काठमाडौं । प्रयोगकर्ताले लामो समयदेखि माग गरिरहेका फिचरहरू सहित एप्पलले आईओएस १७ र आईप्याडओएस १७ सार्वजनिक गरेको छ । सोमबारदेखि सुरु वर्ल्डवाइड डेभलपर्स कन्फ्रेन्स २०२३ मा कम्पनीले आईओएस १७ र आईप्याडओएस १७ सार्वजनिक गरेको हो ।
कम्पनीले यो अपडेटमा धेरै नयाँ फिचरहरू थप गरेको छ । केही फिचर भने एन्ड्रोइडमा पहिले देखि नै भएका फिचरहरू पनि आएका छन् । प्रयोगकर्ताले लामो समयदेखि पर्खिरहेको एउटा फिचर हो, थर्ड पार्टी स्टोरबाट पनि एप डाउनलोड गर्न मिल्ने फिचर ।
आईओएस १७ अपडेट उपलब्ध भएसँगै अब एप्पल प्रयोगकर्ताले पनि आफ्नो आईफोन र आईप्याडमा एन्ड्रोइड प्रयोगकर्ताले जस्तै कुनै वेबसाइट अथवा थर्ड पार्टी स्टोरबाट एपहरू डाउनलोड गर्न सक्नेछन् । युरोपियन युनियनको नियमलाई अनुसरण गर्दै कम्पनीले यो फिचर थप गरेको हो ।
साथै अब आईफोन प्रयोगकर्ताले आफ्नो हेल्थ एप मार्फत आफ्नो मुड (मानिसको मनस्थिति) ट्रयाक गर्न मिल्नेछ । योसँगै कम्पनीले कन्ट्रोल सेन्टरमा पनि परिवर्तन ल्याएको छ ।
आईओएस १७ आईफोन ८ देखि माथिका आईफोनमा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ । हाल कम्पनीले यसको बेटा भर्सन सार्वजनिक गरेको छ । चाँडै प्रयोगकर्ताले यो अपडेट प्रयोग गर्न पाउनेछन् ।
साथै अब आईफोनको भ्वाइस असिस्टेन्ट प्रयोग गर्नका लागि 'हे सिरि' नभइ 'सिरि' मात्र भने पनि पुग्ने भएको छ । यसमा अटोकरेक्ट फिचरलाई पनि थप सुधार गरिएको कम्पनीले जनाएको छ ।