close

नेपालको जीडीपीमा लगातार घट्दै सूचना तथा सञ्चार क्षेत्रको योगदान !

टेकपाना टेकपाना

बैशाख १९, २०८० २०:२२

नेपालको जीडीपीमा लगातार घट्दै सूचना तथा सञ्चार क्षेत्रको योगदान !

काठमाडौं । नेपालको कूल गार्हस्थ उत्पादन (जीडीपी) मा सूचना तथा सञ्चार क्षेत्रको योगदान हिस्सा घट्दै गएको छ । केन्द्रिय तथ्याङ्क विभागले  मङ्गलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक राष्ट्रिय लेखा अनुमानले यस्तो अवस्था देखाएको हो । 

चालू आर्थिक वर्षमा नेपालको कूल जीडीपीमा यस क्षेत्रको योगदान १.९७ प्रतिशत रहने अनुमान छ । जुन गएको १० वर्षकै न्यून हो । विगत तीन वर्षदेखि सूचना तथा सञ्चार क्षेत्रको योगदान हिस्सा लगातार ओरालो लाग्दै गएको देखिन्छ ।

आव २०७६/०७७ मा जीडीपीमा २.२४ प्रतिशत योगदान रहेकोमा त्यसपछि आव २०७७/७८ मा २.२३ प्रतिशत र २०७८/७९ मा २.०९ प्रतिशतमा खस्केको थियो ।

नेपालको कूल जीडीपीमा सबैभन्दा धेरै २४.१२ प्रतिशत योगदान कृषि क्षेत्रको र त्यसपछि थोक तथा खुद्रा व्यापार, सवारी साधनको मर्मत सम्भारको योगदान १५.३९ प्रतिशत रहने अनुमान छ ।

नेपालको कूल गार्हस्थ उत्पादनमा चालू आर्थिक वर्षमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रको योगदान दुई खर्ब ३२ अर्ब ३८ करोड १० लाख रुपैयाँ रहने अनुमान गरिएको छ । गत आर्थिक वर्षमा यस क्षेत्रको योगदान दुई खर्ब १८ अर्ब ९४ करोड ६० लाख रुपैयाँ रहेको  थियो ।

तर वार्षिक वृद्धि दरको हिसाबले भने सूचना तथा सञ्चार क्षेत्रको योगदान घटेको छ । गत वर्ष ४.१३ प्रतिशतले वृद्धि भएको योगदान वृद्धि दर यस वर्ष घटेर ४.०७ मा सीमित हुने अनुमान गरिएको छ । 

यस आर्थिक वर्षमा सूचना तथा सञ्चार क्षेत्रको उत्पादनका लागि एक खर्ब ३९ अर्ब ७६ करोड ७० लाख रुपैयाँ खर्च हुने र ९२ अर्ब ६१ करोड ४० लाख रुपैयाँ मूल्य अभिवृद्धि हुने प्रक्षेपण गरिएको छ ।

अनुमान अनुसार चालू आर्थिक वर्षमा नेपालको कूल  गार्हस्थ उत्पादन ८० खर्ब ९० अर्ब ६६ करोड ९० लाख रुपैयाँ रहने प्रक्षेपण गरिएको छ । 

 

त्यस्तै विद्युत, ग्यास, वाष्प र एयर कन्डिसनिङ आपूर्ति तर्फको योगदान चालू आर्थिक वर्षमा दुई खर्ब २७ अर्ब ६५ करोड ९० लाख रुपैयाँ पुग्ने अनुमान छ । नेपालको कूल गार्हस्थ उत्पादमा सबैभन्दा धेरै योगदान कृषि क्षेत्रको १५ खर्ब आठ अर्ब ५७ करोड ५० लाख रुपैयाँ रहने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १९, २०८० २०:२२