close

टाइप गर्दा नेपाली, तर फेसबुकमा पेस्ट गर्दा अङ्ग्रेजी शब्द देखियो ? यसरी गर्नुहोस् समाधान

टेकपाना टेकपाना

जेठ ५, २०८० १४:१

टाइप गर्दा नेपाली, तर फेसबुकमा पेस्ट गर्दा अङ्ग्रेजी शब्द देखियो ? यसरी गर्नुहोस् समाधान

काठमाडौं । कम्प्युटरमा नेपाली शब्द टाइप गर्दा विभिन्न फन्टमा लेख्ने प्रचलन छ । चाहे वर्ड फाइलमा लेख्दा होस् वा अन्य कुनैमा । विशेषगरी प्रीति, अन्नपूर्ण, हिमाल, गणेश, श्रीनाथ, आकृतिजस्ता नेपाली फन्ट बढी प्रयोग हुने गर्छ ।

तर, यस्ता फन्टमा लेखिएका शब्दहरू वर्ड फाइलमा मात्र सीमित हुन्छ । भन्नुको अर्थ कुनै नेपाली फन्ट छानेर वर्ड फाइलमा केही लेख्नुभयो, र लेखेका ती शब्दहरूलाई फेसबुकमा पोस्ट गर्न खोज्नुभयो वा अन्य प्लेटफर्ममा पेस्ट गर्नुभयो भने अङ्ग्रेजी अक्षरहरू बनेर देखिन्छ ।

आज हामी टाइप गर्दा नेपाली हुने, तर कतै पेस्ट गर्दा अक्षर संरचना बिग्रिएर अङ्ग्रेजी अक्षर देखिने समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदैछौं ।

किन आउँछ यस्तो समस्या ?

हामीले आफ्नो कम्प्युटरमा विभिन्न किसिमका फन्ट इन्स्टल गरेका हुन्छौं । उदाहरणका लागि किबोर्डमा 'एस' टाइप गर्दा स्क्रिनमा 'क' अक्षर टाइप हुनु फन्टकै उपज हो । तर, इन्स्टल गरेका यस्ता फन्ट वर्ड फाइल, फोटोशप, प्रिमियर प्रो जस्ता सफ्टवेयरमा मात्र उपयोगी हुन्छन् ।

हामीले यसरी कुनै फन्ट छानेर वर्ड फाइलमा टाइप गरेका शब्दहरू कुनै ब्राउजर वा भनौं फेसबुकमा पोस्ट गर्दा अक्षरको संरचना बिग्रिन्छ । उदाहरणका लागि प्रीति फन्ट छानेर वर्ड फाइलमा 'म खेल खेल्छु' लेख्नु भएको छ र त्यसलाई कपी गरी फेसबुकमा पेस्ट गर्नुभयो भने (d v]n v]N5') यस्तो देखिन्छ ।

कसरी समाधान गर्ने यस्तो समस्या ?

अहिले इन्टरनेटमा त्यस्तै थुप्रै वेबसाइटहरू छन्, जसले प्रीति फन्टलाई युनिकोडमा रूपान्तरण गर्न मद्दत गर्छ । टेकपानाको वेबसाइटमा पनि यो सुविधा रहेको छ । तपाईंले 'preeti to unicode' सर्च गरेर वा सोझै यहाँ क्लिक गरेर फन्ट रुपान्तरण गर्न सक्नुहुन्छ ।

यसरी बारम्बार फन्ट परिवर्तन गर्ने झन्झट लिन चाहनुहुन्न भने लेङ्ग्वेज टेक्नोलोजी केन्द्रको वेबसाइटमा गएर डाउनलोडको अप्सन छानी 'Nepali Unicode Traditional'को अप्सनमा गएर त्यसलाई डाउनलोड गरी प्रयोग गर्न सक्नुहुन्छ ।

यो लेआउट डाउनलोड गर्दा तपाईंले कुनै फन्ट छान्नुपर्ने हुँदैन । प्रीति फन्टमा टाइप गर्दा जुन कि दबाउनु हुन्छ यसमा पनि त्यस्तै हुन्छ । तर, फरक के भने यसमा टाइप भएका टेक्स्ट युनिकोड हुन्छन् । यसलाई कपी गरेर फेसबुक वा अन्य अन्य ब्राउजरमा पेस्ट गर्दा नेपाली अक्षर नै देखिन्छन् ।

यसैगरी तपाई 'k' टाइप गर्दा नेपालीमा 'क' लेखियोस् भन्ने चाहनुहुन्छ भने लेङ्ग्वेज टेक्नोलिजी केन्द्रको साइटमा गएर नेपाली युनिकोड रोमनाइज्ड (अथवा यहाँ क्लिक गरी) डाउनलोड गरेर इन्स्टल गर्न सक्नुहुन्छ ।

यसरी वर्ड फाइलमा नेपाली अक्षर लेखेर अन्य प्लेटफर्ममा त्यही अक्षर पेस्ट गर्दा जस्ताको त्यस्तै अक्षरहरू पेस्ट हुने बनाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: जेठ ५, २०८० १४:१