close

सम्भावित जोखिम देखाउँदै एआईका पिताले छाडे गुगल

टेकपाना टेकपाना

बैशाख १८, २०८० १८:६

सम्भावित जोखिम देखाउँदै एआईका पिताले छाडे गुगल

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का सुरुवातकर्तामध्येका एक जेफ्री हिन्टन भविष्यमा एआईबाट निम्तिन सक्ने जोखिमको कारण देखाउँदै गुगलबाट बाहिरिने भएका छन् ।

 'पायोनिर अफ डिप लर्निङ' भनेर समेत चिनिने हिन्टनले आवद्ध भएको १० वर्षपछि गुगल छोड्न लागेको न्यू योर्क टाइम्सले जनाएकाे छ ।

आधुनिक एआईमा नयाँ आयाम थपेका उनी आफूलाई प्रविधिको भविष्य देखेर डर भएको बताउँछन् । जुन प्रविधिलाई उनले सुरु गरे, सोही प्रविधिले भोलिको दिनमा मानव जीवनमा जोखिम निम्त्याउन सक्ने उनकाे विश्लेषण छ ।

गुगलले उनको एआई स्टार्टअप कम्पनी 'डीएनएनरिसर्च' खरिद गरेपछि उनी गुगलमा आवद्ध भएका थिए ।

हिन्टनको कम्पनीले सो समयमा मसिन लर्निङमा राम्रो काम गरिरहेको थियो । गुगलले सुरुमा फोटो सर्च लगायतका फिचरमा उनकाे प्रविधि प्रयोग गरेको थियो । 

यद्यपि पछिल्लो केही समयमा भने हिन्टन आफैँले एआईमाथि नैतिक प्रश्नहरू गर्ने गरेका छन् । उनको मुख्य चिन्ता भनेको सेनाले युद्धका लागि एआई प्रयोग गर्नेमा रहेको छ ।

हिन्टनले सन् १९८० को समयमा अल्गोरिदम लगायत मसिन लर्निङको अवधारणामा काम गर्न सुरु गरेका थिए । यसले मानिसको दिमागले जस्तै काम गर्नेमा हिन्टन ढुक्क थिए, तर अहिलेसम्म यो प्रविधिमा नयाँ खोज र सुधार भने केही हुन नसकेको उनको बुझाइ छ ।

पछिल्लो अध्यावधिक: बैशाख १८, २०८० १९:२६