close

इन्टरनेट महसुल बढाउन अनुमति दिएका छैनौं, बढी शुल्क लिए खबर गर्नूः प्राधिकरण

टेकपाना टेकपाना

जेठ १, २०८० १७:२९

इन्टरनेट महसुल बढाउन अनुमति दिएका छैनौं, बढी शुल्क लिए खबर गर्नूः प्राधिकरण

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले कुनै पनि इन्टरनेट सेवाप्रदायकलाई इन्टरनेट महसुल बढाउन अनुमति नदिएको भन्दै बढी शुल्क लिए खबर गर्न अनुरोध गरेको छ ।

केही मिडियामा इन्टरनेट सेवाप्रदायक कम्पनीले अनुमति नलिएरै आफूखुसी इन्टरनेटको शुल्क बढाएको समाचार बाहिरिएपछि नियामक प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै महसुल बढाउन कुनै अनुमति नदिएकाे स्पष्ट पारेकाे छ ।

"हाल विभिन्न पत्रपत्रिकाहरूमा इन्टरनेट सेवा प्रदायकहरूले आपसी मिलोमतोमा इन्टरनेट सेवाको शुल्क बढाउने गरी भद्र सहमति भइसकेको भनी समाचार प्रकाशित भएका साथै केही इन्टरनेट सेवाप्रदायकले प्राधिकरणको निर्देशन भन्दै इन्टरनेट सेवाको महसुल दर बढाएको भनी उपभोक्ताहरूले विभिन्न माध्यमबाट गुनासो व्यक्त गरेकोप्रति नेपाल दूरसञ्चार प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको छ ।"

"इन्टरनेट सेवा प्रदायकहरूले मिलेमतोमा आफूखुसी इन्टरनेट सेवाको शुल्क र महसुल दर बढाउनु दूरसञ्चार ऐन, २०५३ तथा प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन, २०६३ विपरीत हुने ब्यहोरा सम्बन्धित सरोकारवालाहरूलाई जानकारी गराइन्छ," विज्ञप्तिमा भनिएको छ ।

प्राधिकरणका अनुसार इन्टरनेट सेवाप्रदायकले सेवा प्रदान गरेबापत लिने शुल्क आफूखुसी बढाउन पाउँदैनन् । त्यसका लागि महसुल दर दूरसञ्चार ऐन, २०५३ को दफा ४२ तथा अनुमतिपत्रको सर्त बमोजिम प्राधिकरणबाट अनिवार्य रूपमा स्वीकृत गराउनुपर्छ ।

त्यसपछि प्राधिकरणबाट स्वीकृत भएको मितिसमेत उल्लेख गरी ग्राहक तथा सर्वसाधारणको जानकारीका लागि सूचना प्रकाशित गर्नुपर्छ । यति गरेपछि मात्र शुल्क बढाउन पाउने कानूनी व्यवस्था रहेको छ । उक्त व्यवस्थाअनुसार हाल कुनै पनि इन्टरनेट सेवाप्रदायकले स्वीकृत शुल्क र महसुल दरभन्दा बढी लिने गरी अनुमति प्रदान नगरिएको प्राधिकरणको भनाइ छ ।

"इन्टरनेट सेवाको विद्यमान स्वीकृत शुल्क र महसुल दरभन्दा बढी शुल्क लिने गरी प्राधिकरणले हालसम्म कुनै पनि सूचना जारी नगरिएको र शुल्क र महसुल दर बढाउन इन्टरनेट सेवा प्रदायकहरूलाई कुनै पनि निर्देशन नदिएको हुँदा प्रस्तुत विषयमा स्पष्ट हुन सम्बन्धितलाई जानकारी गराइन्छ," विज्ञप्तिमा अगाडि लेखिएको छ ।

उपभोक्तालाई स्वीकृत महसुल दरभन्दा बढी शुल्क र महसुल दर लिने गरी बिल र बीजक जारी गरिएको भए सोको जानकारी प्राधिकरणलाई उपलब्ध गराइदिन प्राधिकरणले अनुरोधसमेत गरेको छ ।

पछिल्लो अध्यावधिक: जेठ १, २०८० १९:१२