close

वैज्ञानिकले पत्ता लगाए करेन्टको सहयोगमा घाउ ३ गुना छिटो निको पार्ने प्रविधि

टेकपाना टेकपाना

बैशाख १०, २०८० १८:२४

वैज्ञानिकले पत्ता लगाए करेन्टको सहयोगमा घाउ ३ गुना छिटो निको पार्ने प्रविधि

काठमाडौं । वैज्ञानिकहरूले करेन्ट लगाएर सामान्य भन्दा तीन गुणा छिटो निको पार्ने विधि पत्ता लगाएका छन् । जर्मनीका वैज्ञानिकले विद्युत (करेन्ट) को प्रयोग गरी घाउ निको बनाउने बायोचिप तयार पारेका हुन् । 

प्राकृतिक रूपमा घाउ निको हुँदा इलेक्ट्रिक फिल्डले छालाको कोषिकालाई घाउको नजिक लिएर जान्छ । जसले गर्दा घाउलाई चाँडै निको बनाउन मद्दत गर्छ । यसक्रममा इलेक्ट्रिक फिल्ड प्राकृतिक रूपमा मानिसको शरीरले निकालेको हुन्छ ।

यही प्राकृतिक प्रक्रियालाई युनिभर्सिटी अफ फ्राइबर्ग, जर्मनीका वैज्ञानिकले कृत्रिम तरिका मार्फत अघि सारेका हुन् । जसको परिणाम स्वरूप प्राकृतिक रूपमा घाउ निको हुन जति समय लाग्छ, वैज्ञानिक प्रक्रिया अपनाउँदा तीन गुणा छिटो घाउ सन्चो भएको तथ्य बाहिर आएको छ ।

यसको अर्थ ‘मार्वल सुपरहिरो’ जस्तो तीव्र गतिमा घाउ निको हुन्छ भन्ने चाहिँ होइन । यसले सामान्य तरिकाले घाउ निको हुने समयलाई घटाउने र बिरामीलाई चोटबाट छिटो मुक्ति दिलाउने वैज्ञानिकले बताएका छन् ।

विशेषगरी मधुमेह भएका, रक्त सञ्चार प्रणाली सुस्त भएका, प्रतिरक्षा क्षमता कमजोर भएका मानिसहरूमा चोटपटक लागेको खण्डमा त्यसलाई निको हुन लामो समय लाग्छ । यस्तोमा वैज्ञानिकको नयाँ प्रयोग जनोपयोगि हुने बताइएको छ ।

फ्राइबर्ग विश्वविद्यालय र चाल्मर्स युनिभर्सिटी अफ टेक्नोलोजी स्विडेनका बायोइलेक्ट्रोनिक्स वैज्ञानिक मारिया अस्प्लन्ड भन्छिन्, "हामीले पत्ता लगाएको नयाँ तरिकाले घाउ तीन गुणा छिटो निको बनाउन सक्छ । सामान्यतयाः दीर्घ रोगी व्यक्तिहरूमा घाउ भयो भने निको हुन निकै धेरै समय लाग्छ । जसले गर्दा यो प्रविधि उनीहरूका लागि जीवन रक्षाको साधन बन्न सक्छ ।"

वैज्ञानिकले सबैभन्दा पहिले मानिसको शरीरमा उत्पन्न भएको प्राकृतिक विद्युतले घाउ निको बनाउन सघाउँछ भन्ने कुरा पत्ता लगाए । तर, इलेक्ट्रिक फिल्डको बल र दिशाले कस्तो प्रक्रिया मार्फत काम गर्छ भन्ने कुरा पत्ता लागेको थिएन ।

त्यसैले वैज्ञानिकले बायोइलेक्ट्रोनिक प्लेटफर्म तयार पारे । उक्त प्रविधिको माध्यमबाट कृत्रिम कोषिकाहरू विकास गरियो । जसलाई केराटिनोसाइट्स (Keratinocytes) भनिन्छ ।

यस्ता कोषिकाले नै घाउ निको पार्ने प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेल्छन् । त्यसैले प्राकृतिक रूपमा यस्ता सेल उत्पादन गरेर घाउमा राख्दा त्यसले घाउलाई तीन गुणा छिटो निको गर्न मद्दत गर्ने तथ्य बाहिर आयो ।

“मधुमेह भएका व्यक्तिको शरीरमा भए जस्तै कोषिका प्रयोग गर्दा त्यसले घाउ निको बनाउन धेरै समय लगायो," अस्प्लन्डले भनेकी छन्, " यद्यपि विद्युतको प्रयोग गर्दा हामीले घाउ निको हुने समयको गति बढाउन सक्ने तथ्य फेला पार्‍यौं । मधुमेहबाट प्रभावित कोषिकाहरू लगभग स्वस्थ छालाका कोषिकाहरूसँग मेल खाने भएकाले यो सम्भव भएको हो ।"

छिटो निको नहुने घाउले गर्दा मानिसमा सङ्क्रमण हुने जोखिम बढी हुन्छ । कतिपय घटनामा यस्ता घाउले बिरामीमा गम्भीर अवस्था निम्त्याउँछन् । त्यसैले घाउलाई निको बनाउन उपयुक्त तरिका आवश्यक परेको वैज्ञानिकले उल्लेख गरेका छन् ।

यो परीक्षण प्रयोगशालामा विकास गरेका कोषिकामा मात्र गरिएको हो । त्यसैले वास्तविक मानिसको घाउमा कसरी काम गर्छ भन्ने कुरा परीक्षण हुन बाँकी छ । अबको चरणमा वैज्ञानिकले मानिसको घाउमा यसको परीक्षण गर्न लागेको बताएका छन् । यो प्रविधिको वास्तविक प्रयोगबाट बिरामीले सस्तो मूल्यमा, सहजै र छिटै घाउबाट मुक्ति पाउनेछन् ।

"वास्तविक घाउको नजिक पुग्नको लागि कसरी विभिन्न छाला कोषिकाहरू उत्तेजनाको समयमा अन्तरक्रिया गर्छन् भन्ने कुराको अध्ययन गरिरहेका छौँ, "अस्प्लन्ड भन्छिन्, "घाउ स्क्यान गर्न र व्यक्तिमा घाउको आधारमा उत्तेजना अनुकूलन गर्न सक्षम हुने अवधारणा विकास गर्न खोजिरहेका छौं ।"

वैज्ञानिकहरू यो प्रविधि भविष्यमा ढिलो घाउ निको हुनेहरूका लागि उपयोगी हुने कुरामा विश्वस्त छन् ।

 

 

पछिल्लो अध्यावधिक: बैशाख १०, २०८० १८:२५