close

सवारी साधनको ट्र्याकिङ गर्न सघाउने नेपाली एप ‘लुना जीपीएस’

सञ्जीवन राई सञ्जीवन राई

चैत १३, २०७९ १९:१५

सवारी साधनको ट्र्याकिङ गर्न सघाउने नेपाली एप ‘लुना जीपीएस’

काठमाडौं । ‘लुना जीपीएस’ नामक एपबाट सार्वजनिक सवारी साधनहरूको ट्रयाक गर्न सकिने भएको छ । जीपीएस ट्रयाकिङ सिस्टम निर्माता लुना जीपीएसले आफ्नो एपमा नयाँ अपडेट गर्दै यस्तो फिचर थपेको हो । अब कुनै पनि यात्रीले ‘लुना जीपीएस’को प्रणालीमा जोडिएका सवारी साधन मोबाइलबाटै ट्रयाक गर्नसक्ने छन् ।

विभिन्न सार्वजनिक यातायातमा जडान गरिएको आफ्नो जीपीएस प्रणालीको फाइदा यात्रीहरूले पनि लिउन् भनेर एपमा नयाँ फिचर ल्याएको कम्पनीका संस्थापक सुमन पौडेलले बताए । एपमा यस फिचर थपिएपछि यात्रुहरूले सवारी साधनहरूको ट्रयाक गर्न कुनै अकाउन्ट बनाउनु नपर्ने उनकाे भनाइ छ । 

“यसअघि एपको पुरानो भर्सनमा ट्रयाक गर्न नयाँ प्रयोगकर्ताले साइनअप गर्नुपर्ने हुन्थ्यो,” उनले भने, “नयाँ अपडेटपछि उहाँहरूले एपमा जानासाथ सवारी साधनहरूको गतिविधि सिधै हेर्न सक्नुहुन्छ ।” 

अब यात्रुले एपमा जानासाथ इन्टरफेसमा ‘सार्वजनिक सवारीसाधन’, ‘व्यक्तिगत सवारीसाधन’ र ‘स्कुलको सवारीसाधन’ गरी तीन ओटा विकल्प देख्न सक्छन् । तीमध्ये सबैभन्दा माथि रहेको ‘सार्वजनिक सवारीसाधन’ मा क्लिक गरेर सवारी ट्र्याक गर्न सकिने संस्थापक पौडेलले बताए ।

May be an image of text

 

कसरी काम हुन्छ ?

यदि कुनै सवारीसाधनमा यो प्रणाली जडान गरिएको छ भने यात्रुले सवारी कहाँ कुदिरहेका छन्, कहाँ पुगे, कतै जाममा परे कि जस्ता विभिन्न जानकारी एपमार्फत नै हेर्न सक्नेछन् । त्यस्तै याे प्लेटफर्मबाट ट्राफिक व्यवस्थापनमा पनि सहयोग पुग्ने पौडेलको भनाइ छ ।

“हाम्रो प्लेटफर्मबाट जाम भएका ठाउँहरू हेर्न सकिन्छ,” उनले भने, “सबै ठाउँमा ट्राफिक प्रहरीलाई राख्न सकिँदैन । त्यस्तै कतिपय ठाउँमा नेटवर्कले काम गर्दैन । तर हाम्रो प्लेटफर्मबाट नेटवर्कले काम नगरे पनि कहाँ जाम भयो, त्यो तुरुन्त हेर्न सकिन्छ ।”

कुनै सवारीसाधन नेटवर्क नभएको ठाउँमा गाडी गएपनि जीपीएस डिभाइसले काम गर्ने र ‍पछि नेटवर्कमा जोडिएपछि ती डेटा रिस्टोर हुने उनले उल्लेख गरे । ट्र्याकिङका लागि प्रयोग भएका सबै डिभाइसहरू टुथ्री/थ्रीजीमा पनि काम गर्ने उनकाे भनाइ छ ।

‘अहिले लुना जीपीएसको एपबाट नेपालका ५० बढी सार्वजनिक यातायातहरूको ट्रयाक गर्न सकिन्छ, उनले भने, ‘जसमा बढी जसो धनगढी, नेपालगञ्ज र विराटनगरबाट काठमाडौं आउने गाडीहरू ‍रहेका छन् । तर यदि गाडी पार्किङ गरिरहेको छ, गुडिरहेको छैन भने ती गाडीहरू आफ्नो प्रणालीमा देखिँदैन । त्यस्तै आफ्नो प्रणालीमा निजी सवारीहरू भने ७५० बढी रहेको उनले बताए । 

May be an image of map and text

नयाँ अपडेटपछिको फरक

यस नयाँ अपडेटसँगै एपमा यात्रु र सवारीसाधन मालिकले हेर्ने प्यानल फरक हुनेछ । त्यस्तै विद्यालयका सवारी साधनहरूका लागि छुट्टै प्यानल बनाइएको छ । यसले गर्दा प्रयोगकर्ताहरूले आफ्नो आवश्यकता अनुसार सुरुमा नै कुन उद्देश्यका लागि एप चलाउने निर्क्यौल गर्न सक्छन् ।

“यात्रुले गाडी कहाँ छ, कहाँ कुदिरहेको छ जस्ता सामान्य जानकारी मात्र हेर्न मिल्छ,” उनले भने, “तर सवारीसाधन मालिकले गाडीले कति दूरी पार गर्यो, गति कति थियो, कहाँ कहाँ तेल हालियो, कति इन्धन खपत भयो जस्ता सूचनाहरू हेर्न सक्छन् ।” उनी आफ्नो यस प्लेटफर्म बढी जसो गाडी मालिकलाई फाइदाजनक हुने बताउछँन् । 

नेपालमा सवारी साधनहरूको ट्रयाकिङका लागि लुना जीपीएसले आफ्नो प्रणाली बिक्री गर्ने गरेको छ । हाल कम्पनीले यस प्रकारको सेवा दिइरहेको छ:

दुई पाङ्ग्रे सवारीसाधन

कम्पनीले दुई पाङ्ग्रे सवारीमा आफ्नो प्रणाली जडान गर्नका लागि पाँच हजार रूपैयाँ शुल्क लिन्छ । यसअन्तर्गत ग्राहकले एक वर्षको वारेन्टी पाउँछन् । तर प्रत्येक वर्ष सफ्टवेयर नवीकरण गर्दा एक हजार रूपैयाँ तिर्नुपर्ने हुन्छ । 

ट्रक वा अन्य चार पाङ्ग्रे सवारीसाधन

यस्ता सवारीसाधनका लागि कम्पनीले आठ हजार ५०० सय रुपैयाँ शुल्क लिने गरेको छ । यसअन्तर्गत कम्पनीले तीन वर्षको वारेन्टी उपलब्ध गराउँछ । यस सेवामा पनि नवीकरणको शुल्क एक हजार रुपैयाँ रहेको छ ।

सार्वजनिक सवारी साधन

अहिले लुना जीपीएसले कालो नम्बर प्लेट भएका अर्थात् सार्वजनिक सवारी साधन (ढुवानी बाहेक)लाई आफ्नो सेवा मासिक ५०० रुपैयाँमा मात्र उपलब्ध गराइरहेको छ । यसअन्तर्गत सवारीसाधनहरूमा कम्पनी आफैंले आफ्नो डिभाइस जडान गर्ने गर्छ ।

त्यसको भाडा रकम स्वरुप सवारी साधन मालिकसँग थोरै शुल्क लिने गरेको संस्थापक पौडेलले बताए । यद्यपि सार्वजनिक सवारीसाधन मालिकले यो सेवा आफैं राख्न चाहे कम्पनीले साढे १२ हजार शुल्क लिने गर्छ, जसमा पाँच वर्ष वारेन्टी दिइन्छ ।

May be an image of map and text that says '9:17 AM डाटा: ma ma1kha 903 Sped: 17 m/h Time: 79/12/07 10:13:31 AM Baitadi Shikha Durgasthan Patan Silanga Nawa Bagarkot Amarg Ashigram देखि: 2079/12/08 सम्म: 2079/12/09 ओके'

पछिल्लो अध्यावधिक: चैत १३, २०७९ १९:३७