close

मोबाइलबाट यसरी सजिलै बनाउहोस् नयाँ वर्षको शुभकामना कार्ड

टेकपाना टेकपाना

बैशाख १, २०८० १२:४०

मोबाइलबाट यसरी सजिलै बनाउहोस् नयाँ वर्षको शुभकामना कार्ड

काठमाडौँ । नव वर्षको शुभकामना आदानप्रदान गर्न ई-कार्डले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । विभिन्न व्यक्तिले सामाजिक सञ्जालमा पोस्ट गरेका वा इनबक्समा पठाएका ई-कार्ड देख्दा तपाईंलाई पनि त्यस्तै कार्ड बनाउने रहर लागेको हाेला ।

आज हामी मोबाइल फोनबाटै कसरी स्तरीय ई-कार्ड बनाउन सकिन्छ भन्ने विषयमा जानकारी दिँदैछौँ । यसो त इन्टरनेटमा त्यस्ता थुप्रै एप छ जसको सहायताले हामी स्तरीय ई-कार्ड बनाउन सक्छौँ ।

यहाँ हामी सजिलै र आफूले चाहे अनुसारको ई-कार्ड बनाउन सघाउने उपयुक्त दुई ओटा एपको बारेमा चर्चा गर्दैछौँ । नेपाली फन्ट (अक्षरको बनावट) राखेर ई-कार्ड बनाउन सकिने दुई एपबारे यहाँ जानकारी दिइएको छ ।

क्यान्भा (Canva)

क्यान्भा यस्तो प्लेटफर्म हो, जसको सहायताले हामी आकर्षक टेम्प्लेट प्रयोग गरेर नयाँ वर्षको ई-कार्ड बनाउन सक्छौँ । साथै यस प्लेटफर्ममा आफ्नै शैलीले पनि ई-कार्ड बनाउने सुविधा छ ।

यो एप निःशुल्क छ । तर, केही विशेष टेम्प्लेट तथा फन्ट प्रयोग गर्नका लागि भने शुल्क तिर्नुपर्ने हुन्छ । एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गरेर एप डाउनलोड गर्नुहोस् ।

एप डाउनलोड गरिसकेपछि तलको प्रक्रिया अपनाएर ई-कार्ड तयार पार्नुहोस् ।

-   सबैभन्दा पहिले  एप खोल्नुहोस् ।

-   त्यसपछि माथि सर्च बारमा गएर 'New Year Cards' सर्च गर्नुहोस् ।

-   त्यसपछि आफूलाई उपयुक्त हुने कुनै एउटा टेम्प्लेट छान्नुहोस् ।

-   उक्त टेम्प्लेटमा देखाएको जस्तै ई-कार्ड बनाउन सक्नुहुन्छ ।

क्यान्भामा आफूले चाहेको जस्तै डिजाइन त गर्न सकिन्छ । तर, टेम्प्लेटमा तपाईँले खोजेको जस्तै डिजाइन नहुन सक्छ । त्यसैले तपाईँले आफैले खोजेको जस्तो डिजाइन बनाउन उक्त एपका टुलबारे जानेको हुनुपर्छ ।

पिक्सेल ल्याब (Pixellab)

पिक्सेल ल्याब त्यस्तो एप हो, जसको सहायताले स्तरीय पोस्टर तथा ई-कार्ड बनाउन सकिन्छ । यसलाई फोटोशपकै रूपमा पनि प्रयोग गर्न सकिन्छ । एप इन्सटल गर्नेदेखि कार्ड डिजाइन गर्ने तरिकाबारे यहाँ जानकारी दिइएको छ:

१. एप र एपमा फन्ट इन्स्टल

सबैभन्दा पहिले तपाईंले एन्ड्रोइडका लागि यस लिंकमा र आईओएसका लागि यस लिङ्कमा गएर पिक्सेल ल्याब एप इन्स्टल गर्नुहोस् ।

यदि तपाईंले बनाउन लागेको पाेस्टरमा अङ्ग्रेजी अक्षर प्रयोग हुन्छन् भने त केही गर्न परेन, एपमा डिफल्ट रूपमा रहेका फन्ट प्रयोग गर्न सक्छौँ ।

तर, पोष्टरमा नेपाली अक्षर प्रयोग गर्नु परे तपाईंले तल उल्लेख गरिएको प्रक्रियाबाट फन्ट इन्स्टल गर्न सक्नुहुन्छ:

यस्ता पोस्टरलाई आकर्षक बनाउन हामीले विभिन्न आकर्षक फन्टहरू प्रयोग गर्नुपर्ने हुन्छ । 

गुगलमा गएर नेपाली फन्ट कलेक्सन जिप फाइल (Nepali Font Collection Zip File) सर्च गरेर फन्ट डाउनलोड गर्नुहोस् ।

फन्ट डाउनलोड गरिसकेपछि त्यसलाई आफ्नो स्मार्टफोनमा रहेको फाइल म्यानेजरमा एक्स्ट्रयाक्ट गर्नुपर्ने हुन्छ । एक्स्ट्रयाक्याट गर्न तपाईंले आफूले डाउनलोड गरेको फन्टको जिप फाइल कुन फोल्डरमा छ भन्ने पत्ता लगाउनुपर्ने हुन्छ ।

प्रायः फोनमा डाउनलोड गरेका सामग्री डाउनलोड फोल्डरमा हुने भएकाले तपाईं त्यहीँ जान सक्नुहुन्छ । आफूले डाउनलोड गरेको जिप फाइलमा ट्याप गर्नुभयो भने एक्स्ट्रयाक्ट गर्ने अप्सन देखाउँछ ।

यसरी फन्ट कुनै फोल्डरमा एक्स्ट्रयाक्ट गर्न सकिन्छ । यो प्रक्रियापछि पिक्सेल ल्याबमा सो फन्ट इन्स्टल गर्नुपर्ने हुन्छ ।

-पिक्सेल ल्याबमा फन्ट इन्स्टल गर्न सबैभन्दा पहिले एप खोल्नुहोस् ।

-एप खोलिसकेपछि त्यहाँ न्यु टेक्स्ट (New Text) लेखिएको एक अप्सन देखिन्छ । तपाईंले त्यसमा ट्याप गर्नुहोला ।

-त्यसपछि तलको ए (A) को आइकनमा ट्याप गर्नुहोस् । त्यसपछि त्यसको माथि थुप्रै अप्सनहरू देखिन्छ । 

-त्यसलाई बायाँतर्फ सार्दै जानुभयो भने फन्ट भन्ने अप्सन देखिन्छ‌ ।

-फन्टमा ट्याप गर्नुभयो भने एउटा नयाँ सेक्सन देखिन्छ, जसमा तपाईंले अन्य तीन अप्सन देख्न सक्नुहुन्छ ।

-‌तपाईंले बीचको माई फन्ट (My Font) मा ट्याप गर्नुभयो भने त्यहाँ खाली सेक्सन देखिन्छ । अब हामीले डाउनलोड गरेको फन्ट यही सेक्सनमा इन्स्टल गर्नुपर्ने हुन्छ । 

-त्यसको तल सर्च बक्स देखिन्छ । सर्च बक्सको छेउमा दुई ओटा आइकन देख्न सकिन्छ । त्यसमध्ये तपाईंले अन्तिमको अप्सन छान्नुपर्ने हुन्छ । 

-यसपछि फाइल म्यानेजरको अप्सन देखिन्छ । त्यहाँ तपाईंले पहिले फन्ट एक्स्ट्रयाक्ट गरेको फोल्डरमा गई फन्ट सेलेक्ट गर्नुहोला । यसरी फन्ट पिक्सेल ल्याबमा इन्स्टल गरिसकेपछि पहिलेको माई फन्टको ठाउँमा तपाईंले थुप्रै फन्टहरू देख्न सक्नुहुन्छ ‌। 

२. डिजाइन गर्ने तरिका

फन्ट इन्स्टलको प्रक्रिया सकिएपछि अब पोस्टर डिजाइनको प्रक्रियामा जाऔँ । यसमा डिजाइन गर्दा धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ ।

सबैभन्दा पहिले‌ तपाईंले बनाउन लागेको कार्डको आउटलाइन तयार पार्नुहोस् । भन्नुको अर्थ कार्डमा फन्ट कता राख्ने, ब्याकग्राउन्ड कलर कस्तो राख्ने जस्ता विषय ख्याल गर्नुपर्छ ।    

-सबैभन्दा पहिले ब्याकग्राउन्ड कलर छान्नुहोस्, त्यसका लागि सो पेजको अन्तिमका अप्सन देख्नु हुनेछ । त्यसमध्ये अन्तिमको अघिल्लो अप्सन छान्नुहोला । सो अप्सन छानिसकेपछि कलर भन्ने अप्सन देखिन्छ, त्यसमा ट्याप गरेर आफूलाई आवश्यक कलर छान्न सक्नुहुनेछ ।

-कलर छानिसकेपछि, तलको तेस्रो अप्सनमा जानुहाेस् । त्यसपछि माथि शेप्स (Shapes) भन्ने अप्सन देखिन्छ । त्यसमा ट्याप गर्दा वर्गाकार बक्स देखिन्छ । अब तपाईँले त्यही बक्सलाई आफ्नो आवश्यकता अनुसार साइज र कलर मिलाउन सक्नुहुन्छ ।

-त्यसरी हामीले बनाएको पोस्टर जस्तै विभिन्न कलरका बक्स बनाउनुहोस् ।

– यो प्रक्रिया सकिएपछि तपाईंले अन्य दुई कुरामा ध्यान दिनुपर्छ; एउटा आफ्नो फोटो कता राख्ने भन्ने अनि अर्को फन्ट कता राख्ने ?

-  यदि तपाईँ आफूले राख्न चाहेको फोटोको फोटोको ब्याकग्राउन्ड हटाउन चाहनुहुन्छ भने ब्याकग्राउन्ड रिमुभर साइट प्रयोग गर्न सक्नुहुन्छ, जस्तै रिमुभ डट बिजी

यसरी फोटोमा देखाए जस्तो पोस्टर तपाईंले आफ्नो फोनको एपबाट केही समयमा नै बनाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: बैशाख १, २०८० १३:५