close

आज सार्वजनिक हुँदैछन् गुगलका यी उत्पादन, यसरी हेर्नुहोस् लाइभ

टेकपाना टेकपाना

बैशाख २७, २०८० २१:२३

आज सार्वजनिक हुँदैछन् गुगलका यी उत्पादन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । आज गुगलको वर्षकै सबैभन्दा ठूलो कार्यक्रम 'आई/ओ' डेभलपर कन्फरेन्स आयोजना हुँदैछ । यस अवसरमा कम्पनी आफ्ना महत्त्वपूर्ण सेवा तथा उत्पादन सार्वजनिक गर्ने गर्छ ।

यस वर्षको 'गुगल आई/ओ' कार्यक्रममा पिक्सेल सेभेन ए, पिक्सेल फोल्ड, एन्ड्रोइड भर्सन १४ तथा पिक्सेल एट सिरिजको ट्याब्लेट सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

यो कार्यक्रम माउन्टेन भ्यु क्यालिफोर्नियामा रहेको शोरलाइन एम्पिथ्रियटरमा आयोजना हुनेछ । नेपाली समय अनुसार आज राति पौने ११ बजे हुने गुगल आई/ओ डेभलपर कन्फरेन्सको कार्यक्रम युट्युबमा लाइभ हेर्न सकिन्छ । लाइभ हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

विभिन्न सेवा तथा उत्पादन राति पौने ११ बजेपछि मात्र सार्वजनिक हुने भएपनि ती उत्पादनको केही जानकारी बाहिरिसकेको छ ।

एन्ड्रोइड १४

कम्पनीले गुगल आई/ओ २०२३ को अवसरमा एन्ड्रोइड अपरेटिङ सिस्टमको भर्सन १४ सार्वजनिक गर्न लागेको बताइएको छ । बाहिरिएका विभिन्न सूचना अनुसार एन्ड्रोइड १४ सेक्युरिटीका सवालमा केन्द्रित छ ।

डेभलपर प्रिभ्यु र बेटा रिलिजमा गुगलले सार्वजनिक गरेको विवरण अनुसार एन्ड्रोइड १४ ले ट्याब्लेट तथा फोल्डेबल डिभाइसमा आकर्षक एक्सेसिबिलिटी फिचर उपलब्ध गराउनेछ ।

त्यस्तै प्रयोगकर्ताले आफूले चाहे अनुसार डिजाइन कस्टमाइज गर्न सक्नेछन् ।

गुगलले नयाँ अपरेटिङ सिस्टममा सिस्टम लेभल सेक्युरिटी लागू गर्न लागेको बताइएको छ । त्यस्तै यसले क्रेडेन्सियल मेनेजर तथा पासकी सपोर्ट गर्नेछ ।

पिक्सेल फोल्ड

गुगलकाे पहिलाे फाेल्डेबल आज राति सार्वजनिक हुने चर्चा छ । फोनका केही फिचर बाहिरिसकेका छन् । बाहिरिएका विभिन्न जानकारीलाई आधार मान्ने हो भने पिक्सेल फोल्डमा ५.८ इन्चको बाहिरी ओलेड डिस्प्ले र ७.६ इन्चको भित्री डिस्प्ले हुनेछ ।

७२ घण्टासम्म चार्ज टिक्ने यस फोनमा १२ मेगापिक्सेलका दुईओटा क्यामेरा र ८ मेगापिक्सेलको सेल्फी क्यामेरा हुने बताइएको छ ।

त्यस्तै फोनमा पिक्सेल सेभेन र सेभेन प्रोमा प्रयोग गरिएको गुगलको आफ्नै टेन्सर जी टू चिपसेट प्रयोग हुनेछ भने रिफ्रेस रेट १२० हर्जसम्मको हुने चर्चा छ ।

यसैगरी यो फोन कालो र सेतो गरी दुई रङमा उपलब्ध हुनेछ भने १२ जीबी र्‍याममा उपलब्ध हुनेछ ।

२५६ जीबी स्टोरेज क्षमता भएको फोनको मूल्य १८०० डलर (करिब दुई लाख ३६ लाख रुपैयाँ) र ५१२ जीबी स्टोरेज क्षमता भएको फोनको मूल्य १९२० डलर (करिब दुई लाख ५१ हजार रुपैयाँ) हुने अनुमान छ ।

पिक्सेल सेभेन ए

कम्पनीले सार्वजनिक गर्ने अर्को प्रडक्ट हो, पिक्सेल सेभेन ए । कम्पनीले यसमा ९० हर्ज रिफ्रेशरेट सहितको ६.१ इन्च एफएचडी प्लस रेजोलुसन डिस्प्ले उपलब्ध गराउने बताइएको छ ।

बाहिरिएका सूचना अनुसार यो मोडेल पनि गुगलको आफ्नै टेन्सर जीटु प्रोसेसरद्वारा सञ्चालित हुनेछ, जसमा ८ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टोरेज हुनेछ ।

पिक्सेल सेभेन एमा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा र १३ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा हुनेछ । त्यस्तै फोनमा ४३०० एमएएच क्षमताको ब्याट्री उपलब्ध हुने जनाइएको छ, जसलाई चार्ज गर्न १८ वाटको चार्जर र वायरलेस चार्जर उपलब्ध हुने चर्चा छ ।

फोनको मूल्य ४९९ अमेरिकी डलर पर्ने अपेक्षा छ ।

पिक्सेल ट्याब्लेट

पिक्सेल ट्याबलेट पहिलो पटक गत वर्षको गुगल आई/ओमा प्रदर्शन गरिएको थियो । यो वर्ष भने कम्पनीले आफ्नो पिक्सेल ट्याब्लेट सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

यसमा १६००*२५६० पिक्सेल रेजोलुसनको ११ इन्च एलसीडी स्क्रिन हुनेछ । प्रिमियम डिजाइन भएको पिक्सेल ट्याब्लेट टेन्सर जीटु प्रोसेसरद्वारा सञ्चालित हुनेछ ।

पिक्सेल एट प्रिभ्यु, पिक्सेल वाच २, पिक्सेल बड

गुगलले सार्वजनिक गरेको टिजरमा कम्पनीले पिक्सेल एट, पिक्सेल वाच टु र पिक्सेल बड पनि सार्वजनिक गर्ने संकेत गरेको छ ।

यसैगरी कम्पनीले औपचारिक रूपमा आफ्नो एआई च्याटबट बार्ड आजै सार्वजनिक गर्न सक्नेछ ।

पछिल्लो अध्यावधिक: बैशाख २७, २०८० २१:४१