काठमाडाैं । कम्प्युटर अन भइरहन नियमित विद्युत प्रवाह चाहिन्छ । तर कहिलेकाहीँ तपाईंको विद्युत आपूर्ति भरपर्दो नहुन सक्छ । यदि छरछिमेकमा बेलाबेला बत्ती आउने जाने गरिरहन्छ भने तपाईं सोच्दै हुनुहुन्छ होला, कतै बत्ती गएको बेला कम्प्युटरलाई नोक्सानी त गर्दैन ? अनि त्यसबाट पर्नसक्ने असरबाट कसरी जोगिने ? आज हामी बेलाबेलामा बत्ती गइरहँदा हुनसक्ने जोखिम र त्यसबाट जोगिने उपायको बारेमा चर्चा गर्दैछौं ।
के कारणले एक्कासि बत्ती जान्छ, हाई भोल्टेज तथा लो भोल्टेज आउँछ ?
तपाईं हाम्रो घरसम्म आइपुग्ने बिजुली स्थिर छैन । विद्युतीय करेन्ट घट्ने बढ्ने भइरहन सक्छ, आवश्यक र उचित मात्राभन्दा तलमाथि जान सक्छ । धेरै बढी र अति थोरै ऊर्जाले समस्या निम्त्याउन सक्छ । जब पूर्णतया बिजुली बन्द हुन्छ, त्यतिखेरको अवस्थालाई 'ब्ल्याकआउट' अर्थात बत्ती गएको अर्थमा बुझिन्छ ।
प्रसारण केन्द्र अवरुद्ध हुन, विद्युतीय तार नष्ट हुन लगायतका समस्या तपाईं हाम्रो नियन्त्रणभन्दा बाहिर हुन्छन् । कहिले काहीँ तारहरू एक आपसमा छोइएर शर्ट हुने वा ऊर्जाको भार अत्यधिक हुँदा यस किसिमका समस्या आइरहेका हुन्छन् ।
त्यस्तै समान किसिमको अर्को समस्या हो लो भोल्टेज आउनु । यस्तोमा पूर्ण रुपमा बत्ति गएको हुँदैन । यदि तपाईंले थाहा नभएको कुनै कारणले बत्ती डिम भएको देख्नु भयो भने सम्भवतः लो भोल्टेजको बिजुली आइरहेको हुन सक्छ, जसलाई प्राविधिक भाषामा ब्राउनाउट भन्ने गरिन्छ ।
यस्तो समस्या बिजुलीको भार घटाउन र बत्ती जानबाट रोक्ने प्रयोजनका लागि जानाजान निम्त्याइएको हुन सक्छ । यद्यपि नचाहेरै पनि लो भोल्टेजको बिजुली नआउने भन्ने होइन । यस बाहेक लोडशेडिङ भन्ने कुरा पनि हुन्छ, जससँग हामी नेपालीहरू राम्रैसँग परिचित छौं । यस्तो कार्य खासगरी उपलब्ध बिजुली भन्दा माग अत्यधिक भएको अवस्थामा पालैपालो समय तालिका मिलाएर ठाउँठाउँमा बत्तीको लाइन बन्द गरिन्छ ।
लोड-शेडिङ जानाजान गरिन्छ, ता कि विद्युत ग्रिडले धान्न नसकेर पूर्ण रुपमा बत्ती जाने अवस्था नआओस् । यसैगरी अर्को समस्या भनेको पावर-सर्ज अर्थात् अचानक विद्युतीय झड्का आउने हुन्छ । यस्तो समस्या तब आउँछ, जब घरमा भएका विद्युतीय उपकरणले कम्तिमा तीन नानोसेकेन्डका लागि चाहिएको भन्दा अत्यधिक विद्युत प्राप्त गर्छन् ।
विद्युतीय झड्का आउनुको पछाडि विभिन्न कारणहरू हुन सक्छन्, जसमा शर्ट सर्किट र विद्युतीय लाइनमा आएको खराबी समेत पर्छन् । यद्यपि हाई भोल्टेज एक वा दुई नानोसेकेन्ड अवधिका लागि मात्रै आउँछ भने त्यो सम्भवतः चट्याङका कारण हुन सक्छ ।
के बत्ती जाँदा कम्प्युटरलाई असर गर्छ ?
त्यसो हो भने के अचानक बिजुली जाँदा कम्प्युटरमा समस्या आउन सक्छ ? त्यस्तो अवस्थामा मात्र होइन, गएको बत्ती अचानक आउँदा समेत तपाईंको डेटा र हार्डवेयरमा समस्या आउने जोखिम रहन्छ । बत्ती जाँदा यसरी बिग्रिन सक्छ कम्प्युटरः बत्ती जाँदा अचानक बन्द हुने भएकाले कम्प्युटरको स्वास्थ्यमा खतरा उत्पन्न हुन सक्छ ।
अपरेटिङ सिस्टम जटिल किसिमका हुन्छन् र त्यसमा 'शटडाउन सिक्वेन्स' पूरा हुनुपर्छ, ता कि पावर अफ हुनु अगावै सबै सञ्चालित प्रोसेसहरू सही तरिकाले समाप्त होऊन् । अचानक बिजुली जाँदा यस किसिमका अनिवार्य पूरा हुनुपर्ने चरणहरूलाई अवरुद्ध पार्छ र कतिपय प्रोसेसहरू बीचैमा छुट्न सक्छन् । जसले अपरेटिङ सिस्टममा क्षति पुर्याएर फाइल तथा थ्रेडहरूलाई 'करप्ट' पार्न सक्छ ।
सिस्टम फाइल निकै महत्त्वपूर्ण हुन्छन् । अपरेटिङ सिस्टम कुनै महत्त्वपूर्ण फाइल एडिट गरिरहेको बेला बीचैमा अचानक पावर काटिएको खण्डमा फाइल करप्ट हनु सक्छन् । यसमा उदाहरणको लागि सिस्टम अपडेटको समयलाई लिन सकिन्छ ।
त्यसपछि जब तपाईं कम्प्युटर रि-बुट गर्ने प्रयास गरिरहनु भएको हुन्छ, त्यसक्रममा यस्ता करप्ट फाइलका कारण अपरेटिङ सिस्टम क्र्याश हुन्छ र रि-बुट नै असफल हुन्छ । यदि सिस्टम फाइल तोडमोड भएका छैनन् भने तपाईं भाग्यमानी नै हो । यद्यपि त्यस्तो अवस्थामा पनि तपाईंले मुख्य कामहरू गुमाइरहनु भएको हुनसक्छ ।
यदि तपाईंमा कम्प्युटरमा गरिएका कामहरू नियमित रुपमा सेभ गर्ने बानी छैन भने अचानक बत्ती जाँदा ती कामहरू पुनः सुरुबाटै थाल्नुपर्ने समस्या त तपाईंले पनि भोग्नु भएकै होला ।
यसबाहेक बारम्बार बिजुली जाने समस्याले हार्ड ड्राइभको भौतिक आयू घटाइदिन सक्छ । किन भने सञ्चालनका क्रममा घुमिरहने प्लेटमाथि हार्ड ड्राइभको 'पढ्ने र लेख्ने' भाग झुन्डिएको हुन्छ । पावर गुम्दा उक्त भाग आफ्नै स्थानमा फर्किन्छ ।
अचानक रुपमा पावर अवरुद्ध हुने कार्यले ससाना त्रुटिहरू निम्त्याउन सक्छ, जुन समयसँगै थुप्रिँदै जान्छ र 'हेड क्र्याश' हुने सम्भावना बढाउँछ । जब त्यो माथि झुन्डिने भाग (हेड) ले प्लेटरको सतहलाई छुने र खुइल्याउने काम गर्छ, त्यसले हार्ड ड्राइभलाई नराम्ररी नष्ट पार्दै जान्छ ।
अचानक बत्ती जाँदा एसएसडी अर्थात सोलिड-स्टेट ड्राइभमा समेत क्षति पुर्याउन सक्छ । जसमा डेटा करप्सनदेखि सम्पूर्ण रुपमा बिग्रिनेसम्मका समस्या आउन सक्छन् ।
किङ्गस्टनका अनुसार धेरैजसो एसएसडीमा 'पावर-लस प्रोटेक्सन' (पीएलपी) हुन्छ, तर प्रारम्भिक पुस्ताका एसएसडीमा अहिलेका आधुनिक ड्राइभमा जस्तो अचानक पावर जाँदा आइपर्दा त्यति भरपर्दो हुँदैनन् । त्यसैले यदि तपाईंसँग धेरै पुरानो एसएसडी छ र पावर ग्रिडको समस्या आइरहने स्थानमा बस्नु हुन्छ अथवा प्रतिकूल मौसम भएको क्षेत्रमा रहनु हुन्छ भने आफ्नो एसएसडी अपग्रेड गर्नु बुद्धिमानी हुन्छ ।
बत्ती गइसकेपछि आउने विद्युतीय झड्काले कम्प्युटरमा पर्ने असरः
बत्ती जाँदा मात्रै समस्या आउन सक्छ भन्ने होइन । अझ बत्ती गइसकेपछि पुनः आउँदा पटक पटक करेन्टको झड्का आइरहन्छन् । यस्तो झड्काले कम्प्युटरमा आवश्यक भन्दा बढी पावर आपूर्ति हुन सक्छ र त्यसभित्र रहेका सरसामग्री डढाइदिन सक्छ ।
बिजुली जाँदा मदरबोर्डमा त्यति ठूलो नोक्सानी नहोला तर अचानक आउने झड्काले निश्चित रुपमा ठूलो क्षति पुर्याउन सक्छ । परिणाम स्वरूप तपाईंको कम्प्युटर अन नहुन सक्छ ।
बत्ती जाँदा हुनसक्ने क्षतिबाट कसरी जोगाउने कम्प्युटर
बत्ती जाँदा कम्प्युटरका भाग नै नष्ट नहोलान् तर अचानक आउने झड्काले भने हुन सक्छ । त्यसले तपाईंको कम्प्युटरलाई नै नष्ट गर्न सक्छ । यस्तो अवस्थामा यदि तपाईं आफ्नो कम्प्युटर र त्यसमा रहेको डेटाको ख्याल राख्न चाहनु हुन्छ भने सबैभन्दा उचित विकल्प भनेको पूर्वसावधानी स्वरुप बत्ती जाँदा पनि कम्प्युटरमा निरन्तर पावर आइरहने यूपीएस तथा इन्भर्टर जस्ता सरसामानमा लगानी गर्नु हो ।
यूपीएसमा ब्याकअप ब्याट्री रहेको हुन्छ, जसले बत्ती जाँदा समेत तपाईंको कम्प्युटरमा निरन्तर पावर उपलब्ध गराइरहन्छ । यूपीएस उपकरणहरू विद्युतीय झड्काबाट जोगाउने किसिमका समेत हुन्छन् । यदि तपाईं बेलाबेलामा बत्ती गइरहने बिल्डिङ वा स्थानमा बस्नु हुन्छ भने यूपीएसमा गरिने लगानीले तपाईंलाई जोगाउनेछ ।
यहाँनिर ध्यान दिनुपर्ने महत्त्वपूर्ण कुरा के छ भने यूपीएसले तपाईंको कम्प्युटरलाई केही मिनेटका लागि मात्र पावर उपलब्ध गराउन सक्छ । यसको अर्थ आफ्नो कामलाई निरन्तरता दिन चाहनु हुन्छ भने त्यसका लागि यूपीएस मात्र पर्याप्त विकल्प भने होइन ।
तर यी केही मिनटले सम्भावित क्षतिबाट जोगाउन कम्प्युटर बन्द गर्न तपाईंलाई पर्याप्त समय दिन्छ । यस अतिरिक्त यूपीएसमा हुने अलार्म साउन्डले सावधानी अपनाउन बत्ती गएको जानकारी दिन्छ अथवा तपाईंको कम्प्युटरलाई तत्काल बन्द गर्न अह्राउँछ ।
बत्ती जाँदा ल्यापटपको प्रयोग
यदि तपाईं बत्ती गएको बेलामा पनि आफ्नो कामलाई निरन्तरता दिन चाहने हो भने ल्यापटप किन प्रयोग नगर्ने ? ल्यापटपले सम्पूर्ण रुपमा बत्ती गएको अवस्थालाई टार्न सक्छ । बत्तीको लाइन जाँदा ल्यापटपले ब्याट्रीमा स्विच गर्छ । यदि तपाईं बेलाबेलामा बत्ती गइरहने क्षेत्रमा हुनुहुन्छ भने डेस्कटपको साटो ल्यापटप लिनु राम्रो हुन्छ ।
पूर्ण पीसीको तुलनामा ल्यापटप त्यति शक्तिशाली नभए पनि बत्ती गइरहने अवस्थामा भने कम्प्युटरभन्दा ल्यापटप निकै उपयोगी हुन्छन् । निश्चित रुपमा आफ्नो क्षेत्रमा बत्तीको अवस्था राम्रो नभएकै कारण ल्यापटप खरिद गर्ने कुरा त्यति राम्रो महसुस हुँदैन । अचानक बत्ती जाने समस्याबाट आफ्नो डेटा जोगाउन चाहे जुनसुकै माध्यम छनौट गर्नुहोस्, तपाईंले विद्युतीय झड्का (सर्ज) बाट जोगाउने पक्षमा पनि सुधार गर्नैपर्ने हुन्छ ।
यसले बत्ती जाँदा तपाईंको कम्प्युटरको हार्डवेयरलाई त त्यति जोगाउन नसक्ला । तर बत्ती गइसकेपछि आउने झड्काबाट भने यसले राम्रो रक्षा गर्न सक्छ । सर्ज प्रोटेक्टरले बत्ती गएको बेला हुनसक्ने हरेक किसिमका खतराबाट जोगाउनुका साथै विद्युतीय झड्कालाई समेत रोक्न सक्छ । सर्ज प्रोटेक्टर खरिद गर्ने कुरा थोरै दुविधाको विषय हुन सक्छ, किनभने तिनीहरूले कत्तिको राम्रोसँग काम गर्न सक्छन् भन्ने कुरा स्पेसिफिकेसनमा खुलाइएको हुन्छ ।