close

नाइकीको डिजिटल जुत्ता सार्वजनिक, मे ८ देखि उपलब्ध हुने

टेकपाना टेकपाना

बैशाख ५, २०८० ११:०

नाइकीको डिजिटल जुत्ता सार्वजनिक, मे ८ देखि उपलब्ध हुने

काठमाडौं । अन्तर्राष्ट्रिय जुत्ता कम्पनी 'नाइकी' ले आफ्नो डिजिटल जुत्ता चाँडै नै सार्वजनिक गर्ने भएको छ । कम्पनीले 'आवर फोर्स वान' अथवा ओएफवान नाम दिएको भर्चुअल जुत्ता यही मे महिनाको ८ तारिखमा सार्वजनिक हुँदैछ । 

यद्यपि यो दिनमा केही सीमित आमन्त्रित व्यक्तिहरूका लागि सार्वजनिक हुनेछ भने आम सर्वसाधारणको लागि भने मे १० मा सार्वजनिक हु्नेछ । कम्पनीले यो भर्चुअल जुत्ताको दुई‌ओटा बक्स तयार पारेको छ जसलाई क्लासिक रिमिक्स र न्यु वेभ भनेर नाम दिइएको छ । 

ग्राहकले यी दुईमध्ये कुनै पनि बक्स खरिद गर्न सक्नेछन् । दुवै बक्सको मूल्य भने एउटै रहेको छ, १९.८२ डलर अर्थात करिब २६०० रुपैयाँ रहेको छ । 

यसको लागि तपाईँले नाइकीको सुस (Swoosh) वेबथ्री प्लेटफर्ममा अकाउन्ट खोलेर आफ्नो आईडी बनाउनुपर्ने हुन्छ । उक्त अकाउन्टबाट तपाईँले आफ्नो जुत्ताको बक्स खरिद गर्न सक्नुहुन्छ । 

तर यो वास्तविक जुत्ता भने होइन । माथि उल्लेख गरेजस्तै यो एक भर्चुअल जुत्ता हो र तपाईँले तिर्ने रकम भनेको डिजिटल बक्सको मूल्य हो । तपाईँले कस्तो प्रकारको भर्चुअल जुत्ता पाउनुहुनेछ भन्ने कुरा भने तपाईँको लागि गोप्य नै हुनेछ ।

नाइकीले सबै ओएफआई बक्स एकैदिन खोल्ने कम्पनीले जनाएको छ । तर यदि तपाईँ आफ्नो बक्स खोल्न चाहनुहुन्न भने तपाईँले आफ्नो बक्स बन्द नै राख्न पाउनुहुनेछ । 

बक्स खोल्ने दिन कम्पनीले सबैलाइ सुस अकाउन्टमा नोटिफिकेसन पठाएर सूचना दिनेछ । हरेक बक्समा एउटा थ्रीडी फाइल हुनेछ । कम्पनीले एक लाख भन्दा धेरै बक्सहरू तयार गरेको छ जुन एयर फोर्स वानमा आधारित छ ।   
 

 

पछिल्लो अध्यावधिक: बैशाख ५, २०८० ११:४