्रमाको फोटो नक्कली !

काठमाडौं । पछिल्लो समय सार्वजनिक भएको सामसङ एस२३ अल्ट्राले चन्द्रामाको प्रस्ट फोटो खच्ने भन्दै प्रशंसा बटुलेको छ । तर, सामसङको उक्त फोनले खिचेको फोटो वास्तविक नभएर  आर्टिफिसियल इन्टेलिजेन्स​ (एआई) ले तयार पारेको भन्ने आरोप लागेको छ ।

अहिले सामाजिक सञ्जाल रेडइटमा 'आइब्रेक फोटोज' (ibreakphotos) नाम भएका प्रयोगकर्ताले यसबारे गरेको विस्तृत अनुसन्धानको पोस्ट भाइरल छ, जसमा एस२३ अल्ट्राको क्यामेराले कसरी चन्द्रमाको फोटो कत्तिको प्रशोधन गर्छ भनेर खुलासा गरिएको छ ।

उनले प्रमाणसहित सामसङ एस२३ अल्ट्राले कसरी चन्द्रमाको नक्कली फोटो खिच्छ भन्ने प्रमाण खुलाएका छन् । क्यामेराले वास्तविक फोटो जस्तो खिच्छ, त्यसमा एआईको सहायताले क्षणभरमै एडिट गरेर डिटेल जुम फोटो खिच्ने उनको आरोप छ ।

के हो सामसङले खिचेको चन्द्रमाको नक्कली फोटोको वास्तविकता ?

यस सन्दर्भमा 'नक्कली' भन्नुको अर्थ के हो त ? यो एउटा कठिन प्रश्न हो । झट्ट हेर्दा कम्पनीले गलत फोटो राखेको हो कि भन्ने जिज्ञासा लाग्न सक्छ । तर, यसबारे रेडइट प्रयोगकर्ताको पोस्टले प्रस्ट बनाएको छ ।

विगतमा नक्कली फोटो भन्नाले डिजिटल क्यामेरा, फोटोशप, इन्स्टाग्राम फिल्टरहरू र थप कुरा समावेश भएका फोटोलाई नक्कली भन्ने प्रचलन थियो । अहिले सामसङको सन्दर्भमा यसरी परिभाषा फरक भएको छ ।

'आईब्रेक फोटोज' नामका प्रयोगकर्ताले सामान्य तरिकाले सामसङको परीक्षण गरेका छन् । यसमा उनले जानेरै कम्प्युटरमा चन्द्रमाको ब्लर फोटो राख्छन् । त्यसपछि यसलाई सामसङ एस२३ अल्ट्राको क्यामेराले फोटो खिच्छ । तर, वास्तवमा ब्लर भएको उक्त फोटो प्रस्ट देखिन्छ ।

सामसङ एस२३ अल्ट्राको सिस्टमले उक्त फोटोमा नभएकै डिटेल थपिदिन्छ । यो फोटोमा रहेका पिक्सेललाई 'अप स्केल' गर्नुपर्ने वा फोटोबाट हराएका डेटा रिकभर गर्नुपर्ने थिएन । यसमा केबल चन्द्रमाको वास्तविक फोटो खिच्नु थियो । तर, वास्तविक  र डिटेल फोटो खिच्ने नाममा फोनले थप डिटेल समावेश गरिदिएको छ ।

यस्तो छ रेडइट प्रयोगकर्ताले कम्प्युटरमा देखाएको ब्लर फोटो 

क्यामेराले खिचेको फोटो

No description available.

नक्कली फोटोको यो नयाँ विवाद भने होइन । कम्पनीले सन् २०२० मा १०० गुणा जुम क्षमता भएको भन्दै सार्वजनिक गरेको एस२० अल्ट्रामा पनि यो विवाद बाहिर आएको थियो । केहीले सामसङले चन्द्रमाको डिटेल फोटोमा कहीबाट टेक्स्चर कपी गरेर नयाँ फोटोमा पेस्ट गर्ने गरेको आरोप पनि लगाएका छन् ।

यो आरोपलाई भने सामसङले सरासर अस्वीकार गरेको छ । सन् २०२१ मा इन्पुट म्यागजिनमा सार्वजनिक भएको 'फेक डिटेल्ड मन फोटोज" शीर्षकको समाचारमा सामसङ एस२१ अल्ट्राको कुरा उल्लेख गरिएको थियो । सामसङले भने उक्त सञ्चारमाध्यमलाई सो डिभाइसले फोटो खिचिरहँदा कतैबाट पनि टेक्स्चर इफेक्ट कपी पेस्ट नगर्ने उल्लेख गरेको थियो ।

तर, कम्पनीले एआईको प्रयोग गरेर चन्द्रमा भएको पुष्टि गर्दै त्यसमा आवश्यक अनुसार ब्लर र न्वाइज (noise) को मात्रा घटाएर फोटो प्रस्ट खिचेको स्वीकार गरेको थियो । ​सामसङ एस२३ अल्ट्राको यस विवादमा भने कम्पनीले कुनै प्रतिक्रिया दिएको छैन ।

पछिल्लो अध्यावधिक: फागुन ३०, २०७९ १२:१८