close

पीएमपीएल साउथ एसियाको फाइनलमा कुन कुन नेपाली टिमले बनाउलान् आफ्नो स्थान ?

टेकपाना टेकपाना

बैशाख २४, २०८० १३:५

पीएमपीएल साउथ एसियाको फाइनलमा कुन कुन नेपाली टिमले बनाउलान् आफ्नो स्थान ?

काठमाडौँ । पब्जीको दक्षिण एसियाली स्तरको सबैभन्दा ठूलो प्रतियोगिता ‘पब्जी मोबाइल प्रो लिग साउथ एसिया च्याम्पियनसिप स्प्रिङ २०२३’ मा आज समूह चरणको खेल सकिँदैछ । 

मे ४ देखि सुरुवात भएको यो प्रतियोगितामा समूह चरणमा दिनको पाँच खेलको हिसाबले कुल १५ खेल सम्पन्न भइसकेका छन् । अन्तिम पाँच खेल भने आज हुँदैछ । यो खेल सकिएसँगै फाइनलमा जाने १६ टिमको टुङ्गो लाग्नेछ । 

आज हुने समूह चरणको अन्तिम खेलमा २० टिमले प्रतिस्पर्धा गर्दैछन् । जसलाई चार-चार टिमका हिसाबले पाँच समूहमा राखिएको छ । हरेक टिमको १२ खेल सम्पन्न हुँदा तीन मङ्गोलियन टिम ‘स्टलवार्ट ई-स्पोर्ट्स’, ‘फो मिराकल भाइब्स’ र ‘म्याबटेक्स ई-स्पोर्ट्स’ क्रमश पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका छन् । 

‘स्टलवार्ट ई-स्पोर्ट्स’को १२ खेलमा तीन चिकेन डिनर र ७३ एलिमिनेसन पोइन्ट सहित कुल १२० पोइन्ट रहेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको ‘फो मिराकल भाइब्स’को १०९ पोइन्ट र तेस्रो स्थानको ‘म्याबटेक्स ई-स्पोर्ट्स’को १०८ पोइन्ट रहेको छ । 

पब्जी मोबाइल प्रो लिग साउथ एसिया स्प्रिङ २०२३ मा जस्तै यहाँ पनि मङ्गोलियन टिम नै हाबी बन्दै आएका छन् । यो प्रतियोगितामा नेपाल, मङ्गोलिया र पाकिस्तानका टिमहरू सहभागी छन् । 

नेपाली टिमहरुको स्थानको कुरा गर्ने हो भने पाँचौ, छैटौँ, सातौँ र आठौँ स्थानमा क्रमश ‘लियो ई-स्पोर्ट्स’, ‘हाइभोल्टेज ई-स्पोर्ट्स’, ‘डीआरएस गेमिङ’ र ‘ट्रेन टु किल’(टीटूके) ई-स्पोर्ट्स रहेका छन् । त्यस्तै ‘इलुमिनेट क्रु’ ११ औँ, ‘रअ अफिसियल’ १५ औँ र ‘स्काइलाइट गेमिङ’ १८ औँ स्थानमा रहेको छ ।

फाइनल प्रवेशका लागि आजको खेल विशेष गरी तीन नेपाली टिम ‘इलुमिनेट क्रु’, ‘रअ अफिसियल’ र ‘स्काइलाइट गेमिङ’को लागि निकै नै महत्त्वपूर्ण रहेको छ । 

‘स्काइलाइट गेमिङ’लाई बाँकी चार खेलमा राम्रो गर्दै शीर्ष १६ भित्र रहने चुनौती रहेको छ । त्यस्तै ‘इलुमिनेट क्रु’ र ‘रअ अफिसियल’लाई पनि सुधारिएको खेल प्रदर्शन गर्दै अङ्क तालिकामा आफ्नो स्थान सुरक्षित राख्ने चुनौती छ । यो प्रतियोगिताको फाइनल ११ मे देखि १४ मे सम्म चल्नेछ ।

यो प्रतियोगिताको कुल पुरस्कार राशि एक लाख पचास हजार अमेरिकी डलर (करिब २ करोड नेपाली रुपैयाँ) राखिएको छ । प्रतियोगिता विजेताले करिब ३४ लाख नेपाली रुपैयाँ हात पार्नेछन् । 

उपविजेताले करिब २६ लाख १३ हजार नेपाली रुपैयाँ र तेस्रो हुने टिमले करिब १८ लाख तिस हजार नेपाली रुपैयाँ पाउने छन् । साथै यो प्रतियोगितामा विजेता हुनेले पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनल २०२३ मा पनि आफ्नो स्थान पक्का गर्नेछन् ।

खेल साँझ ५:४५ बाट सुरु हुनेछ । जसको प्रत्यक्ष प्रसारण पब्जी मोबाइल साउथ एसिया ई-स्पोर्ट्स फेसबुक तथा युट्युबबाट हेर्न सकिने छ । 


 

पछिल्लो अध्यावधिक: बैशाख २४, २०८० १३:३९