close

अब छुट्टै कम्पनी रहेन ट्वीटर, एलन मस्कले सुटुक्क बनाए ‘एक्स’ अन्तर्गतको प्रोडक्ट

टेकपाना टेकपाना

चैत २९, २०७९ १३:२३

अब छुट्टै कम्पनी रहेन ट्वीटर, एलन मस्कले सुटुक्क बनाए  ‘एक्स’ अन्तर्गतको प्रोडक्ट

काठमाडौं । सामाजिक सञ्जाल तथा माइक्रो ब्लगिङ माध्यम ट्वीटर अब छुट्टै कम्पनीको रुपमा नरहने भएको छ । एलन मस्कले ट्वीटर कम्पनीको नाम सुटुक्क परिवर्तन गरी एक्स कर्पोरेसन बनाएका हुन् ।

यसको अर्थ ट्वीटर अब एक्स कर्पोरेसन अन्तर्गतको एउटा ‘प्रोडक्ट’ मात्र हुनेछ । जब कि यसअघि ट्वीटर एउटा प्रोडक्टसँगै छुट्टै कम्पनीको रुपमा समेत रहेको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले ४ अप्रिलमा अदालतमा पेश भएको कागजातमा ट्वीटरको नाम परिवर्तन भएको उल्लेख गरेका छन् । उक्त कागजातका अनुसार एक्स कर्पोरेसन एक्स होल्डिङ्स कर्पोरेसन अन्तर्गतको कम्पनी हो ।

कम्पनीले अहिले नै यस विषयमा आधिकारिक जानकारी भने सार्वजनिक गरेको छैन । यद्यपि यसअघि एलन मस्कले भने एक्स (X) अक्षर आफ्नो ट्वीट पोस्टहरूमा समावेश गर्दै आएका थिए । 

गत ५ अक्टोबर २०२२ मा मस्कले 'बाइङ ट्वीटर इज एन एक्सलरेन्ट टु क्रियटिङ एक्स (X), द एभ्रिथिङ एप' भनेर ट्वीट गरेका थिए । मस्कले ट्वीटरलाई चीनको विच्याट जस्तै सुपर एप बनाउने अभिव्यक्ति दिँदै आएका छन् ।

यो जानकारी बाहिरिएसँगै अहिले 'एक्स कर्प' ट्वीटरको ट्रेन्डिङमा देखा परेको छ । मस्कले पनि मंगलबार आफ्नो ट्वीटमा अरु केही नलेखी एक्स (X) मात्र लेखेर पोस्ट गरेका छन् ।

पछिल्लो अध्यावधिक: चैत २९, २०७९ १३:२३