close

टेलिकमका उपकरण र संरचनामा क्षति हुँदा सेवा प्रवाहमा समस्या

टेकपाना टेकपाना

फागुन ३०, २०७९ १८:३६

टेलिकमका उपकरण र संरचनामा क्षति हुँदा सेवा प्रवाहमा समस्या

काठमाडौं । नेपाल टेलिकमले देशका विभिन्न स्थानमा आफ्ना उपकरण र संरचनामा क्षति पुर्‍याउने गतिविधि भइरहेको भन्दै यसबाट सेवाग्राही मर्कामा परेको बताएको छ । पूर्वाधार निर्माण र केबल व्यवस्थापनको नाममा आफ्ना फाइबर तथा विभिन्न उपकरणमा क्षति हुँदा सेवा प्रवाहमा समस्या आएको कम्पनीको भनाइ छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले अवाञ्चित गतिविधिका कारणा अत्यावश्यक सेवाका रूपमा रहेको दूरसञ्चार सेवामा समस्या आएको उल्लेख गरेको छ । ''यस्ता अवाञ्छित गतिविधिका कारण अत्यावश्यक सेवाको रुपमा रहेको दूरसञ्चार सेवा प्रयोग गर्न पाउने सर्वसाधारणको नैसर्गिक अधिकारमा बाधा पुगिरहेको छ,'' कम्पनीको विज्ञप्तिमा भनिएको छ ।

यदि कुनै स्थानमा यसरी सेवा अवरुद्ध हुनेगरी कार्य गरिरहेको पाइएमा वा कम्पनीको संरचनामा क्षति पुर्‍याएको भेटिएमा नजिकको कम्पनीको कार्यालय तथा नजिकको सुरक्षा निकायमा खबर गर्न टेलिकमको अनुरोध गरेको छ । 

केही समययता अन्य विभिन्न जनसरोकारका निकायले पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडा कार्यालयले गर्ने केबल व्यवस्थापन कार्यका क्रममा दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकले सेवा प्रवाह गर्न निर्माण गरेका कतिपय संरचनामा क्षति पुग्ने गरेको छ ।

पछिल्लो अध्यावधिक: फागुन ३०, २०७९ १८:३६