close

दूरसञ्चार ऐनको मस्यौदालाई लिएर भ्रम छरियोः मन्त्री शर्मा

टेकपाना टेकपाना

चैत २४, २०७९ १५:८

दूरसञ्चार ऐनको मस्यौदालाई लिएर भ्रम छरियोः मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार क्षेत्रको नियमनका लागि नयाँ विधेयक मस्यौदा निर्माण गर्न मन्त्रालय जुटेको बताएकी छन् ।

शुक्रबार प्रतिनिधिसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री शर्माले दूरसञ्चार ऐन, २०५३ को खारेजी गरी नयाँ कानून निर्माण गर्न मस्यौदा निर्माणको आन्तरिक तयारी भइरहेको जानकारी दिइन् ।

''मन्त्रिपरिषद्को चैत ६ को बैठकले नयाँ ऐन बनाउन मिल्ने भनेर सैद्धान्तिक स्वीकृति पाइसकेका छौं । सोही आधारमा विधेयकको प्रारम्भिक मस्यौदा तयार पार्न छलफल गरिरहेका छौँ,'' उनले भनिन् ।

दूरसञ्चार ऐन २०५३ खारेज गरी नयाँ विधेयक मस्यौदा तयार पार्ने भन्ने बाहेक आजका दिनसम्म पुरानो ऐनको कुन दफा हटाउने, नयाँ कुन विषय थप्ने, कसरी अगाडि बढ्ने भन्ने विषयमा मन्त्रालय कुनै निष्कर्ष र निर्णयमा नपुगेको उनले उल्लेख गरिन् ।

''हाम्रो ऐन बनाउने आफ्नै प्रक्रिया छ । मन्त्रालयले मस्यौदा तयार पार्छ र क्याबिनेटमा लैजान्छ । यसलाई अन्तिम रुप दिने भनेको संघीय संसदले नै हो,'' उनले भनिन् ।

तर मस्यौदा तयार भइसक्यो, यसले कसैलाई पोस्ने काम गरिरहेको छ भनेर भ्रमपूर्ण समाचार बाहिर आइरहेको भन्दै संसदमा पनि यस्तो विषय उठेकोमा उनले असन्तुष्ट व्यक्त गरिन् ।

विधेयकको मस्यौदा नै तयार नभएको सन्दर्भमा बाहिर आएका कुराबाट भ्रमित नहुन उनले आग्रह गरिन् । ''राष्ट्रको हितलाई सर्वोपरी बनाएर, सम्बन्धित सरोकारवालाहरूको राय लिएर मात्र मस्यौदालाई अन्तिम रुप दिनेछौं,'' उनले भनिन् ।

पछिल्लो अध्यावधिक: चैत २४, २०७९ १५:८