काठमाडौं । एसुसले विश्वकै पातलो ओएलईडी डिस्प्ले भएको ल्यापटप सार्वजनिक गरेको छ । कम्पनीको जेनबुक एस थर्टिनमा विश्वको सबैभन्दा पातलो लुमिना ओएलईडी डिस्प्ले प्रयोग गरिएको छ ।
यो डिस्प्ले १३.३ इन्चको रहेको छ । यो डिस्प्ले डल्बी भिजन र भेसा (VESA) डिस्प्ले एचडीआर ट्रुब्ल्याकबाट प्रमाणित डिस्प्ले हो ।
साथै यो ल्यापटप कम्पनीले अहिलेसम्म सार्वजनिक गरेको ल्यापटप मध्येको सबैभन्दा पातलो ल्यापटप हो । यो ल्यापटप ०.४३ इन्च अर्थात् १.०९ सेन्टिमिटर बाक्लो र २.२ एलबीएस (०.९९ किलोग्राम) रहेको छ ।
पुन:प्रयोगमा ल्याइएको धातु र प्लास्टिकबाट बनेको यो ल्यापटपमा तेह्रौं पुस्ताको इन्टेल कोर आईसेभेन (13th Gen Intel Core i7) प्रोसेसर प्रयोग गरिएको छ । यसमा ३२ जीबी र्याम र एक टीबी स्टोरेज उपलब्ध गराइएको छ ।
साथै यसमा इन्टेलको आइरिस एक्सई ग्राफिक्स प्रयोग भएको छ भने ल्यापटपमा वाई-फाई सिक्सई र ब्लुटुथ ५.२ कनेक्टिभिटी रहेको छ । ल्यापटपमा ६३ वाटको ब्याट्री राखिएको छ, जसलाई ७० प्रतिशत चार्ज हुनको लागि ४९ मिनेट मात्र लाग्छ । कम्पनीले ल्यापटपको मूल्य एक हजार ३९९.९९ डलर (१ लाख ८३ हजार रुपैयाँभन्दा बढी) तोकेको छ ।