close

अनलाइनमा प्राज्ञिक पुस्तक र अनुसन्धान लेख पढ्न चाहनुहुन्छ ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

जेठ १७, २०८० ८:३७

अनलाइनमा प्राज्ञिक पुस्तक र अनुसन्धान लेख पढ्न चाहनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं । अहिले गुगल, बिङ, याहु, बैडु लगायत थुप्रै सर्च इन्जिन रहेका छन् । प्राय: इन्टरनेटमा उपलब्ध जानकारी खोज्न सर्च इन्जिनको प्रयोग गर्ने गरिन्छ । विभिन्न उद्देश्यका लागि फरक फरक सर्च इन्जिन बनाउने गरिएको छ ।

आज हामी तपाईंलाई प्राज्ञिक किताब (एकेडेमिक बुक) र विभिन्न जर्नलमा प्रकाशित लेख खोज्न उपयोगी हुने सर्च इन्जिनबारे जानकारी दिदै छौं: 

गुगल स्कलर 

यो गुगलको एक सर्च इन्जिन हो । यसमा विशेष गरेर एकेडेमिया र चर्चित विश्वविद्यालयले प्रकाशन गरेको लेखहरू पढ्न सकिन्छ । यसमा विभिन्न डेटावेस जस्तै; किताब, कानूनी कागजात आदि सर्च गर्न सक्नुहुन्छ ।

यदि तपाईं आफैं अनुसन्धानात्मक लेखहरू लेख्नुहुन्छ भने यसमा अकाउन्ट क्रियट गरेर पोस्ट गर्न सक्नुहुन्छ । यदि तपाईंको कामलाई कसैले सन्दर्भ सूची बनायो भने त्यसको सूचना पाउनुहुन्छ ।

यसमा तपाईंले मिति, लेखक, शीर्षक जस्ता विभिन्न फिल्टर प्रयोग गरेर समेत लेख सर्च गर्न सक्नुहुन्छ । यसमा सबै किसिमको लेखको सार नि:शुल्क हेर्न सकिन्छ ।

वर्ल्ड क्याट

यो संसारको सबैभन्दा ठूलो अनलाइन क्याटलग हो । यसमा हजारौं लाइब्रेरीहरूको सङ्कलन राखिएको छ । ती सङ्कलन तपाईंले एक क्लिकमा खोज्न सक्नुहुन्छ ।

यसमा तपाईंले किताब, पत्रपत्रिका, गीत, म्याप, चलचित्र लगायत थुप्रै कुरा भेट्न सक्नुहुन्छ । यसमा ओपन सोर्समा आधारित ई-पुस्तकालय, आलेख तथा डाउनलोड गर्न मिल्ने अडियो बुक र फोटो उपलब्ध गराइएको छ । 

 

एरिक 

एजुकेसन रिसोर्सेज एन्ड इन्फरमेसन सेन्टर (एरिक) एक अनलाइन डेटावेस हो । यसमा विभिन्न जर्नलमा प्रकाशित भएका अनुसन्धानात्मक आलेख, भाषण, विचार, सर्भेजस्ता कुराको सङ्कलन रहेको छ । यो अमेरिकाको शिक्षा विभागद्वारा सञ्चालित भएकाले यसमा  कुनै पनि शुल्क लाग्दैन ।

त्यस्तै यहाँ भएको कुरामा पहुँच पाउन कुनै सदस्यता लिनु पनि पर्दैन । यसमा भएका सामग्रीहरूलाई विभिन्न फिल्टरको प्रयोगबाट छान्न सकिन्छ । त्यस्तै यसमा सन्दर्भ सूची बनाउनका लागि पनि फिचर रहेको छ । 

रिसर्च गेट 

विविध विषयमा अध्ययन अनुसन्धानको गर्नेहरूलाई जोड्ने यो एक नेटवर्क हो । यसमा लेखकले उनीहरूले तयार पारेको लेख प्रकाशन (पोष्ट) गर्छन्, त्यहीँ अन्य लेखकसँग जोडिन्छन् र विभिन्न सहकार्य गरेर अनुसन्धानको कार्यमा जोडिन्छन् ।

यसले उनीहरूलाई अनुसन्धान गर्नेहरूको एउटा कम्युनिटी बनाउन मद्दत गरेको छ । यसले गर्दा कुनै पनि क्षेत्रमा प्रकाशन भएको नयाँ अनुसन्धान उनीहरूले सजिलै थाहा पाउँछन् ।

यदि तपाईंले यसमा अकाउन्ट खोल्नु भएको छ भने अरूको प्रकाशनमा टिप्पणी गर्न, समीक्षा गर्न अथवा विषयसँग कुराकानी गर्न सक्नुहुन्छ । त्यस्तै तपाईंले पनि आफ्नो अनुसन्धानात्मक लेख प्रकाशन गर्न सक्नुहुन्छ । जहाँ अरूले टिप्पणी, समीक्षा गर्न सक्नेछन् ।

त्यस्तै यो प्लेटफर्ममा तपाईंले आफ्नो लेख कतिले हेरे, कतिले सन्दर्भ सामग्री बनाए जस्ता एनालाइटिकल रिपोर्ट हेर्न सक्नुहुन्छ । 

गुगल बुक्स 

तपाईंले यहाँबाट कुनै पनि किताब खोज्न सक्नुहुन्छ । यस प्लेटफर्मबाट ती किताब पढ्न, डाउनलोड गर्न अथवा समीक्षा लेख्न सक्नुहुन्छ । तपाईंले यहाँ ती किताबहरू सङ्कलन गरेर आफ्नो निजी पुस्तकालय पनि बनाउन सक्नुहुन्छ ।

त्यस्तै तपाईंले अनलाइनमा किन्न वा विभिन्न ई-लाइब्रेरीबाट समेत ती किताब सापटीमा लिन सक्नुहुन्छ । 

साइन्स डिरेक्ट

 

यसमा समीक्षा गरिएका जर्नल, लेख, किताबका विभिन्न पाठहरू हेर्न/पढ्न पाइन्छ । त्यस्तै धेरै प्रकारका ओपेन एसेस मटेरियल पनि पाइन्छन् ।

तिनलाई तपाईंले लेखकको नाम, जर्नल/किताबको शीर्षक, जर्नलको अङ्क आदिका आधारमा खोज्न सक्नुहुन्छ । त्यस्तै तपाईंले यहाँबाट केही किताब, पाठ, लेख आदि पीडीएफ फर्म्याटमा डाउनलोड गर्न सक्नुहुन्छ । 

एकेडेमिया 

यसमा तपाईंले थुप्रै अनुसन्धानात्मक लेख तथा किताब नि:शुल्क डाउनलोड गर्न सक्नुहुन्छ । यस प्लेटफर्मबाट यसरी डाउनलोड गर्न भने तपाईंले यहाँ अकाउन्ट खोलेको हुनुपर्छ । तर ती पढ्नका लागि मात्र भने अकाउन्ट खोल्नु पर्दैन ।

त्यस्तै तपाईंले यहाँ ‘माई लाइब्रेरी’ सेक्सनभित्र विभिन्न लेख तथा किताब सङ्कलन गर्न सक्नुहुन्छ । तर तपाईंले आफ्नो लेखहरू यस सेक्सनमा राख्न सक्नुहुन्छ । यसमा तपाईंले प्रिमियम संस्करणमा एकैपटक धेरै लेख डाउनलोड गर्न सक्नुहुन्छ ।

साथै आफ्नै लेखहरू पनि प्रकाशन गर्न सक्नुहुन्छ । यसको प्रिमियम संस्करणमा तपाईंको लेख कतिले हेरे, अनुसन्धानका लागि अनुदान र फेलोशिपको अवसरहरू हेर्न लगायत थुप्रै फिचर छन् । 

रेफसीक

यो एक एकेडेमिकल्ली केन्द्रित सर्च इन्जिन हो । यो हेर्नमा गुगल स्कलर जस्तै देखिन्छ । तर कम फिचर दिइएको छ । यसबाट विभिन्न प्रकारका कागजात, किताब, इन्साइक्लोपिडिया, जर्नल, अखबार आदि सर्च गर्न सकिन्छ ।

त्यस्तै यहाँ तपाईंले विभिन्न क्षेत्रलाई छनोट गरेर तीसँग सम्बन्धित कुराहरू मात्र सर्च गर्न सक्नुहुन्छ । जस्तै: विज्ञान, कोडिङ, गणित, गेम,  भिजुअल आर्ट्स आदि ।  यो नि:शुल्क प्लेटफर्म हो । यहाँ भएका यी स्रोतहरूमा पहुँच पाउन अकाउन्ट बनाउन पर्दैन ।

 

बेस

बिलिफिल्ड युनिभर्सिटीले सञ्चालन गरिरहेको यो सर्च इन्जिन एकेडेमिक स्रोतहरू खोज्न राम्रो विकल्प हो । यसको पूरा नाम नै बिलिफिल्ड एकेडेमिक सर्च इन्जिन रहेको छ ।

यसमा आठ हजार लेखक/स्रोतकर्ताबाट करिब २४० करोड कागजपत्र उपलब्ध गराइएको छ । यसमा तपाईंले विभिन्न किवर्ड (सम्बन्धित शब्द) का आधारमा ती कागजपत्र खोज्न सक्नुहुन्छ । यहाँ उपलब्ध धेरै स्रोतहरू नि:शुल्क पाइन्छन् । 

विली अनलाइन लाइब्रेरी

यसमा ४० लाख बढी जर्नल आर्टिकल, १६०० बढी सम्पादित जर्नल, २० हजार बढी अनलाइन किताब, १३ डेटाबेस लगायत थुप्रै स्रोतहरू छन् ।

यसमा मानविकी, सूचना प्रविधि, कम्प्युटर विज्ञान, गणित, कानुन लगायत थुप्रै विषयका स्रोत पाइन्छन् । यसमा रहेका ती स्रोतहरू नि: शुल्क पाइन्छन् । तर ती सब्स्क्रिप्सनमा आधारित  हुने भएकाले ती स्रोतमा पूरा पहुँच भने तपाईंले नपाउन सक्नुहुन्छ । 

 

सिमान्टिक स्कलर

यो एक एआई सञ्चालित सर्च इन्जिन हो । यसमा विभिन्न सन्दर्भ सामग्री रहेका छन् । त्यस्तै यसमा लाखौं अनुसन्धानात्मक लेखहरू खोज्न सकिन्छ ।

यसमा एआई, मसिन लर्निङ जस्ता नवीनतम प्रविधि प्रयोग गरिएका कारण कतिपयले यसलाई गुगल स्कलरको विकल्प बताउने गरेका छन् । यद्यपि यो आलेखहरूमा मात्र केन्द्रित छ । यसमा तपाईंले विभिन्न फिल्टर राखेर सर्च गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: जेठ १७, २०८० ८:३७