काठमाडौं । युट्युब सार्वजनिक रूपमा भिडिओ शेयर गर्न सकिने प्लेटफर्म हो । त्यसबाहेक केहीले यो प्लेटफर्म सामान्य पोस्ट गर्न वा टेक्स्टमार्फत आफ्ना अडियन्सलाई कुनै जानकारी दिनका लागि प्रयोग गर्छन् ।
इन्टरनेटमा त्यस्ता अनेकन् प्लेटफर्महरू छन् जसको विशेषता युट्युबको भन्दा बढी छ । त्यति मात्र नभई आम्दानीका सन्दर्भमा पनि यी प्लेटफर्म युट्युबभन्दा राम्रो मानिन्छन् ।
आज हामी त्यस्ता प्लेटफर्मको बारेमा जानकारी दिँदैछौं जसलाई तपाईं युट्युबको विकल्पका रूपमा प्रयोग गर्न सक्नुहुन्छ ।
भिमिओ युट्युबको सबैभन्दा उपयुक्त विकल्पका रूपमा परिचित छ । यसका अधिकांश फिचरहरू युट्युब जस्तै छन् । तर, केही पृथक फिचरले भिमिओलाई उत्कृष्ट विकल्प बनाएको छ । भिमिओमा अकाउन्ट बनाइसकेपछि तपाईँले ग्यालरीमा भएका वा सोझै भिमिओका टेम्प्लेट प्रयोग गरेर भिडिओ तयार पार्न सक्नुहुन्छ ।
त्यस्तै यो प्लेटफर्ममा भिडिओको बिचमा युट्युबमा जस्तो विज्ञापन देखिँदैन । यो विज्ञापनरहित प्लेटफर्म हो । यो प्लेटफर्मले क्रियटरले अपलोड गर्ने भिडिओबाट शुल्क लिने भएकाले यसमा विज्ञापन छैनन् । भिमिओमा निःशुल्क भिडिओ अपलोड गर्ने सुविधा पनि हुन्छ । तर, आफ्नो भिडिओ सुरक्षित राख्न चाहने प्रयोगकर्ताले भने शुल्क तिरेर यो प्लेटफर्म प्रयोग गर्न सक्छन् ।
डेलिमोसन युट्युब जत्तिकै पुरानो भिडिओ शेयरिङ प्लेटफर्म हो । गुगलले युट्युबलाई आफ्नो स्वामित्वमा लिएपछि यो प्लेटफर्मको लोकप्रियता घटेको थियो ।
अहिले डेलिमोसनलाई युट्युबको वैकल्पिक एपका रूपमा हेरिएको छ । युट्युब जस्तै डेलिमोसनमा पनि विज्ञापन सहितका भिडिओ हुने गर्छन् । यसलाई भिडिओ सुरक्षितसँग राख्ने प्लेटफर्मका रूपमा पनि लिन सकिन्छ ।
डेलिमोसनले स्वतः भिडिओमा कमेन्ट बन्द गर्ने सुविधा उपलब्ध गराएको हुन्छ । केही वर्षअघि यस प्लेटफर्ममा भिडिओको भ्युजको सङ्ख्या पनि नदेखिने बनाइएको थियो । डेलिमोसनले साओमीसँग सहकार्य गरेको छ । त्यसैले साओमीका फोनमा डेलिमोसनको एप पहिले नै इन्स्टल भएर आएको हुन्छ ।
फेसबुकमा भिडिओ अपलोड गर्न मिल्ने सुविधा नौलो कुरा होइन । तर, फेसबुकले भिडिओलाई मात्र केन्द्रित गरेर ल्याएको ‘फेसबुक वाच’ प्लेटफर्मका बारेमा तपाईँलाई थाहा नहुन सक्छ । फेसबुक वाच र युट्युब धेरै कुराले समान छन् ।
विशेषगरी निशुल्क भिडिओ अपलोड गर्न सकिने सुविधा हुनु, विज्ञापन सहितका भिडिओ हुनुले ‘फेसबुक वाच’लाई युट्युब जस्तै प्लेटफर्म बनाएको छ । पछिल्लो समय फेसबुकले रिलको सुविधा पनि ल्याएको छ । तपाईँले रिलमा छोटा भिडिओ (९० सेकेन्डसम्मका) अपलोड गर्न सक्नुहुन्छ ।
संसारका चर्चित टेलिभिजन शो जस्तै बफी (Buffy), भ्याम्पायर स्लाएर (Vampire Slayer) र फायरफ्लाई (Firefly) फेसबुक वाचबाटै स्ट्रिम हुन्छन् । त्यसबाहेक पनि फेसबुकले गेमिङ भिडिओ स्ट्रिम गर्ने स्ट्रिमरलाई विशेष प्राथमिकता दिएको हुन्छ । यदि तपाईँ स्ट्रिमर हो भने तपाईँका लागि फेसबुक वाच उपयुक्त विकल्प बन्न सक्छ । त्यसबाहेक पनि फेसबुक वाचका विभिन्न फाइदाहरू रहेका छन् ।
लाखौं भिडिओ स्टोरेज गरेर राखिएको भए पनि फेसबुक वाच युट्युबभन्दा केही जटिल भने छ । यो फिचर फेसबुकमै इन्ट्रिगेट गरेकाले प्रयोगकर्तालाई युट्युब जस्तो सहज नलाग्न सक्छ । तर पनि भिडिओ स्टोरेज गर्नका लागि होस् वा भिडिओ हेर्नका लागि होस् फेसबुक वाच उपयुक्त विकल्प बन्न सक्छ ।
कन्टेन्ट क्रियटरका लागि टिकटक उपयुक्त विकल्प हो । अहिले नै टिकटकलाई युट्युबको विकल्प भनिहाल्ने अवस्था छैन । तर युट्यबुका प्रयोगकर्ता टिकटकतिर सरेको छ भन्दा फरक नपर्ला । किनभने टिकटकमा लामो भिडिओ (१५ मिनेटभन्दा बढी) अपलोड गर्न मिल्ने सुविधा छैन ।
तर, धेरै प्रयोगकर्तामाझ पुग्न यो प्लेटफर्मले विशेष सहयोग गरेको हुन्छ । टिकटकको अल्गोरिदमले प्रयोगकर्ताले बनाएको भिडिओ उपयुक्त अडियन्ससम्म पुर्याउन मद्दत गर्छ । त्यसैले पनि टिकटकलाई युट्युबका विकल्पमा प्रयोग गर्न सक्नुहुन्छ ।
कतिपय देशमा टिकटकमाथि प्रतिबन्ध पनि लागेको छ । त्यसैले पनि भविष्यमा तपाईँको क्षेत्रमा टिकटक प्रतिबन्ध नलाग्न भन्न सकिँदैन । तपाईँले आफ्ना भिडिओ धेरै प्रयोगकर्तामाझ पुर्याउनका लागि भने टिकटकको प्रयोग गर्न सक्नुहुन्छ ।
ट्वीट्च अमेरिकी भिडिओ स्ट्रिमिङ प्लेटफर्म हो । उक्त प्लेटफर्मममा हरेक पटक लाखौं भिडिओ स्ट्रिमिङ भइरहेका हुन्छन् । अमेजनको स्वामित्वमा रहेको यो प्लेटफर्म भिडिओ गेम स्ट्रिम गर्ने प्रयोगकर्तामाझ परिचित छ ।
यदि तपाईँ युट्युबमा हुने भिडिओ स्ट्रिमिङ हेर्न रुचाउनु हुन्छ भने ट्वीट्च तपाईँका लागि उपयुक्त विकल्प हुनसक्छ । गेमिङका लागि मात्र नभई अन्य विभिन्न विधाका स्ट्रिमिङ भिडिओ हेर्ने सुविधा भएको यो प्लेटफर्म आम्दानीका हिसाबले पनि उत्तिकै अगाडि छ ।
तपाईँ स्ट्रिमर हो भने स्ट्रिम गरेको भिडिओमा विज्ञापन राखेर वा डोनेसन मागेर पनि आम्दानी गर्न सक्नुहुन्छ । त्यस्तै कुनै क्रियटरलाई सहयोग गर्नुपर्यो भने पनि आम्दानी गर्न सकिने सुविधा यो प्लेटफर्मले दिएको छ । त्यस्तै यस प्लेटफर्ममा अडियन्सको माग अनुसार पहिले स्ट्रिम गरेका भिडिओ पुनः देखाउने सुविधा पनि रहेको छ ।