close

अमेरिकामा विशाल मल्लको टेस्ला कारमा आगलागी, कम्पनी भन्छः खरानीलाई सर्भिस सेन्टर ल्याउनू !

टेकपाना टेकपाना

जेठ ६, २०८० २०:४२

अमेरिकामा विशाल मल्लको टेस्ला कारमा आगलागी, कम्पनी भन्छः खरानीलाई सर्भिस सेन्टर ल्याउनू !

काठमाडौं । जब आफ्नो टेस्ला गाडीमा आगो लाग्याे, विशाल मल्लले कम्पनीको ग्राहक सेवा केन्द्रमा सम्पर्क गरे । जवाफमा कम्पनीका ग्राहक सेवा प्रतिनिधिले उनको जलेको कार सर्भिस सेन्टरमा ल्याउन सुझाव दिए ।

नेपाली मूलका मल्ल अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बिजनेस इन्साइडरलाई मल्लले भने अनुसार उनी मे ६ मा हाइवे ९९ मा ‘टेस्ला वाई’ गुडाइरहेका थिए ।

यात्रा गरिरहँदा उनलाई टायर हल्लिरहेको महसुस भयो । टायर जाँच्न बाहिर निस्किए । तर, त्यतिबेला उनको कारबाट धुवाँको मुस्लो निस्किन थालिसकेकाे थियो । "कम्प्लेन गर्न जब मैले टेस्लाको कस्टमर सर्भिस सेन्टरमा सम्पर्क गरेँ, उनीहरूले रिपोर्ट त लिए । तर, कसैले त्यसको प्रतिक्रिया दिएनन्," बिजनेस इन्साइडरसँग उनले भने । 

त्यसपछि तीन/चार पटक सम्पर्क गरिसक्दा पनि त्यसबारे कुनै फलोअप नभएको मल्लको गुनासो छ । उनले फोनमा ग्राहक सेवा एजेन्टसँग सम्पर्क गर्ने मौका पाए पनि त्यसले उनको समस्या हल नगरेको भन्दै उनले आपत्ति जनाएका छन् ।

"मैले एक जना एजेन्टसँग कुरा गरेको थिएँ," मल्लले रेडिटमा पोस्ट गर्दै लेखेका छन्, "तर, उनले पूरै जलिसकेको मेरो कारलाई सर्भिस सेन्टरमा ल्याउन सुझाव दिए । मलाई कम्पनीबाट यसको जवाफ चाहिन्छ । ता कि अन्य मानिसहरू पनि सुरक्षित हुन सकून् ।"

एनबीसीमा आवद्ध एक सञ्चारमाध्यमलाई मल्लले आफू यो घटनामा भाग्यमानी भएको र जे भयो त्यसप्रति जवाफविहीन भएको बताएका छन् ।

"यदि यही घटना ३० मिनेटपछि भएको भए, त्यसमा मेरो सबै परिवार पर्थ्याे" उनले रेडिट पाेस्टमा लेखेका छन् । पारिवारिक जमघटका लागि उनी उक्त गाडीमा घरतिर आफ्नी श्रीमती र दुई छोरालाई लिन जान लागेका थिए ।

यसबारे बिजनेस इन्साइडरले टेस्लासँग बुझ्न खोजेको थियो । तर, कम्पनीले कुनै प्रतिक्रिया दिएको छैन । उता मल्लले आफ्नो यही समस्या उठान गर्नका लागि ट्वीटर अकाउन्ट खोलेका छन् । बिहीबार पहिलो पटक उनको ट्वीटर ह्यान्डलबाट भिडिओ पोस्ट भएको देख्न सकिन्छ । उक्त भिडिओमा उनको टेस्ला वाई गाडी दनदनी जलिरहेको देखिन्छ ।

त्यस्तै उनले अन्य भिडिओ राखेर कम्पनी तथा कम्पनीका मालिक एलन मस्कलाई ट्याग गरिरहेका छन् । तर, कम्पनीका प्रतिनिधिले उनको ट्वीटमा कुनै किसिमको रिप्लाई दिएका छैनन् । 

पछिल्लो अध्यावधिक: जेठ १९, २०८० १४:९