close

युरोपको राइड हेलिङ सेवा ‘बोल्ट’ नेपालमा, ६ महिनासम्म कमिसन नलिने

टेकपाना टेकपाना

चैत १, २०७९ १८:४८

युरोपको राइड हेलिङ सेवा ‘बोल्ट’ नेपालमा, ६ महिनासम्म कमिसन नलिने

काठमाडौं । युरोप र अफ्रिकाका विभिन्न सहरहरूमा मोबिलिटी सेवा प्रदान गर्ने सुपर-एप बोल्टले नेपालमा आफ्नो राइड-हेलिङ सेवा विस्तार गरेको छ । कम्पनीले ४०० भन्दा बढी स्थानीय राइडर (ड्राइभर) सहित बुधबारदेखि काठमाडाैंमा यो सेवाको परीक्षण थालेकाे जानकारी दिएकाे हाे ।

बोल्टले आफ्नो प्लेटफर्ममा राइडरलाई आकर्षित गर्न निःशुल्क दर्ता शुल्क र कम्तीमा ६ महिनासम्म कुनै कमिसन नलिने पनि बताएको छ । साथै ग्राहकले अन्य प्रतिस्पर्धी कम्पनीको तुलनामा १५ प्रतिशत सस्तो शुल्कमा राइड सेवा दिने दाबी गरेको छ ।

राइडरहरूले रियल-टाइम ट्रिप शेयरिङका लागि ‘एसओएस बटन’, ‘शेयर माई राइड’, ‘ईन-एप कल’ कलजस्ता सुविधा पाउने कम्पनीको भनाइ छ ।

''बोल्ट भनेको ड्राइभर र यात्रुहरूलाई जोड्ने निःशुल्क मोबाइल एप्लिकेसन हो । यसमा यात्रुहरूले आफू जहाँ भएपनि आफूलाई जम्मा गरी छिटो, भरपर्दो र किफायती तरिकामा लैजान ड्राइभरलाई सहज रूपमा अनुरोध गर्न सक्नुहुन्छ,'' कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

प्लेटफर्ममा दर्ता भएका ड्राइभरहरूले एप्लिकेसनमा राइडहरू स्वीकार गरी पैसा कमाउनसक्ने कम्पनीको भनाइ छ । बोल्ट ड्राइभर बन्न इच्छुक व्यक्तिसँग कार वा मोटरसाइकल र स्थानीय नियमनद्वारा आवश्यक सबै कागजात चाहिने कम्पनीले उल्लेख गरेकाे छ ।

''बोल्ट एपले राइ डर र ड्राइभर दुवैलाई तिनीहरूको फोन नम्बरहरू खुलासा नगरी ईन-एप कल र सन्देशहरू पहुँच गर्न अनुमति दिनेछ,'' कम्पनीले भनेकाे छ ।

यात्रुले एप डाउनलाेड गर्न आईओएसका लागि यहाँ र एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् ।

''एप डाउनलोड गरी प्रयोगकर्ता प्रोफाइल सेटअप गर्छन् । यात्रुहरू राइडका लागि तयार हुँदा उनीहरूले सजिलैसँग एप खोल्छन् र आफ्नो स्थान र आफ्नो इच्छित गन्तव्य सेट गर्छन् । त्यसपछि एपले यात्राका लागि अग्रिम लागत अनुमान दिन्छ । यात्रुहरूले लागत अनुमान स्वीकार गरेपछि एपले राइड स्वीकार गर्ने नजिकैका ड्राइभरहरूलाई अलर्ट गराउँछ,'' विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीले अगाडि भनेकाे छ, ''ड्राइभरले राइड स्वीकार गरेपछि यात्रुहरू सही ड्राइभरसँग सही सवारीसाधनमा सुरक्षित रूपमा प्रवेश गर्न सकून् भनी सुनिश्चित गर्नका लागि सजिलो बनाउन यात्रुहरूले आफ्नो चालकका विवरणहरू हेर्न सक्छन् र वास्तविक समयमा ड्राइभरलाई ट्र्याक गर्न सक्छन् । राइड पूरा भएपछि भुक्तानी गरिन्छ ।''

पछिल्लो अध्यावधिक: बैशाख २, २०८१ १६:५