close

ट्वीटरका संस्थापक डोर्सीको नयाँ समाजिक सञ्जाल ‘ब्लुस्काई’ एन्ड्रोइडमा पनि उपलब्ध

टेकपाना टेकपाना

बैशाख ७, २०८० १२:५८

ट्वीटरका संस्थापक डोर्सीको नयाँ समाजिक सञ्जाल ‘ब्लुस्काई’ एन्ड्रोइडमा पनि उपलब्ध

काठमाडौं । ट्वीटरका संस्थापक तथा पूर्व प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सीको सामाजिक सञ्जाल 'ब्लुस्काई' एन्ड्रोइड डिभाइसमा उपलब्ध हुन थालेको छ । डोर्सीले सीमित एन्ड्रोइड प्रयोगकर्ताका लागि ब्लुस्काई एप गुगल प्ले स्टाेरमा उपलब्ध गराएका हुन् ।

यसअघि गत फेब्रुअरीमा एप स्टोरमा ब्लुस्काई उपलब्ध भइसकेको छ । ट्वीटर जस्तै फिचर भएको यो एपमा सर्च गर्न, अन्य प्रयोगकर्तालाई फलो गर्न तथा पोस्टहरू सिर्जना गर्न सकिन्छ ।

बेटा भर्सनमा उपलब्ध भएपनि यसका २५ हजार भन्दा बढी सक्रिय प्रयोगकर्ता रहेको बताइन्छ । तर यसमा ट्वीटरमा जस्तो 'डाइरेक्ट मेसेज' फिचर नभएको भन्दै टिप्पणी हुने गरेको छ ।

डोर्सीले ब्लुस्काई एपको अवधारणा सन् २०१९ मा ल्याएका थिए । जसलाई ट्वीटरको सहायक कम्पनीको रूपमा विकास गर्ने भनिएको थियो । तर, गत अक्टोबरमा एलन मस्कले ट्वीटरको सम्पूर्ण स्वामित्व लिएपछि डाेर्सीले छुट्टै कम्पनीका रूपमा विकास गर्ने योजना अघि सारे ।

अहिलेलाई ज्याक डोर्सीको सो एप इन्भाइट लिङ्कबाट मात्र डाउनलोड गर्न सकिन्छ । र, प्रयोग गर्न चाहने प्रयोगकर्ताले आफ्नो ईमेल एड्रेस प्रयोग गरेर वेटलिस्टमा सहभागी हुन सक्छन् ।

ब्लुस्काईको इन्टरफेस ट्वीटर जस्तै छ । तर, ट्वीट बक्समा 'ह्वाट्स ह्यापनिङ'को सट्टा 'ह्वाट्स अप ?' देखिन्छ । उक्त बक्समा २५६ क्यारेक्टरको टेक्स्ट राख्न सकिनेछ । जसमा फोटो एड गर्ने अप्सन पनि समावेश छ ।

ब्लुस्काईको होम पेजमा पोस्ट र रिप्लाई सहितका पोस्ट देख्न सकिनेछ । समग्रमा भन्नु पर्दा दुवै एप उस्ता उस्तै देखिन्छन् । त्यसो भए ट्वीटर प्रयोग गर्नेले किन ब्लुस्काई प्रयोग गर्ने भन्ने धेरैको जिज्ञासा हुनसक्छ ।

ब्लुस्काईले दिएको जानकारी अनुसार यसमा क्रियटरलाई प्लेटफर्मको स्वतन्त्रता, डेभलपरलाई निर्माण गर्ने स्वतन्त्रता र प्रयोगकर्ताले उक्त प्लेटफर्मबाट चाहे अनुसारको अनुभव लिने सुविधा छ । सञ्चारमाध्यम गिजमोडोका अनुसार ब्लुस्काईको प्रमुख विशेषता नै यसको प्रविधि हो ।

यसलाई कम्पनीले अथेन्टिकेटेड ट्रान्सफर अर्थात् एटी (AT) प्रोटोकल भनेको छ । जसले प्रयोगकर्तालाई उनीहरूको एल्गोरिदममा पूरा नियन्त्रण दिने गर्छ ।

डोर्सीले अन्य सहसंस्थापक सहित २००६ मा ट्वीटर विकास गरेका थिए । उनी सन् २०१५ बाट २०२१ सम्म ट्वीटरमा सीईओका रूपमा कार्यरत थिए । 

सार्वजनिक रूपमा उक्त एप प्रयोगकर्ताले कहिले प्रयोग गर्न पाउँछन् भन्ने स्पष्ट छैन । सम्भवतः सीमित प्रयोगकर्ताबाट यसको प्रतिक्रिया पाएर एपलाई परिमार्जन गरी सार्वजनिक हुनसक्ने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ७, २०८० १२:५८