काठमाडौं । सामसङले एस२३ सिरिजका प्रयोगकर्तालाई फोनमा थर्ड पार्टी कम्पनीका सामान प्रयोग नगर्न चेतावनी दिएको छ । सामसङले प्रमाणित नगरेको वा थर्ड पार्टी कम्पनीले तयार पारेको डिभाइस (एक्सेसरिज) प्रयोग गर्दा फोन बिग्रिन सक्ने भन्दै यस्तो चेतावनी दिएको हो ।
प्रयोगकर्ताले एस२३ सिरिजमा पछाडिको क्यामेरा लेन्स जोगाउन विभिन्न किसिमका प्रोटेक्टर (लेन्स सुरक्षित राख्ने उपकरण) प्रयोग गरेकाे छ । कम्पनीले आफ्नो वेबसाइटमा एउटा फोटो राख्दै अनाधिकारिक सामानले डिभाइसलाई कसरी बिगार्छ भनेर देखाएको छ ।
वेबसाइटमा थर्ड पार्टी कम्पनीले तयार पारेको लेन्स प्रोटेक्टरले कसरी लेन्समा स्क्र्याच हुने वा कोतरिने जोखिम बढी हुन्छ भन्ने देखाइएको छ । विशेषगरी लेन्स प्रोटेक्सन निकाल्दा स्क्र्याच हुने कम्पनीकाे भनाइ छ ।
यसरी थर्ड पार्टीले तयार पारेका वा सामसङले प्रमाणित नगरेका लेन्स प्रोटेक्टर प्रयोग गर्दा त्यसले लेन्समा थप तह थप्छ । तह थपिँदा फोटो वा भिडिओको गुणस्तर घट्ने कम्पनीले उल्लेख गरेकाे छ ।
त्यस्तै लेन्स र लेन्स प्रोटेक्टर प्रयोग गरिरहेको अवस्थामा कुनै तरल पदार्थ लेन्सबीच अड्कियो भने क्यामेराको गुणस्तर झनै घट्न सक्छ ।
सामसङका अनुसार एस२३ सिरिजका फोनमा क्यामेराको तलपट्टि माइक्रोफोन रहेको हुन्छ । यस्तो माइक्रोफोन फोनकल, अडियो तथा भिडिओ रेकर्डिङ गर्न प्रयोग हुन्छ ।
थर्ड पार्टी कम्पनीले तयार पारेको लेन्स वा सामसङले प्रमाणित नगरेको लेन्स कभर प्रयोग गर्दा माइक्रोफोन ढाकिन्छ । माइक्रोफोन ढाकिएको अवस्थामा आवाजको गुणस्तर पनि कम हुन्छ । त्यसैले लेन्स प्रोटेक्टर प्रयोग गर्न चाहने ग्राहकलाई प्रमाणित वा सामसङले तयार पारेको लेन्स प्रोटेक्टर प्रयोग गर्न अनुरोध गरेको छ ।