close

स्मार्टफोन बजारमा एप्पललाई पछि पार्ने ह्वावेको दाबी

टेकपाना टेकपाना

चैत ११, २०७९ १४:१०

स्मार्टफोन बजारमा एप्पललाई पछि पार्ने ह्वावेको दाबी

काठमाडौं । चिनियाँ कम्पनी ह्वावेका एक उच्च अधिकारीले स्मार्टफोन बजारमा एप्पललाई ह्वावेले पछि पार्ने अभिव्यक्ति दिएका छन् । ह्वावेका नयाँ उत्पादन सार्वजनिक गर्ने क्रममा शुक्रबार सो कम्पनीका चिफ अपरेटिङ अफिसर हि ग्याङ्गले एप्पलले अब स्मार्टफोन बजार गुमाउने दाबी गरे ।

कम्पनीले शुक्रबार पी६० सिरिज, मेट एक्सथ्री, इन्जोए ६०, ह्वावे वाच अल्टिमेट लगायतका डिभाइस सार्वजनिक गरेको छ । सोही अवसरमा ग्याङ्गले ह्वावेका नयाँ फोनका कारण एप्पलको बजार हिस्सा घट्ने दाबी गरेका हुन् ।

आईफोनमा भन्दा ह्वावे स्मार्टफोनमा उच्च स्तरको फिचर र प्रविधि प्रयोग भएको उनको तर्क छ । उनले ह्वावेको फोनमा सिग्नल र लेटेन्सी आईफोन १४ प्रो म्याक्सको भन्दा राम्रो भएको बताए ।

साथै ह्वावे पी६० सिरिजका स्मार्टफोनमा प्रयोग गरिएको टेन स्टेप एपर्चरले क्यामेरामा पर्ने प्रकाश आईफोन १४ प्रो म्याक्सको तुलनामा १९१ प्रतिशतले बढी हुने उनले दाबी गरे ।

यो डिभाइसमा सुपर फोकस नाइट भिजन टेलिफोटो लेन्स पनि छ । यस लेन्सको क्षमता आईफोन १४ प्रो म्याक्सको तुलनामा ४८८ प्रतिशतले बढी भएको उनको भनाइ छ ।

यस्ता फिचरका कारण आईफोनको तुलनामा ह्वावे उत्कृष्ट हुने ग्याङ्गको विश्वास छ ।

पछिल्लो समय विश्वको शीर्ष मोबाइल फोन ब्रान्ड बनेको आईफोनलाई टक्कर दिन व्यवहारिक रुपमा भने चुनौती नै हुनेछ । विभिन्न देशमा प्रतिबन्ध खेपेको ह्वावेले पुरानो बजार गुमाएको छ ।

यद्यपि चिनियाँ बजारमा भने यसको प्रभाव विस्तार बलियो हुँदै गएको छ । विशेषगरी ह्वावेले नयाँ प्रविधिसँगै फोल्डेबल स्क्रिनको साथमा सफलता हासिल गरेको छ । जब कि एप्पल यी प्रविधिहरूमा अगाडि बढ्न सकेको छैन ।

पछिल्लो अध्यावधिक: चैत ११, २०७९ १४:१०