काठमाडौं । सरकारले सबै सार्वजनिक निकायमा ई बिडिङ लागू गर्ने घोषणा गरेको छ ।
सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन् ।
''ई-बिडिङलाई थप व्यवस्थित गरी सबै सार्वजनिक निकायमा विस्तार गरिनेछ,'' उनले भने ।
साथै सरकारले सबै ठेक्का सम्झाैताका लागि एकीकृत प्रगति विवरणकाे व्यवस्थासमेत गरेकाे छ । ''निर्माण व्यवसायीले मुलुकभर लिएको ठेक्का सम्झौताको विवरण र कार्यप्रगतिको आवधिक विवरण एकीकृत रूपमा प्राप्त हुने गरी सूचना प्रणाली विकसित गरिरनेछ,'' उनले भने ।
यस प्रणालीको आधारमा सार्वजनिक खरिद अनुगमन कार्यले ठेक्का सम्झौताको प्रगति अनुगमन गर्ने उनले बताए । अनुगमनबाट गम्भीर प्रकृतिका लापरवाही देखिएमा सम्बन्धित आयोजनाले पेस गरेको प्रतिवेदन समेतका आधारमा निर्माण व्यवसायीको इजाजतपत्र रद्दसम्मको कारवाही सकिनेगरी कानूनी व्यवस्था गर्ने उनले उल्लेख गरे ।