close

भिडिओ कल गरी अश्लील क्रियाकलाप देखाउनेहरूबाट सजग रहनूः साइबर ब्यूरो

टेकपाना टेकपाना

बैशाख ६, २०८० ७:५३

भिडिओ कल गरी अश्लील क्रियाकलाप देखाउनेहरूबाट सजग रहनूः साइबर ब्यूरो

काठमाडौं । नेपाल प्रहरी अन्तर्गतको साइबर ब्यूरोले सामाजिक सञ्जालमा अञ्जान व्यक्तिबाट आउने कल उठाउँदा सजग रहन अनुरोध गरेको छ । अपरिचित व्यक्तिले फेसबुक, ह्वाट्सएप, भाइबर तथा इमो जस्ता माध्यमको प्रयोग गरी पीडितलाई अश्लील भिडिओमा मुछेर ब्ल्याकमेल गर्ने घटना बढेको भन्दै ब्यूरोले त्यस्ता व्यक्तिबाट आउने कल नउठाउन अनुरोध गरेको हो । 

"विगत केही समयदेखि आपराधिक समूहले प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जाल प्रयोगकर्तालाई फ्रेन्ड रिक्वेस्ट पठाई फेसबुक म्यासेन्जर, ह्वाट्सएप, भाइबर, इमो आदिमा भिडियो कल गरी अपरिचित व्यक्ति आफैंले अश्लील क्रियाकलाप देखाई सम्बन्धित व्यक्तिलाई झुक्यानमा पार्ने गरेको देखिन्छ," ब्यूरोले सार्वजनिक गरेको विज्ञप्तिमा लेखिएको छ, "कल गर्ने  व्यक्तिले अश्लील क्रियाकलापमा संलग्न हुने वातावरण बनाई उक्त भिडियो कलको रेकर्ड गर्ने गर्दछ ।"

''भिडिओ रेकर्ड गरेपछि उक्त भिडिओको आडमा साइबर अपराधमा फसाइदिन्छु, सामाजिक तथा पारिवारिक सम्बन्ध तहसनहस गराइदिन्छु भन्ने किसिमका धाकधम्की दिन थाल्छन् ।''

धम्की दिएर बारम्बार रकम माग गर्ने गरेका घटना धेरै नै बढ्दै गइरहेको साइबर ब्यूरोले उल्लेख गरेकाे छ । सामाजिक सञ्जाल प्रयोग गर्दा अवाञ्छित क्रियाकलापप्रति सहज रहन तथा अपरिचित आईडी वा ह्वाट्सएप, भाइबर लगायतका नम्बरबाट कुनै पनि कल आएमा यकिन गरेर मात्र त्यस्ता आईडी र अपरिचित कलहरूसँग संवाद गर्न ब्यूरोको अनुरोध छ ।

पछिल्लो अध्यावधिक: बैशाख ६, २०८० ७:५३