close

शुल्क नतिर्ने प्रयोगकर्ताको ब्लु टिक खोस्दै ट्वीटर

टेकपाना टेकपाना

चैत १९, २०७९ १२:६

शुल्क नतिर्ने प्रयोगकर्ताको ब्लु टिक खोस्दै ट्वीटर

काठमाडौं । ट्वीटरले मासिक आठ डलर (करिब एक हजार ५० रुपैयाँ) शुल्क नतिर्ने प्रयोगकर्ताको ब्लु टिक खोस्न सुरु गरेको छ । कम्पनीले यसअघि घोषणा गरे अनुरूप शनिबारबाट शुल्क नतिर्ने प्रयोगकर्ताको भेरिफिकेसन मार्क हटाउन थालिएको हो ।

कम्पनीको नाफाका लागि एलन मस्कले नोभेम्बरमा सशुल्क ब्लु टिक फिचर उपलब्ध गराउने घोषणा गरेका थिए । आफ्नो अकाउन्टमा ब्लु टिक राख्न चाहने जो कोहीले मासिक आठ डलर तिरेर उक्त फिचर प्रयोग गर्न सक्छन् । 

यही फिचरलाई आधार बनाउँदै कम्पनीले यसअघि निशुल्क ब्लु टिक पाउने प्रयोगकर्ताबाट पनि पैसा असुल्न थालेको हो । गोल्डेन टिक पाउने संस्थाहरूले भने उक्त चेकमार्क कायम राख्न मासिक एक हजार डलर शुल्क तिर्नुपर्ने कम्पनीको भनाइ छ । 

विभिन्न सेलिब्रेटी, सार्वजनिक व्यक्तिको नाममा नक्कली अकाउन्ट बन्न थालेपछि ट्वीटरले सन् २०१९ मा भेरिफिकेसन मार्क उपलब्ध गराउन थालेको थियो । सन् २०२२ सम्म यो सेवा निशुल्क उपलब्ध थियो । 

त्यसपछि मस्कले ब्लु सब्स्क्रिप्सन लिने प्रयोगकर्तालाई यस्तो टिक वितरण गर्न सुरु गरे । तर जो कोहीले पनि पैसा तिरेर विभिन्न कम्पनी तथा चर्चित व्यक्तित्वको नक्कली अकाउन्ट बनाएर भेरिफाइ गर्ने प्रयोगकर्ता बढेपछि कम्पनीले गोल्डेन र ग्रे चेकमार्क उपलब्ध गराएको हो । 

अब भने त्यस्ता कम्पनीले मासिक एक हजार डलर नतिरेको अवस्थामा उनीहरूको चेकमार्क अकाउन्टबाट गायब हुनेछ ।  

ट्वीटरको यस्तो निर्णयलाई ट्वीटरका ठूला प्रयोगकर्ताले भने नकार्दै आएका छन् । यसअघि कम्पनीले उक्त प्लेटफर्ममा टु फ्याक्टर अथेन्टिकेसनका लागि शुल्क नतिर्ने प्रयोगकर्ताको अकाउन्टबाट यो फिचर हटाएको थियो । 

सम्भवतः शुल्क नतिर्ने प्रयोगकर्ताले पनि चाँडै ब्लु टिक गुमाउन सक्ने विश्लेषकले अनुमान गरेका छन् ।
 

पछिल्लो अध्यावधिक: चैत १९, २०७९ १२:६