close

च्याटजीपीटीको बोर्डबाट किन बाहिरिएका थिए एलन मस्क ?

टेकपाना टेकपाना

चैत १४, २०७९ ९:८

च्याटजीपीटीको बोर्डबाट किन बाहिरिएका थिए एलन मस्क ?

काठमाडौं । टेस्ला तथा स्पेसएक्सका संस्थापक एलन मस्क विभिन्न कारणले चर्चामा आइरहने व्यक्ति हुन् । पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रतिको धारणाले उनी चर्चामा छन् । 

यसो त एआई मानवताको अहितमा भएको धारणा राख्ने मस्क नै अहिले सर्वाधिक चर्चामा आएको कम्पनी 'ओपनएआई'का संस्थापक तथा बोर्ड सदस्य थिए । 

एआई प्रविधिका माध्यमबाट मानवताको हितमा समर्पित गर्ने योजनाका साथ स्थापना भएको कम्पनीबाट मस्कले सन् २०१८ मा नै आफ्नो पदबाट राजीनामा दिएका थिए । 

उनले टेस्लासँग 'कन्फ्लिक्ट अफ इन्ट्रेस्ट'को कारण देखाउँदै राजीनामा दिएको खबर बाहिर आएको थियो । तर, भित्रि वास्तविकता भने फरक रहेको सेमाफोरको एक रिपोर्टले देखाएको छ ।

सो रिपोर्टका अनुसार उनी ओपनएआईलाई आफ्नो एकलौटी बनाउन चाहन्थे, जुन काम गर्न उनले सकेनन् । यसपछि उनी आफै कम्पनीबाट बाहिरिए । यस घटनालाई नजिकबाट नियालेका व्यक्तिले सेमाफोरलाई भने अनुसार मस्कले साम अल्टम्यान र अन्य संस्थापकलाई आफ्नो कम्पनी एआई प्रविधि विकासमा गुगलभन्दा पछाडि रहेको धारणा राखेका थिए । 

जसका लागि उनले कम्पनीको सम्पूर्ण जिम्मेवारी आफूले लिने र आफैले नेतृत्व गर्ने प्रस्ताव राखे । तर, अल्टम्यान र अन्य सहसंस्थापकले मस्कको प्रस्ताव अस्वीकार गरे । 

आफूले चाहे अनुसार कम्पनी नचल्ने भएपछि उनले तत्कालै बोर्ड सदस्य लगायत अन्य पदबाट राजीनामा दिएका थिए । तर, उनले कम्पनीलाई अनुदान दिइरहेका थिए ।

मस्कले भने आफू यही कारणले कम्पनीबाट बाहिर निस्केको भनेर कतै खुलाएका छैनन् । उनी अहिले ओपन एआईको प्रशंसा कम र आलोचना बढी गर्दै आएका छन् । ओपनएआईले गर्न चाहेका केही पनि कुरामा आफू सहमत नभएको अभिव्यक्ति दिदैँ आएका छन् । 

अहिलेको अवस्थामा ओपनएआई एआईको अनुसन्धानमा अग्रपङ्क्तिमा रहेको छ । जसको फलस्वरूप कम्पनीले ड्याल-ई, च्याटजीपीटी तथा जीपीटी फोर जस्ता महत्त्वपूर्ण तथा चर्चित परियोजनाहरूमा काम गरिरहेको छ । 

सन् २०१५ मा एक गैरनाफामुखी संस्थाका रूपमा स्थापना भएको यो कम्पनी पछिल्लो समय नाफामा केन्द्रित छ । यही कारणले पनि मस्कले ओपन एआईको बारम्बार आलोचना गरिरहेका छन् । कम्पनी गैरनाफामुखी र मानवताको हितभन्दा विपरीत मोडमा रहेको भन्दै मस्क ओपन एआईको आलोचना गरिरहन्छन् । 

आलोचना गर्दै मस्कले एक पटक भनेका थिए, "ओपनएआईलाई गुगलको काउन्टरवेटको रूपमा सेवा गर्न ओपन सोर्स (खुला स्रोत), गैर-नाफामुखी कम्पनीको रूपमा सिर्जना गरिएको थियो, तर अब यो एक क्लोज्ड सोर्स (बन्द स्रोत) भएको छ र यसलाई अधिकतम नाफा कमाउने कम्पनी माइक्रोसफ्टले नियन्त्रण गरेको छ । यो मैंले चाहेको कुरा होइन ।" 

सबैभन्दा प्रमुख कुरा ओपनएआई माइक्रोसफ्टद्वारा नियन्त्रित भएको मस्कलाई मन परेको छैन । त्यसबाहेक पनि ओपनएआईप्रति मस्कका तमाम असहमतिहरू छन् ।

ओपनएआईका लागि मस्कको मनसाय अस्पष्ट छ भन्ने कुरा अनुमान गर्न गाह्रो छैन । उनी एआईका सम्भावित खतराहरूको बारेमा चेतावनी दिइरहेका हुन्छन् ।

प्रविधिको अधिक नियमन र निरीक्षणका लागि आह्वान गरिरहने मस्क आफै पनि एआईमा आधारित रोबोर्ट, विद्युतीय गाडी लगायत अन्य परियोजनामा काम गरिरहेका छन् । 

गत महिना एक ट्वीटमा उनले भनेका थिए "सुरक्षा सुनिश्चित गर्न एआई गभर्नेन्स राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा हुनुपर्छ ।"

 

पछिल्लो अध्यावधिक: चैत १४, २०७९ ९:८