काठमाडौं । ह्वाट्सएपले आधिकारिक रुपमा वेयर ओएसका लागि आफ्नो एप जारी गरेको छ । अब प्रयोगकर्ताले उनीहरूको स्मार्टवाचबाट नै टेक्स्ट र भ्वाइस सन्देशहरू पठाउन र प्राप्त गर्नसक्ने भएका छन् ।
हाल एपलाई कम्पनीले बेटा टेस्टरका लागि मात्र उपलब्ध गराएको छ । यो एप सामसङ ग्यालेक्सी वाच फोर, गुगल पिक्सेल वाच लगायत अन्य स्मार्टवाचमा काम गर्ने बताइएको छ ।
अब प्रयोगकर्ताले वेयर ओएसबाट नै ह्वाट्सएपमा गरेको च्याट ब्राउज गर्न, च्याट हिस्ट्री स्क्रोल गर्न, टेक्स्ट वा आवाज प्रयोग गरेर जवाफ दिनसक्ने छन् ।
त्यस्तै यसबाट मेसेज पनि डिलिट गर्न सकिने जस्ता फिचर उपलब्ध हुने विश्वास गरिएको छ । यद्यपि सार्वजनिक रूपमा यो सुविधा कहिलेबाट उपलब्ध हुन्छ भनेर कम्पनीले खुलाएको छैन ।